कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

त्रासमा फालेलुङ : प्राङ्वुङका नागरिक भन्छन्, 'बल्झियो द्वन्द्वको घाउ'

भाद्र १५, २०८१
त्रासमा फालेलुङ : प्राङ्वुङका नागरिक भन्छन्, 'बल्झियो द्वन्द्वको घाउ'

पाँचथर — फालेलुङ गाउँपालिका-५ प्राङवुङको डाँडागाउँ टोलका ९ वर्षीय दिप्सन राई बिहीबार रातभरि निदाउन सकेनन् । शुक्रबार अपरान्हसम्म उनी बेला-बेला झस्किरहे । उनी बेला-बेला चिच्याउने समेत गरिरहेका छन् । ‘धेरै डर लागेको छ, बेला-बेला कानमा पड्किएको आवाज सुनेजस्तो लाग्छ,’ उनले भने ।

स्थानीय आइतराज केरुङ (आइबी)को घरमा दिप्सन राईसँग खेलिरहेका उनका साथीहरु ११ वर्षीय दिप्सन साँवा, उनकी अढाइ वर्षीया बहिनी प्रिन्सा साँवा र ९ वर्षीय पवन राई घाइते भए ।

गम्भीर घाइते भएका दिप्सन साँवा र उनकी बहिनी प्रिन्सा साँवाको उपचार गर्न लैजाॅदा लैजाॅदै बिहीबार राति ज्यान गयो । घाइते मध्येका पवनलाई शुक्रबार पाँचथर अस्पतालबाट कोशी अञ्चल अस्पताल बिराटनगर रेफर गरिएको छ भने दिप्सनलाई प्राङवुङबाट शुक्रबार फिदिम लगिएको छ ।

दुवै जनाका शरीरमा बमको छर्रा लागेको छ । विष्फोट भएको घरको आँगन नजिकै विष्फोट नभएको थप एउटा इम्प्रोभाइज्ड एक्स्प्लोेसिभ डिभाइस (आइइडी) समेत भेटिएको छ। यस्ता डिभाइस प्रेसर कुकर बम र सकेट बम बनाउन प्रयोग हुने सेनाले जनाएको छ ।

जसलाई सुरक्षा निकायले ‘होम मेड’ भनेको छ । उक्त डिभाइस शुक्रबार विहान नेपाली सेनाको प्राविधिक टोलीले निष्क्रिय पारेको छ । बम पड्किएको र भेटिएको घर माओवादी कार्यकर्ता आइतराज केरुङको हो । जहाँ ज्ञानबहादुर राईको परिवार बसोबास गर्छ । केरुङ परिवार भने २०६८ सालदेखि सदरमुकाम फिदिममा बस्दै आएको छ ।

नेपाली सेनाका प्रवक्ता गौरबककुमार केसीले उक्त घटनास्थलको प्रकृति हेर्दा विष्फोटक पदार्थ माओवादी सशस्त्र द्वन्द्व्वका समयमा लुकाएर राखेको हुनसक्ने बताए । द्वन्द्वकालमा सो घर माओवादीको सेल्टरकै रुपमा प्रयोग भएको थियो । केरुङ स्वयम द्वन्द्वकालका सक्रिय माओवादी कार्यकर्ता भएकाले त्यही बेला बनाएको बम कतै लुकाएर राखिएको र केटाकेटीले भेटेर खेलाउँदा विष्फोट भएको हुनसक्ने स्थानीयको अनुमान छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमूख (डीएसपी) हेमन्त भण्डारीले पनि अघिल्लो दिन विष्फोट भएको बस्तुमा खिया लागेको भेटिएको र शुक्रबार डिस्पोज गरिएको सामग्री पनि निकै नै पुरानो देखिएकाले द्वन्द्वकालमै बनाएर लुकाएको हुनसक्ने बताए। यद्यपि उक्त सामग्री कति पुरानो हो भन्ने थाहा पाउन त्यसको अवशेष फरेन्सिक प्रयोगशालामा परीक्षणका लागि पठाउनु पर्ने प्रहरीले जनाएको छ ।

द्वन्द्वकालमा प्राङवुङ

फालेलुङ-५ अर्थात् साविक प्राङवुङ गाविस माओवादी सशस्त्र द्वन्द्वको अति प्रभावित क्षेत्रमा पर्थ्यो । द्वन्द्वकालमा यो राज्य र विद्रोही दुवै पक्षको निशानामा पर्‍यो । यहाँका १७ जनाले द्वन्द्वकै क्रममा ज्यान गुमाएका थिए। विद्रोही पक्षका मात्रै १६ जना रहेको तथ्यांक हरुमा उल्लेख छ ।

बिहीबारको घटनाले द्वन्द्वकालीन ती दिनहरुलाई बल्झाइदिएको वडाध्यक्ष भरतकुमार खपाङ्गीले बताए । ‘राज्य र विद्रोही पक्षबाट एक पछि गर्दै अर्का छिमेकीको ज्यान लिएको घटना बिर्सनै लागेका थियौं, पछिल्लो घटनाले पुनः स्मरण गराइदियो ।’ खपाङ्गीले भने ।

विष्फोटको घटना पछि सिंगो प्राङवुङका नागरिक त्रासमा छन् । स्थानीय कल्पना लिम्बूले बिहानसम्म आँखा अगाडि खेलिरहेका नानीहरु साँझ अस्ताए भन्ने सुन्दा नरमाइलो लागेको बताइन् । मुलुक शान्ति प्रक्रियामा गएको दुई दशक पुग्न लागिसक्यो, बेवारिसे बम पड्किन छोड्दैनन्, त्यो बेला धेरै विष्फोटक पदार्थ लुकाइयो भन्ने सुनेका थियौं, अझै के–के हुने हो ?’ उनले भनिन् ।

घरेलु ग्रिनेट विष्फोट हुँदा एका घरका दुई जना बालबालिकाको ज्यान गएपछि प्राङवुङ गाउॅ नै शोकमा डुबेको छ । विष्फोटमा ज्यान गुमाएका दिप्पसन साँवा श्री कालिका मावि कक्षा ६ का विद्यार्थी हुन् । उनी अघिल्लो दिन विद्यालयबाट त्रैमासिक परीक्षा लेखेर घर फर्केका थिए । 'लगत्तै विष्फोटमा घाइते भएको खबर आयो, साँझ सबैलाई छोडेर गएछन्,’ उनका सहपाठी भूवन राईले भने ।

दिप्सनको निधनमा शोक मनाउन विद्यालयले शुक्रबार बिदा दिएको प्रधानाध्यापक किशोर गौतमले बताए । विष्फोटको घटनापछि डाँडागाउँका आसपासका घर परिवारमा रुवाबासी चलिरहेको छ । ‘बारीमा काम गरिरहेका बखत् मुस्लोसहित ठुलो आवाजमा बम पड्केको सुनेपछि दौडदै आयौँ । छोरा छोरी विक्षिप्त अवस्थामा भेटिए,’ घाइते पवनका पिता ज्ञानबहादुर राईले भने ।

विष्फोटमा ज्यान गुमाएका बालबालिकाका पिता दिलिप वैदेशिक रोजगारीका क्रममा छन् । छोरा छोरी गुमाएपछि आमा बेहोस् भएकी छन् । बालबालिकाको शव पोष्टमार्टमका लागि पाँचथर अस्पतालको शव गृहमा राखिएको छ । विदेशबाट पिता आएपछि उनीहरुको शव आफन्तलाई बुझाउने प्रहरीले जनाएको छ ।

स्थानीयले घटना गम्भीर छानविन गरि बेवारिसे अवस्थामा बम छोड्नेलाई न्यायिक कारबाहीसँगै मृतकका अविभावकलाई क्षतिपूर्ति र घाइतेको उपचार गर्ने जिम्मेवारी राज्यले लिनुपर्ने माग गरेका छन् ।

यसैबीच नेपाली सेनाको रणसेर गणले कालिका माध्यामिक विद्यालय प्राङवुङमा शनिबार वेवारिसे बम र विष्फोटक पदार्थबारे जानकारी गराउन सचेतना कक्षा सञ्चालन गरेको छ । कक्षामा कुनै पनि स्थानमा नौलो र शंकास्पद वस्तु भेटिए नछुन नखेलाउन र तत्काल सुरक्षा निकायलाई खवर गर्न आग्रह गरिएको थियो ।

प्रकाशित : भाद्र १५, २०८१ १३:५०
x
×