कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

बिरामी बढेपछि संखुवासभा अस्पतालमा प्यासेज र भुइँमै राखेर उपचार 

भाद्र १७, २०८१
बिरामी बढेपछि संखुवासभा अस्पतालमा प्यासेज र भुइँमै राखेर उपचार 

संखुवासभा — जिल्ला अस्पताल संखुवासभामा भवनको प्यासेज र भुइँमा बिरामीको उपचार हुने गरेको छ । मौसम परिवर्तनसँगै जिल्ला अस्पताल संखुवासभामा डेंगी, स्क्रबटाइफस, झाडापखलालगायतका बिरामीको चाप बढेको छ ।

बिरामीको चाप बढेपछि भर्ना भएर बस्नु पर्ने बिरामीलाई बेड अभाव भएको हो । बेड अभाव भएपछि बिरामीले कष्टबीच उपचार सेवा लिइरहेका छन् । चैनपुर नगरपालिका-११ का भक्तबहादुर दाहालले ज्वरो आउने र झाडापखला लागेपछि ९ वर्षीय नाति रोमन दाहाललाई उपचारका लागि जिल्ला अस्पताल संखुवासभा ल्याए ।

अस्पतालले चिकित्सकको निगरानीमा उपचार गर्नु पर्ने सल्लाह दिएपछि रोमनलाई अस्पताल भर्ना गरियो । तर, एकै प्रकृतिका धेरै बिरामी भएपछि बेड अभावमा उनलाई बेन्च जोडेर उपचार गरिएको उनका हजुरबुवा भक्तबहादुर दाहालले बताए । जिल्ला अस्पताल आउने अधिकांश बिरामीले बेड अभावमा प्यासेजमा बेन्च जोडेर उपचार गर्नु पर्छ ।

जिल्ला अस्पताल संखुवासभा ५० बेड क्षमताको अस्पताल हो । संखुवासभा र छिमेकी जिल्ला भोजपुरका उत्तरी क्षेत्रका बिरामीले यो अस्पतालबाट सेवा लिन्छन् । यहाँ दैनिक ओपीडीमा ३ सय र इमरजेन्सीमा ६० बढी दैनिक बिरामी आउने गर्छन् । त्यसमध्ये अधिकांश बिरामीलाई भर्ना गरेर उपचार गर्नु पर्ने हुन्छ । सुविधासम्पन्न भवन निर्माण समयमै नसकिँदा भर्ना भएर उपचार गर्नुपर्ने बिरामीलाई प्यासेजमा र बेन्चमा राखेर उपचार हुने गरेको अस्पतालका प्रमुख डा प्रणाम जयरुले बताए ।

'बिरामीको चाप बढेपछि राख्ने स्थानको समेत अभावमा बेन्चको बेड बनाएर अस्पतालले प्यासेजमा उपचार गर्न थालेक हौ,' उनले भने, 'भदौ लागेपछि हामी हरेक दिन ओपीडीमा ३ सय बढी र इमरजेन्सीमा ६० बढी बिरामीको उपचार गरिरहेका छौं । मौसम परिवर्तनसँगै बिरामीको चाप अत्यधिक छ । बेन्च जोडेर बिरामीको उपचार गर्नुको विकल्प नै छैन ।'

अस्पतालले प्यासेजमा उपचारका लागि १५ वटा भन्दा बढी अस्थायी बेड तयार पारेको उनले बताए । यसले बिरामी र कुरुवालाई भने निकै सास्ती भएको छ । निर्माणाधीन भवन ढिलासुस्ती हुँदा अस्पतालले घर भाडामा लिएर थप सेवा दिइरहेको छ । समयमै भवन निर्माण नसकिँदा फिजियोथेरापी, खोपलगायत सेवाका लागि घर भाडामा लिइएको उनले बताए ।

प्रकाशित : भाद्र १७, २०८१ १६:१८
x
×