कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

विस्फोटमा घाइते बालकको छाला प्रत्यारोपण

भाद्र २५, २०८१
विस्फोटमा घाइते बालकको छाला प्रत्यारोपण

पाँचथर — पाँचथरको फालेलुङ ५ डाँडागाउँमा भदौ १३ गते भएको बम विस्फोटका कारण घाइते भएका २ जना बालकको छाला प्रत्यारोपण गरिएको छ ।काठमाडौं कीर्तिपुर अस्पतालका जलन शाखामा उपचार गराईरहेका उनीहरूको छाला प्रत्यारोपण गरी जनरल वार्डमा सारिएको अस्पताल प्रमुख डाक्टर शंकरमान राईले जानकारी दिए ।

‘दुवै बालकका हात खुट्टा र शरीरमा भएका गहिरो घाउमा छाला प्रत्यारोपण गरेर जनरल वार्डमा सारेका छौं अवस्था खतरामुक्त छ । सम्भवतः २ देखि ३ हप्तामा ठिक भएर घर फर्किन सक्छन,’ डाक्टर राईले भने ।

विस्फोटमा घाइते भएका ११ वर्षीय पवन र ७ वर्षीय दिप्सनलाई भदौ १९ गते कीर्तिपुर पुर्‍याइएको थियो । अवस्था केही जटिल देखिएका पवनलाई केही दिन आइसियुमा राखेर उपचार गरिएको थियो ।

यसैबीच उनको अवस्था खतरा मुक्त भएकासँगै भदौ २४ गते छाला प्रत्यारोपण गरी जनरल वार्डमा सारिएको अस्पतालले जनाएको छ ।

भदौ १३ गते फालेलुङ-५ प्राङवुङको डाँडागाउँ टोलका आइतराज केरुङको घरमा विस्फोट हुँदा ४ जना घाइते भएका थिए । जसमध्ये स्थानीय दिलिप र पूजा सावाँका छोराछोरी दिप्सन र प्रिन्साको सोही राति निधन भएको थियो । द्वन्दकालमा तत्कालीन विद्रोही माओवादीले लुकाइ राखेको बम विस्फोट हुँदा उनीहरू घाइते भएको स्थानीयको भनाइ छ । जस्लाई सेनाले इम्प्रो एक्स्प्लोसिभ डिभाइस भनेको छ ।

प्रकाशित : भाद्र २५, २०८१ १३:५१
×