कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

हलेसी पम्पिङ खानेपानी आयोजना : ठेक्का दिएको ७ वर्षमा पनि बनेन

भाद्र १८, २०८१
हलेसी पम्पिङ खानेपानी आयोजना : ठेक्का दिएको ७ वर्षमा पनि बनेन

Highlights

  • साढे २ वर्षमा सक्ने गरी २०७४ सालमा लागेकाे थियो पहिलो ठेक्का, समयमा काम सम्पन्न नभएपछि पटक-पटक म्याद थप

खोटाङ — सुक्खाग्रस्त हलेसी क्षेत्रमा निर्माणाधीन बृहत् पम्पिङ खानेपानी आयोजनाको काम अलपत्र परेको छ । विभिन्न निर्माण कम्पनीले ठेक्का लिएर करिब अन्तिम चरणमा आएर छाडेपछि अलपत्र परेको हो ।

हलेसी तुवाचुङ नगरपालिका प्रवक्ता कमल गिरीका अनुसार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाद्वारा हलेसी क्षेत्रका उपभोक्तालाई खानेपानी पुर्‍याउन हलेसी सुक्खा क्षेत्र पम्पिङ आयोजना सञ्चालन गरिएको थियो । करिब ९६ करोड ४५ लाख ४ हजार १ सय ३८ रुपैयाँको लागतमा सम्पन्न गर्ने गरी विभिन्न निर्माण कम्पनीले ठेक्का पारेका थिए । तर, उक्त काममा ढिलासुस्ती गर्नुका साथै अन्तिम चरणको काम अलपत्र पारेको गिरीले बताए ।

गिरीका अनुसार १ नम्बर प्याकेज अन्तर्गत हलेसी तुवाचुङ नगरपालिका–८ सल्लेको महादेवबेसीबाट हलेसी तुवाचुङ नगरपालिका–७ हलेसी काभ्रेडाँडा र २ नम्बर प्याकेज अन्तर्गत उक्त नगरपालिकाकै वडा नं. १ बाहुनीडाँडाको कदुवा लिलिमाबेसीबाट भुम्जुडाँडामा लिफ्टिङ प्रविधिबाट पानी तान्न दिवा–महादेव–खिम्ती निर्माण कम्पनीले २०७६ मङ्सिरमा सक्ने गरी २०७४ असार २१ गते सम्झौता गरेको थियो । तर, निर्माण व्यवसायीले पटक–पटक म्याद थप्दै काम नगरेको गिरीको भनाइ छ । ‘चार पटक म्याद थप गरिसकेको छ,’ उनले भने, ‘निर्माण व्यवसायीको हेलचेक्र्याइँका कारण जनताले दुःख पाए ।’

उक्त काम करिब ३१ करोड ७५ लाख ९६ हजार ५६ रुपैयाँको लागतमा सक्ने गरी ठेक्का लिएको थियो । उक्त योजनाको पछिल्लो पटक भेरिएसन गर्दा करिब ३३ करोड लागत पुग्ने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका आयोजना प्रमुख इन्जिनियर विपुलकुमार लाल दासले बताए । निर्माण कम्पनीका कारण स्थानीयले दुःख पाउनुका साथै राज्यले समेत आर्थिक भार ब्यहोर्नु परेको नगर प्रवक्ता गिरीले बताए । ‘ठेकेदारका कारण जनताले त दुःख पाए–पाए, राज्यले समेत आर्थिक भार ब्यहोर्नु परेको छ,’ गिरीले भने, ‘यसमा खानेपानी कार्यालयको समेत संलग्नता छ ।’महादेवबेसीबाट काभ्रेडाँडामा निकालिएको पानी नगरका विभिन्न वडामा वितरण गर्न ल्याइएको पाइप अलपत्र अवस्थामा ।

यसमध्ये १ नम्बर प्याकेजको मेनलाइनको काम अन्तर्गत पानी तान्ने ६ वटा पम्पमध्ये २ वटा मात्र जडान गरिएको र अन्य ४ वटा जडान गर्न बाँकी रहेको दासले बताए । २ नम्बर प्याकेजको मेनलाइनको काम भने सकिएको तर शाखा लाइनको काम बाँकी रहेको दासले सुनाए । उक्त योजना अन्तर्गत करिब एक सय घरधुरीलाई पानी वितरण गरिसकेको र अन्य करिब तीन सय घरधुरीलाई पानी वितरण गर्न बाँकी छ । दुवै कामको ८५ प्रतिशत आर्थिक प्रगति देखिएको दासले बताए । शाखा लाइनको कामको ठेक्का लिएका निर्माण कम्पनीको काम पनि अलपत्र छ ।

लिलिमाबेसीबाट भुम्जुडाँडासम्म निकालिएको पानी वडा नम्बर १, २, ३ का २४ सय ९ घरधुरीलाई वितरणको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको थियो । तर उक्त निर्माण कम्पनीले कदुवा क्षेत्रमा पानी वितरण गर्न नसकेको गिरीले बताए । ३७ करोड ९३ लाख रुपैयाँको लागतमा २०७७ साउन १ गते सक्ने गरी २०७५ साउन १ गते सम्झौता गरेको थियो । उक्त निर्माण कम्पनीले चार लाख लिटर क्षमताको तीन वटा ट्यांकी, तीन लाख लिटरको एउटा, एक लाख लिटरका पाँच वटा ट्यांकी र चार किलोमिटर पाइप लाइन विस्तार गर्ने ठेक्का लिएको हो ।

त्यस्तै महादेवबेसीबाट काभ्रेडाँडामा निकालिएको पानी नगरका वडा नं. ५, ६ र ७ का २४ सय ८८ घरधुरीलाई वितरण गर्ने ठेक्का रमण–सगरमाथाले लिएको थियो । करिब २६ करोड ७५ लाख ५१ हजार ९ रुपैयाँको लागतमा २०७७ साउन १ गते सक्ने गरी २०७५ साउन १ गते सम्झौता गरेको थियो । उक्त आयोजना अन्तर्गत ७३ वटा ट्यांकी, डिसी/डिपिटी ७३ वटा निर्माण गर्नु पर्ने थियो । तर, उक्त निर्माण कम्पनीले काम छाडेकाले अलपत्र परेको गिरीको भनाइ छ ।

मेनलाइनमा पानी नै नआएकाले वितरण गर्न नसकिएको इन्जिनियर दासले सुनाए । मेन लाइनको ठेक्का लिने दिवा–महादेव–खिम्ती निर्माण कम्पनी सम्बद्ध रवि सिंहले भने भेरियसन भएको ३–४ महिनाभित्र सकिने बताएका छन् । ‘कामको भेरियसन भइसकेको छैन,’ सिंहले भने, ‘भेरियसन भएको ३–४ महिनाभित्रै काम सकिन्छ ।’

प्रकाशित : भाद्र १८, २०८१ २०:१२
x
×