कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

११ वर्षपछि फर्कियो भेटेरिनरी अस्पताल

असार २९, २०८१
११ वर्षपछि फर्कियो भेटेरिनरी अस्पताल

ताप्लेजुङ — संघीय संरचनापछि जिल्लाबाट हटाइएको पशु सेवा कार्यालय ११ वर्षपछि 'भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र'का रुपमा स्थापना भएको छ । कोशी प्रदेश सरकार अन्तर्गतको कार्यालय जिल्लामै स्थापना भएको हो । यसको कार्यक्षेत्र ताप्लेजुङ जिल्ला रहने छ ।

डाक्टरसहितको दरबन्दी कायम गरेर भेटेरिनरी डाक्टर रोशन दाहाल सहितको टिम पठाएपछि कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगरले कार्यालयको उद्घाटन गरेका छन् ।

रानाले विज्ञ केन्द्रमार्फत प्रवाह हुने सबै खाले सेवा ताप्लेजुङबासीले जिल्लाबाटै प्राप्त गर्ने बताए । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र पाँचथरबाट ताप्लेजुङमा सेवा प्रवाह हुँदै आएको थियो । केन्द्रले पशुचौपाया तथा पशुपन्छीसम्बन्धी सम्पूर्ण क्रियाकलाप गर्छ ।

जिल्लामै कार्यालय स्थापना गर्न भेटेरिनरी प्राविधिक तथा पशु पालकले माग गर्दै आएका थिए । उनीहरूले जिल्ला प्रशासन, स्थानीय तह मार्फत प्रदेश र केन्द्र सरकारलाई पनि दवाव दिएका थिए ।भौगोलिक हिसाबले कोशी प्रदेशकै सबैभन्दा ठुलो जिल्लामा पशु चिकित्सक नभएकोमा उनीहरूको असन्तुष्टि रहेको थियो । सबैभन्दा ठुलो मार लम्पीस्किनको बेला देखा परेको थियो ।

किसानले सहज उपचार पाउन सकेका थिएनन् । अहिले हरेकजसो पालिकाले पशु प्राविधिक राखेको छ । उनीहरूले गर्न नसकेको समाधानका लागि पाचथर पुग्नुपर्ने वा सम्पर्क गर्नुपर्ने बाध्यता रहेको थियो ।

प्रकाशित : असार २९, २०८१ १६:०२
x
×