कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

संखुवासभाका प्रत्येक घरधुरीलाई ५ लाख रुपैयाँको सेयर सुनिश्चित गर्नुपर्छ : मन्त्री खड्का

भाद्र २५, २०८१
संखुवासभाका प्रत्येक घरधुरीलाई ५ लाख रुपैयाँको सेयर सुनिश्चित गर्नुपर्छ : मन्त्री खड्का

संखुवासभा — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संखुवासभाका प्रत्येक घरधुरीलाई अपर अरुणमा पाँच लाख रुपैयाँको सेयरको सुनिश्चितता हुनु पर्ने बताएका छन् ।

उनले १ हजार ६३ मेगावाट क्षमताको अपर अरुण जलविद्युत निर्माणको काम चाँडो सुरु हुने पनि बताए । नेपाल प्रेस युनियन संखुवासभाले मंगलबार खाँदबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले स्रोत सुनिश्चित गरी अपर अरुणको काम चाँडो सुरु गरिने बताएका हुन् । गरिब र विपन्न परिवारका लागि सरकारले सस्तो ब्याजमा ऋणको व्यवस्था गरेर आयोजनामा स्थानीय सहभागिता गराउनका लागि पहल भइरहेको उनले बताए । उनले गरिब तथा विपन्न जनतालाई सेयर दिने उक्त मोडालिटी देशभर स्थापित गर्ने गरी लागिने स्पष्ट पारे ।

संखुवासभाबाट प्रतिनिधिसभामा निर्वाचित मन्त्री खड्काले समृद्ध संखुवासभा निर्माणका लागि यहाँभित्रका जलस्रोतको अधिकतम उपयोग गर्नुपर्ने उल्लेख गरे । 'संखुवासभाभित्र आयोजना निर्माणका क्रममा देखिएका समस्या समाधानमा सरकारले काम गरिरहेको छ,' उनले भने, 'कोशी करिडोरमा राष्ट्रिय प्रसारण लाइन निर्माणका क्रममा देखिएको ढिलाइलाई सम्बोधन गर्नका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग छलफल भइरहेको छ ।'

प्रकाशित : भाद्र २५, २०८१ ०९:५८
×