कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

पर्यटकको रोजाइमा ‘ढुङ्गे बगैंचा’ [तस्बिरहरू]

डम्बरसिं राई

खोटाङ — हेर्दा कुनै कालीगढले बनाएको कलै कलाको पुञ्जझैं लाग्छ । तर यो कुनै कालीगढले बनाएको कलाकृति होइन । यो त प्रकृतिको अनुपम उपहार हो । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको ककनीडाँडास्थित करिब १ सय ६० रोपनी क्षेत्रफलमा ढुङ्गै–ढुङ्गाको बगैंचा छ । यसलाई स्थानीयले ‘ढुङ्गे बगैंचा’ अर्थात किरात चाम्लिङ भाषामा ‘बुङालुङ’ भन्छन् । यसबाहेक अहिले ‘रक गार्डेन’ ले समेत परिचित छ यो ठाउँ ।

प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीबाट करिब ३० मिनेटको उकालो पैदल छिचोलेपछि यो ठाउँ पुगिन्छ । बालबालिका, युवायुवतीदेखि पाकासम्मले यहाँ पुगेर मनोरञ्जन लिने गरेका छन् । हलेसी आउने आन्तरिक तथा बाह्य तीर्थालु/पर्यटकका लागि यो ठाउँ रोजाइमा पर्ने गरेको छ ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हलेसी तुवाचुङ नगरपालिकाले विभिन्न संरचना निर्माण गरिरहेको छ । प्राकृतिक संरचनालाई नबिगारी त्यसलाई जस्ताको तस्तै राखेर कलात्मक रूप दिँदै थप अन्य संरचना निर्माण भइरहेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले बताए ।

‘ढुङ्गाकै गेट निर्माण, फलैंचा निर्माण, सिडी निर्माण, घेराबारालगायतका काम भएको छ,’ गिरीले भने,‘प्राकृतिक रूपमै सजिसजाउ भएका ढुङ्गाहरूलाई थप सजाउने, ढुङ्गाका बीच–बीचमा सुहाउँदो फूल रोप्ने, हलेसीको किंवदन्तीमा आधारित मूर्ति बनाउने, खानेपानी, विद्युत्, विश्रामस्थल, क्यान्टिनलगायतका संरचना निर्माणको काम बाँकी छन् ।’

पर्यटन प्रवर्द्धनका लागि स्थानीय, प्रदेश र संघीय सरकारको करिब तीन करोड खर्च भइसकेको छ । आर्थिक वर्ष २०७७/७८ मा डीपीआर बनाएर काम थालनी गरिएको गिरीले बताए । गिरीका अुनसार उक्त बृहत् योजनाका लागि पाँच करोड खर्च हुने डीपीआरमा उल्लेख छ । सर्वोच्च शिखर सगरमाथालगायतका हिमश्रृङ्खलाहरू अवलोकन सकिने भएकाले विश्वभरबाट आउने पर्यटकका लागि यो ठाउँ उपयोगी हुने सकेत गिरीले बताए ।


प्रकाशित : भाद्र १६, २०८१ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्