कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

प्रहरी नै लागू पदार्थको अम्मली !

भाद्र ८, २०८१
प्रहरी नै लागू पदार्थको अम्मली !

Highlights

  • प्रहरी आफैं लागू पदार्थको अम्मलतिर लाग्नु निकै गम्भीर कुरा हो : चन्द्रकुवेर खापुङ, कोशी प्रदेश प्रहरी प्रमुख

विराटनगर — मोरङमा कार्यरत एक जना प्रहरी दुई साताअघि लागू पदार्थको नशामा लट्ठ परेको अवस्थामा सहकर्मीले फेला पारे । ती प्रहरी सीमापारिको भारतीय सहर जोगबनीमा ‘डोज’ लिएर आएका थिए । उनलाई हाल निलम्बन गरेर लागू पदार्थअन्तर्गत मुद्दा चलाइएको छ ।

झापाको बिर्तामोडमा कार्यरत एक सिपाही गत वैशाख ७ मा एक ग्राम खैरो हिरोइनसहित पक्राउ परे । इलाका प्रहरी कार्यालय बिर्तामोडमा कार्यरत उनी पनि लागू पदार्थका नियमित सेवनकर्ता रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । प्रहरीले तत्काल निलम्बन गरी उनलाई कारबाही प्रक्रिया अघि बढाएको थियो । जिल्ला अदालत झापाले हालै उनलाई डेढ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । तर धरौटी तिर्न नसकेपछि उनी झापा कारागार चलान भएका छन् ।

२०८० कात्तिक १ मा मोरङका एक प्रहरी जवान त बर्खास्त मात्रै भएनन्, जिल्ला अदालत मोरङले १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना नै तोक्यो । जिल्ला प्रहरी कार्यालय मोरङमै कार्यरत अर्का प्रहरीको पनि जागिर गयो । सँगै अदालतले मंसिर २६ मा १ वर्ष कैद तोक्यो ।

कोशी प्रदेशका सीमावर्ती क्षेत्रमा कार्यरत कतिपय प्रहरी नै लागू पदार्थका अम्मली रहेको पाइएको छ । कतिपय भने लागू पदार्थ ओसारपसारमा समेत संलग्न रहेको खुलेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा २ जनालाई लागू पदार्थ प्रयोग गरेका आधारमा सेवाबाट निलम्बन गरी मुद्दा चलाइएको थियो । २०७९/०८० मा यो संख्या दोब्बर भयो । त्यो वर्ष इलाममा कार्यरत २ र मोरङमा कार्यरत २ प्रहरीलाई निलम्बन गरी मुद्दा चलाइएको थियो । त्यस्तै २०८०/०८१ म ७ जना प्रहरीविरुद्ध मुद्दा दायर गरियो । तीमध्ये २ जना जागिरबाटै बर्खास्त भएका छन् भने ५ जना निलम्बनमा परेका छन् । तीन प्रहरी कारागार चलानै भएका छन् । ‘प्रहरी भएर आफैं लागू पदार्थ सेवन गर्नु संगठनविरुद्धको अपराध हो,’ झापाका एक प्रहरी अधिकृतले भने, ‘प्रहरीलाई अपराध गर्ने छुट छैन ।’

कोशी प्रदेश प्रहरी कार्यालयका डीआईजी चन्द्रकुवेर खापुङले पछिल्लो समय कोशी प्रदेशमा लागू पदार्थ प्रयोग गर्ने प्रहरीको संख्या बढेको उल्लेख गर्दै त्यस्ता प्रहरीलाई संगठनको नियमअनुसार कारबाही गरिएको जनाए । ‘केहीलाई जेल पठाएका छौं, केहीलाई सुध्रिने मौका दिएका छौं,’ उनले भने, ‘प्रहरी आफैं लागू पदार्थको अम्मलतिर लाग्नु निकै गम्भीर कुरा हो ।’ खासगरी सीमावर्ती नाकाहरूमा कार्यरत प्रहरीहरू लागू पदार्थको कुलतमा फसेको प्रहरी अधिकारीहरूको भनाइ छ ।

प्रकाशित : भाद्र ८, २०८१ १६:३६
x
×