कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

यसरी गरियो बुद्धको पहिलो एटीआर विमानलाई बिदाइ [तस्बिरहरू]

सुरज कुँवर, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — नेपाली आकाशमा १६ वर्षदेखि उडिरहेको एउटा एटीआर–४२ विमान सोमबारदेखि सदाका लागि व्यावसायिक उडानबाट ‘बिदा’ भएको छ । मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक समारोहबीच सम्मानस्वरूप पानीको फोहोराले सलामी(वाटर स्यालुट) दिएर उक्त जहाजलाई बिदा गरिएको हो ।

बुद्ध एयरले १६ वर्षदेखि आन्तरिक गन्तव्यहरूमा उडाइरहेको ४७ सिट क्षमताको ‘नाइन नोभेम्बर–अल्फा इन्डिया नोभेम्बर’ रजिस्ट्रेसन भएको एटीआर विमानलाई बिदा गरेको हो । आन्तरिक उडानमा बुद्ध एयरले सन् २००८ मा भित्र्याएको यो उसको पहिलो एटीआर विमान थियो । बुद्ध नेपालमा सबैभन्दा धेरै एटीआर विमान उडान गर्ने वायुसेवा कम्पनी हो । योसँग ४७ सिटका एटीआर–४२ तीन र ७० सिट क्षमताका १५ वटा एटीआर विमान छन् । त्यति बेला ३० हजार हाराहारी साइकल विदेशमा उडिसकेको यो विमान खरिद गरेर नेपाल ल्याइएको बुद्ध एयरका एक वरिष्ठ प्राविधिक बताउँछन् । उडानमा एउटा टेकअफ र एउटा ल्यान्डिङलाई एक साइकल मानिन्छ । यो विमानको अझै १७ वटा साइकल बाँकी थियो ।

७० हजार उडान साइकल पूरा भएपछि टर्बोप्रप एटीआर विमानको ल्यान्डिङ गियर, इन्जिन, ककपिटमा जडान भएका यन्त्र उपकरणबाहेक फ्युसलाज (विमानको मुख्य शरीर वा ढाँचा) लाई व्यावसायिक उडानमा प्रयोग गर्न नपाइने एटीआरको नियम छ । बुद्धले यो विमानबाट सोमबार मात्र १४ वटा आन्तरिक उडान गरेको थियो । मंगलबार बिहान पनि यो जहाजले पर्वतीय उडान भरेको थियो । त्यही नै यसको अन्तिम उडानसमेत बन्यो ।

अन्तिम उडानमा एटीआरको सिंगापुरस्थित क्षेत्रीय कार्यालयबाट आएका दुई जना प्रतिनिधि, बुद्ध एयरलाई ऋण सहायतामा सघाउने केही बैंकरसहित १६/१७ जना यात्रु राखेर माउन्टेन फ्लाइट भएको थियो । 'वाटर स्यालुट' जहाजलाई बुद्ध एयरको ह्यांगरमा लगिएको छ । अब यो विमानको दर्ता खारेजी हुनेछ । यसमा प्रयोग भएका काम लाग्ने उपकरण झिकेर खोक्रो ढाँचा नागरिक उड्डयन प्राधिकरणलाई अभ्यासका लागि दिइने बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले बताए ।


प्रकाशित : भाद्र २५, २०८१ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्