कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

मिर्सादेखि माछापुच्छ्रे : हिमाल छुने नजिकको गन्तव्य [तस्बिरहरू]

तस्बिर : दीपक परियार

पोखरा — हिमाललाई परबाट हेर्न जति आनन्द आउँछ, त्योभन्दा बढी रोमाञ्चक हुन्छ हिमालकै फेदीमा पुग्नु । ‘कुमारी हिमाल’को उपमा पाएको माछापुच्छ्रेको फेदीमै पुग्ने रहर कसलाई नहोला ? पदयात्रा र साहसिक पर्यटनमा रुची हुनेले एक साता समय छुट्याउने हो भने एक सातामै माछापुच्छ्रेलाई छोएर फर्किन सकिन्छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत कास्कीको संरक्षण क्षेत्र व्यवस्थापन समिति, माछापुच्छ्रे गाउँपालिका–१ ले तीनशीर पदयात्रा मार्गको अन्वेषण गरेको छ । समिति र एक्यापका प्रतिनिधि प्राविधिकसहित साउन ३१ देखि भदौ ५ सम्म पदमार्गको पर्यटकीय सम्भावना, पूर्वाधार, खानेपानी, बाटोको अवस्था अध्ययन गरी फर्किएका हुन् । गाउँपालिकाको मिर्सा गाउँबाट सुरु हुने पदयात्रा मार्ग खुमैडाँडा, कोर्चों, बुङ्गा हुँदै नौंजे पुगेर पुनः बुङ्गा, पिपर, करुवा हुँदै मिर्सामा टुंगिन्छ । पहिलो दिन पोखराबाट भुर्जुङखोला–तातोपानी हुँदै मिर्सा पुगिन्छ । पोखराको बगरबाट जिप वा बसमा डेढ घण्टाको यात्रामा मिर्सा (१४९० मि.) पुग्न सकिन्छ । मिर्सामा गुरुङ संस्कृतिमा रमाएर होमस्टेमा बास बस्ने व्यवस्था छ । भोलिपल्ट मिर्साबाट कौलो धुं, भालेडाँडा, लुब्रुचु हुँदै खुमैडाँडा (३२६७ मि.) पुगेर बास बस्न उपयुक्त हुन्छ । मिर्साबाट खुमै पुग्न ७ घण्टा उकालो चढ्नुपर्छ । अचेल खुमैडाँडा चल्तीको गन्तव्य बनेको छ । माछापुच्छ्रे गाउँपालिकाकै घाचोक, टुसे, सरिपाखा हुँदै पनि खुमैडाँडा पुग्न सकिन्छ । यसलाई स्थानीयले ‘ग्रेट माछापुच्छ्रे ट्रेल’ नाम दिएका छन् ।

खुमैमा ७ होटल छन् । एक होटल निर्माणाधिन छ । यी होटलमा ४ सयजना सम्म अट्छन् । माछापुच्छ्रे, अन्नपूर्ण हिमशृंखला, धौलागिरि, पोखरा र वरपरका दृश्यावलकोनका लागि खुमै उत्कृष्ट गन्तव्य हो । हिउँ पर्ने र गुराँस फुल्ने मौसममा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति खुमैमा हुने गरेको छ । अर्को दिन विहानै खुमैबाट दुई घण्टा हिँडेर कोर्चों (३६९० मि.) पुग्ने हो भने सूर्योदयको अवलोकन गर्न सकिन्छ । एकाविहानै सेता हिमालमा घामका पहेंलो झूल्को परेको दृश्य निकै मनमोहक देखिन्छ । कोर्चोंमा हाल दुईवटा होटल छन् । माछापुच्छेल्वाङघलेलको सैतीघट्ट, मेश्रम हुँदै कोर्चों पुग्ने अर्को विकल्प हो । माछापुच्छ्रे मोडल ट्रेकको रुपमा यो पदयात्रा परिचित छ । कोर्चोंबाट उकालो लागेपछि भने कुनै होटल भेटिंदैन । पदयात्रीले यसपछि क्याम्पिङ ट्रेक रोज्नुपर्छ । भरिया, भान्से सहित ग्यास र खानेकुराको जोहो गर्नुपर्छ । टेन्ट र स्लिपिङ ब्याग अनिवार्य हुन्छ । पानीको उपलब्धता हेरेर बास बस्नुपर्छ । कोर्चोंबाट कल्स्यों, हिंकु, पैंस्यो देउराली (४१९० मि.) हुँदै बुंगामा यो रात बास बस्न उपयुक्त हुन्छ । ठूलो खर्क रहेको बुंगा (४११० मि.) बाट माछापुच्छ्रे र अन्नपूर्ण हिमशृंखला आँखै अघि ठोक्किन आइपुग्छ । बर्खामा जाने हो भने पाटनमा फूल्ने अनेकथरि फूलको दृश्यले मनै लोभ्याउँछ । कोर्चोंबाट बुंगा पुग्दा मर्दी उपत्यका, सेती खोंचको अवलोकन गर्न सकिन्छ । डाँफे र थार यो क्षेत्रमा पाइन्छ । प्रशस्त निगालो घारी रहेकोले भालुको बासस्थान यस क्षेत्रमा छ ।

बुँगाबाट अर्को दिन विहान सिङ्ग्यु खर्क, नौंजे हुँदै नैंसा बगरको यात्रा तय गर्नुपर्छ । बाटो केही भिरालो र अप्ठेरो लाग्न सक्छ । सिङ्ग्यु खर्क (४३२० मि.) र नौंजे (४३२० मिं) भेडिगोठ बस्ने स्थान हुन् । अहिले नौंजेमा संरक्षण क्षेत्र व्यवस्थापन समिति, माछापुच्छ्रेका अध्यक्ष सूर्जे गुरुङको भेडिगोठ छ । भेडिगोठमा झण्डै ५ सय भेंडा बाख्रा छन् । नौंजेको नजिकै नैंसा बगरमा क्याम्प खडा गरेर रात बिताउन सकिन्छ । संरक्षण क्षेत्र व्यवस्थापन समितिले माछापुच्छ्रे र अन्नपूर्णको बीचमा रहेको धार्मिकस्थल तीनशीर पुग्ने लक्ष्य राखेको थियो । तीनशीर सेती गण्डकी नदीको उद्गम स्थल समेत हो ।स्थानीयका अनुसार झण्डै २० वर्षअघिसम्म तीनशीरमा धर्मावलम्बी पुग्ने गर्थे । विशेषगरी जनै पूर्णिमाको दिन तीनशीर पुगेर धर्मावलम्बीले स्नान गर्थे । तर बाटोको अवस्थाका कारण अहिले तीनशीर माछापुच्छ्रे गाउँपालिकाका अन्तिम गाउँ करुवा, साँदल, मिर्सा लगायतका स्थानीय मात्रै कहिलेकसो पुग्ने गर्छन् । तीनशीर पुग्न नैंसा बगरबाट दुई दिन लाग्छ । नैंसा बगरबाट भद्रे देउराली हुँदै माछापुच्छ्रे हिमालको केही भाग छिचोलेर रानीखर्क वा अन्नपूर्णडाँडा (झण्डै ५ हजार मिटर) मा बास बस्न पुग्नुपर्छ ।

अर्को दिन अन्नपूर्णडाँडाबाट माछापुच्छ्रे, गन्धर्व चुली र अन्नपूर्ण तेस्रो र चोंथो हिमालले बनाएको उपत्यकामा रहेको तीनशीर पुगिन्छ । माछापुच्छ्रे फेदीमा डाङडुङे खोलाले ल्याएको ठूलो पहिरोले तीनशीर पुग्ने बाटोमा अवरोध पुर्‍याएको छ । पहिला हिमनदी रहेको स्थानमा तापक्रम बृद्धि सँगै बरफ पग्लिएर खोला बन्दा पहिरो आएको स्थानीयको भनाइ छ । उच्च हिमाली भूभाग भएकोले लेक लाग्ने सम्भावनालाई पनि ख्याल पुर्‍याउनुपर्छ । अप्ठेरो भौगोलिक अवस्था र खराब मौसमका कारण तीनशीरको यात्रा तय गरेको टोली डाङडुङे खोला र मर्दी हिमाल हाइ क्याम्प (४७०० मि.) सम्म पुगेर फर्कियो । उक्त टोली नैंसा बगरबाट नौंजे, बुंगा, क्रोस्यों डाँडा, प्हीत्युको ओढार हुँदै पिपर (३३२५ मि.) आएर बास बस्यो । पिपरमा एक्यापले पदयात्रीका लागि बास बस्ने स्थल ‘पोर्टर सेल्टर’ निर्माण गरेको छ । बर्खामा दुई भैंसीगोठ पिपरमा बस्छन् । पिपरको डाँडामा पिपर ताल रहेको छ । यो तालमा रुखको पात झर्ने बित्तिकै चराले टिपेर बाहिर फ्याक्ने गरेको जनविश्वास छ ।

चैत, वैशाखको खडेरीमा समेत पिपर तालमा पानी नसुक्ने भएकोले जंगली जनावर र चराचुरुंगी पानी पिउन यो तालमा आउँछन् । कालिज प्रजातिका डाँफे, मुनाल, चिर, चिलिमे, फोकराँस लगायत चराको अवलोकनका लागि विदेशबाट समेत चराप्रेमी, संरक्षणविद् एवं अनुसन्धानकर्मी पिपर पुग्छन् । अर्को दिन पिपरबाट पिलिचों, ठूलो खुम, सानो खुम हुँदै ओरालो झरेपछि करुवा गाउँ आइपुग्छ । करुवाबाट एक घण्टाको पैदलयात्रामा पुनः मिर्सा फर्किन सकिन्छ । मिर्साबाट माछापुच्छ्रेलाई छोएर पुनः मिर्सा नै फर्किंदा जैविक विविधतालाई नजिकबाट नियालिन्छ । तल्लो क्षेत्रमा गुराँसे वन, पतझड जंगलदेखि माथिल्लो क्षेत्रमा घाँसे मैदान भेटिन्छ । उच्च पर्वतीय क्षेत्रमा पाँचऔंले, निरमसी, यार्सागुम्बा, भूतकेश, जटामसी, कुड्की, मरामुल, सुनपाती, वन लसुन जस्ता जडिबुढी पाइन्छ । थार, घोरल, झारल, कस्तुरीका बथान यस क्षेत्रमा भेटिन्छन् । बर्खामा भेंडा, बाख्रा, भैंसीको चरन क्षेत्रका रुपमा स्थानीय पशुपालक किसानले लाभ लिएका छन् ।

पर्यटकीय पूर्वाधारको भने यस क्षेत्रमा अभाव छ । कोर्चोंमाथि होटल, बिजुली, सञ्चारको अभाव हुन्छ । भेंडिगोठ हिँड्ने बाटो पछ्याउँदै हिँड्नुपर्ने भएकोले जोखिम पनि उत्तिकै छ । संरक्षण क्षेत्र व्यवस्थापन समिति, माछापुच्छ्रे–१ का अध्यक्ष सूर्जे गुरुङ त्यस क्षेत्रको पर्यटकीय सम्भावनालाई उजागर गर्नका लागि अन्वेषण गरेको बताउँछन् । ‘यस्तो स्वर्गजस्तो ठाउँ पछाडि परेको छ,’ उनी भन्छन्, ‘यसलाई प्रवर्द्धन गर्न सके स्थानीयको आयआर्जनमा पनि बृद्धि गर्न सकिन्थ्यो । युवालाई विदेशिनबाट रोक्न सकिन्थ्यो ।’ संरक्षणलाई सँगसँगै लगेर त्यस क्षेत्रमा पूर्वाधार तयार गर्नुपर्ने उनको भनाइ छ । टोलीमा रहेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का सब–इन्जिनियर रामजी आचार्यले पर्यटकीय पदमार्गहरु सडक पहूँचका कारण खुम्चिँदै गएको अवस्थामा नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्ने क्रममा तीनशीरको खोजी गरेको बताए । ‘तीनशीर जाँदा विभिन्न किसिमका धरातलीय स्वरुप, वन क्षेत्र पार गर्दै जानुपर्ने र भौगोलिक हिसावमा पनि अन्नपूर्ण रेन्जको साह्रै नजिकबाट अवलोकन गर्न सकिने भएकोले यो क्षेत्र पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो,’ उनले भने, ‘यस क्षेत्रमा पैदलमार्ग, संकेत बोर्ड लगायत भविष्यमा केकस्ता पूर्वाधार बनाउन सकियो भने त्यस क्षेत्रको पर्यटकीय विकास र प्रवर्द्धन हुन सक्छ भन्ने उद्देश्यले अन्वेषण गरिएको हो ।’ पदयात्रा मार्ग अन्वेषणमा एक्याप, ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) गण्डकी र माछापुच्छ्रे गाउँपालिकाले सहयोग गरेका थिए ।


प्रकाशित : भाद्र १०, २०८१ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्