कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०७

शरदयाम पर्खिरहेका गाउँघर [तस्बिरहरु]

वसन्तप्रताप सिंह

बझाङ — असोज महिना लाग्न अब एक हप्ता बाँकी छ । मनसुनी वर्षा कम हुन थालेपछि गाउँघरको दृश्य मनमोहक देखिन थालेको छ । बझाङमा भदौ पहिलो हप्तापछि मनसुनी वर्षा क्रमश: घट्दै गएको छ । धमिलिएका खोला, नालाहरु संग्लिदै गएका छन् । तर ठूला नदीको पानी भने अझै धमिलै देखिन्छ । दोभान र त्रिवेणीमा देखिने नदीका फरक-फरक रङ आकर्षक लाग्दछ ।

लहलह बयेली खेलिरहेका हरियाली धान खेतमा पहेँलो रङ भरिँदै छ । बर्खे फलहरु लटरम्म फुलेका छन् । सयपत्री र मखमली फुल्ने सुरसार छ । मनसुनी बाढी र पहिरोले अवरुद्ध बनेका ग्रामीण मार्गहरु पुन: संचालनमा आउन थालेका छन् । क्षितिजहरु खुलेका छन् ।

निलो आकाशमा कहींकतै देखिने बादलका थुम्काहरु र भर्खरै स्नान गरेजस्तो देखिने हरियो धर्तीका दृश्यहरु आकर्षक छन् । भदौरे झरीको सट्टा गर्मीको अनुभूत गर्न सकिन्छ । त्यसैले होला, गाईवस्तुहरु पनि ठाउँ-ठाउँमा आहाल बसेका देखिन्छन् । वर्षात्‌को समाप्ति र शरदको आगमन पर्खिरहेका गाउँघर निकै सुन्दर र रमणीय देखिएका छन् । मानिसको चहलपहल भने निकै कम देखिन्छ ।

प्रकाशित : भाद्र २३, २०८१ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्