सुनसरी — इटहरीमा जगन्नाथ रथयात्रा निकालिएको छ । शनिवार दिउँसो दोस्रो जगन्नाथ रथयात्रा निकालिएको हो । इस्कोन इटहरीले भगवान् जगन्नाथ, बलदेव र सुभद्रालाई रथारोहण गराइ भजनकिर्तन विभिन्न झाँकी सहितको रथले इटहरी नगरको परिक्रमा गरेको थियो ।
यसअघि गत वर्ष पहिलो जगन्नाथ रथयात्रा निकालिएको थियो । यसवर्ष पनि रथयात्रालाई निरन्तरता दिइएको इस्कोन इटहरीले जनाएको छ ।
रथयात्रा इस्कोन इटहरीको कार्यालय हटिया लाइनबाट सुरु भई मुख्य चौक हुँदै पश्चिम लाइन भएर त्यहाँबाट घुमेर धरान लाइन गोरखा डिपार्टमेन्ट स्टोर हुँदै मुख्य चौकबाट पूर्व लाइन र मिलन चौकसम्म पुगेको थियो । मिलन चोकबाट हटिया लाइन हुँदै राधाकृष्ण शिव मन्दिर परिसरमा पुगेर समापन गरिएको थियो ।
रथयात्राका लागि देशका विभिन्न स्थानहरूबाट भक्तजनहरू इटहरी आएर सहभागिता जनाएको इस्कोन इटहरीले जनाएको छ । भारतको उडिसामा आयोजना हुने बृहत् जगन्नाथ रथयात्रा भएको लगत्तैको शनिवार पारेर इटहरीमा रथयात्रा गरिएको इस्कोन इटहरीले जानकारी दिएको छ ।
प्रकाशित : असार २९, २०८१ १८:३८