कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

एक सय २४ फरार प्रतिवादी पक्राउ

श्रावण ५, २०८१
एक सय २४ फरार प्रतिवादी पक्राउ

खोटाङ — जिल्ला प्रहरी कार्यालय खोटाङले आर्थिक वर्ष २०८०/८१ मा एक सय २४ फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला अदालत खोटाङले दोषी ठहराएका दुई सय १२ जनामध्ये एक सय २४ जना पक्राउ परेका हुन् ।

आर्थिक वर्ष २०८०/८१ सम्म जिल्ला अदालतले दोषी ठहर गरेका दुई सय १२ फरार प्रतिवादीमध्ये एक सय २४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

उनका अनुसार एक महिनादेखि १४ वर्षसम्म कैद भुक्तान गर्न बाँकी रहेकाहरूलाई पक्राउ गरिएको हो । यसमध्ये ३० वर्षदेखिको फरार रहेकालाईसम्म पक्राउ गरिएको खड्काको भनाई छ ।

‘आर्थिक वर्ष २०८०/२०८१ सम्म अदालतले दोषी ठहराएका दुई सय १२ जना फरार प्रतिवादीको सूची उपलब्ध गराइएको थियो ।’ खड्काले भने, ‘त्यसमध्ये एक सय २४ जना पक्राउ गरिएको छ ।’ पक्राउ परेकाहरूको कैद हिसाब गर्दा एक सय १३ वर्ष ११ महिना सात दिन हुन आउँछ । उनीहरूबाट आठ लाख २३ हजार चार सय ६१ जरिवाना तथा दुई लाख ३२ हजार सात सय ८६ क्षतिपूर्ति असुल भएको खड्काले बताए । आर्थिक वर्ष २०७८/७९ मा ३ जना र आर्थिक वर्ष २०७९/८० मा ६ जना फरार प्रतिवादी पक्राउ परेका थिए ।

आर्थिक वर्ष २०८०/८१ मा दुई सय १५ घटनाको उजुरी परेको प्रहरीले जनाएको छ । यसमध्ये ३७ यौनजन्य, १५ ठगी, बैंकिङ कसुरमा १७, सरकारी छाप किर्तेमा ७, विद्युतीय अपराधमा ३, लिखत कसुरमा ३, परीक्षा मर्यादा भङ्ग गरेको कसुरमा २, अवैध हातहतियार खरखजना ३, लागूऔषध २, चोरी ६, आपराधिक उपद्रव अन्तर्गत आगो लगाएको १, अभद्र व्यवहार २१, पशुपक्षीसम्वन्धी कसुरमा २, सवारी ज्यान २, कर्तव्य ज्यान ४, लापरबाही पुर्वक ज्यान मारेको १, ज्यान मार्ने उद्योग ८, भवितव्य ज्यान ३७, सवारीबाट भवितव्य २, झुण्डिएर आत्महत्या ३७, भिरबाट हाम्फालेर आत्महत्या १ र मानव कंका फुटकर ज्यानको १ मुद्दा दायर भएको प्रहरीले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा मुद्दाको संख्या बढेको डिएसपी खड्काको भनाइ छ । उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा एक सय ७८ वटा मात्र मुद्दा दायर भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा भने दुई सय ३८ मुद्दा दर्ता भएको प्रहरीको विवरणमा उल्लेख छ ।

प्रकाशित : श्रावण ५, २०८१ १८:००
×