कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भक्तपुरमा मनाइयो पञ्चदान पर्व [तस्बिरहरू]

तस्बिर : सफलप्रकाश श्रेष्ठ

भक्तपुर — भक्तपुरमा शनिबार पञ्चदान पर्व मनाइएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन बौद्ध दर्शनमा पवित्र मानिएको दानको महत्व दर्साउने पञ्चदान पर्व बौद्धमार्गीहरूले भव्य रूपमा मनाएका हुन् ।

नेपाल सम्वत् ७७५ मा मल्ल राजा नरेश मल्लको शासनकालमा जयदेव बज्राचार्यले यो पर्व प्रचलनमा ल्याएको मान्यता छ । शनिबार पाँच दीपंकरहरूलाई भक्तपुर नपा–९ सूर्यमढीस्थित आदिपद्म महाविहारमा भेला गराएर त्यहाँ विशेष पूजा सम्पन्न गरेपछि पाँच दीपंकर बुद्धलाई बाजागाजासहित भक्तपुर नगरका १० वटै वडाका टोल–टोलमा परिक्रमा गराइएको छ । काठमाडौँस्थित प्रशन्नशील महाविहार, गोल्मढीको झौरबही, साकोठाको चतुब्र्रम्ह महाविहार, इताछेंस्थित थथुबही अर्थात् जयकीर्ति विहार र भार्वाचोको कुथुबही अर्थात् बौद्ध समकृत विहारमा रहेका पाँच दीपंकरहरूलाई भक्तपुर नगर परिक्रमा गराइएको छ ।

यस पर्वमा बौद्धमार्गी नेवारहरूले आफ्नो वरपर रहेका विभिन्न विहार, बही, चोक र घरमा दानशाला बनाइ अन्न, फलफूल र दक्षिणा दान दिएका छन् । बुद्ध धर्मका अनुयायी बज्राचार्य, बुद्धाचार्य, शाक्यलगायत भने उक्त टोल टोल पुगेर अन्न, फलफूल र दक्षिणा दान लिन दिनभर भिक्षाटनमा सहभागी भएका छन् । काठमाडौँ उपत्यका र अन्यत्र मनाइने पञ्चदान पर्वभन्दा भक्तपुरको पञ्चदान पर्व फरक र विशेष किसिमको रहेको स्थानीय देवचन्द्र बज्राचार्यले बताए । भक्तपुरमा ऐतिहासिक तथा पुरातात्विक महत्व रहेको पाँचवटा महाविहारमा विराजमान दीपंकर बुद्धहरूलाई नगर परिक्रमा गराइएर पञ्चदान पर्व मनाइने उनले बताए ।

दीपंकर बुद्धसँगै बौद्धमार्गीहरू बौद्ध परम्पराअनुसार पिण्डपात्र (गुलुपा) हातमा लिएर भिक्षाटनमा सहभागी हुने बज्रचार्यले बताए। भक्तपुर नगरको पूर्व आदिपद्म महाविहारबाट सुरु भएको पूजा नगरको पश्चिम थथुबहीमा पुगेर सम्पन्न गरिने परम्परा रहेको छ ।

प्रकाशित : भाद्र १५, २०८१ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्