कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

जनताले मेरो संविधान भन्ने कहिले ?

आश्विन ४, २०८१
जनताले मेरो संविधान भन्ने कहिले ?

संविधान दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दियो । बिदा दिएर संविधान दिवस मनाउने होइन, सबै सरकारी कार्यालयमा संविधान दिवस मनाउनुपर्थ्यो । संसारमा बिरलै हुने संविधानसभाले संविधान बनायो, संविधान बनेर मात्र भएन, हरेक नेपालीमा यो मेरो संविधान भन्ने आभास हुनुपर्‍यो । राज्यले संविधान दिवस मनाउँदैमा केही हुँदैन । हरेक नेपालीले घरघरमा दीपावली गरेर संविधान दिवस मनाउने वातावरण बन्नुपर्‍यो । संविधान बन्दैमा सबै चिज भयो भन्ने होइन यो त एउटा कानुन न हो, सबैले यसको पालना गरे यसले सार्थक पाउँछ ।

देशमा नयाँ संविधान बनेको ९ वर्ष भयो तर जनताले के पाए त ? संविधान सबभन्दा बढी त नेताहरूले नै उल्लंघन गरेका छन् । के नेताहरू संविधानभन्दा माथि छन् ? जनता सिटामोल खान नपाएर मरेका छन्, एक पाकेट नुन किन्न नागरिकता बोकेर दिनभर हिँड्नुपर्ने अवस्था छ । संविधानमा उल्लेख भएको न्यूनतम सुविधाबाट जनता वञ्चित छन् । देश भ्रष्टाचारको दलदलमा फसेको छ । दैनिक गुजारा चलाउन नवयुवकहरू भारतलगायत खाडी मुलुकमा श्रम बेच्न बाध्य छन् ।

देशमा रोजगारी सिर्जना गर्न सकिएको छैन । महँगीले बजार भाउ छोइनसक्नुभएको छ । विधिको शासन र कानुनीराजको उल्लंघन भएको छ । बिचौलियाले देश चलाएका छन् । लोकतान्त्रिक, गणतान्त्रिक मुलुक भनिए पनि दलहरूको रवैया राणा शासनभन्दा कम देखिँदैन । नेतालाई खबरदारी गर्न नपाउने, नेताले जे भन्यो त्यही मान्नुपर्ने व्यवस्थालाई लोकतान्त्रिक गणतन्त्र भन्न सकिँदैन ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

संविधानसभाको माध्यमबाट संविधान बनाई जनतालाई अधिकारसम्पन्न बनाउने, उनीहरूको जीवनस्तर उकास्ने र देशलाई विकसित बनाउने भनेर सुरु भएको माओवादी ‘जनयुद्ध’ मा १७ हजार नेपालीले ज्यान गुमाए । हजारौंको अंगभंग गरियो । अर्बौंको भौतिक क्षति भयो र ६ सय १ जना ‘विधायक’ लाई आठ वर्षसम्म पालेर संविधान बनाइयो । त्यसपछिका दिनमा देश र जनता खुसी हुने पालो थियो । तर जताततै नेताका अवसर खुले । जनतालाई भने करको दर ह््वात्तै बढाइयो ।

विदेश जानका लागि सहज वातावरण बनाइयो । संघीयता कार्यान्वयनसँगै नेता, तिनका लागि सुविधा, कार्यकर्ता र चाकर बढे । उत्पादन, रोजगारी बढेन । यसबीच सरकार बदलिए । पुराना नेता छँदै छन्, नयाँ नेता थपिए । तिनको जीवनशैली बदलियो । सरकार, पार्टी दुवै मजासँग चले । अनेकौं पार्टी र तिनका दैनिक गतिविधि चलेकै छन् । समग्र देशको कुरा गर्ने हो भने, सरकारका सारा अंगले आफ्नो कर्तव्य भुलेका छन् । देशको वैदेशिक ऋण बढेको छ । नागरिकका थाप्लामा ऋणको भारी बढ्दै छ । विदेश जाने बढ्दै छन् ।

बेलायतजस्तो देश संविधानबिना पनि चलेकै छ । हाम्रोमा अति महँगो तरिकाले संविधान बनाइयो । हाम्रा नेता बेलाबेला संविधान रक्षा गर्ने कुरा पनि गर्छन् । विश्वकै उत्कृष्ट संविधान पनि भन्छन् । अझ पछिल्लो पटक त संविधान नै परिवर्तन गर्ने भनेर सरकार बनाएका छन् ।

भ्रष्टाचारीलाई मिलीजुली बचाउने, अनेक काण्ड मच्चाएर छताछुल्ल हुँदा पनि केही नभएझैं गर्ने, अभियुक्तहरू नै मन्त्री बन्ने, मन्त्रीको कोटा नपुगेर मन्त्रालय नै फुटाउने, एउटा शब्दलाई लिएर दिनहुँ संसद् अवरोध/प्रतिरक्षा गर्ने अनि भ्रष्टाचारको प्रतिवेदनलाई पनि ‘क्लिन चिट’ का रूपमा व्याख्या गर्ने माननीयहरूले देश र जनताको पक्षमा संविधान संशोधन गर्लान् भन्ने विश्वास लाग्दैन । बरु योभन्दा त एक दिन बिदा दिएर, तामझामका साथ आफूहरू सवारी भएर र जनतालाई दीपावली मनाउनू भन्ने उर्दीका साथ संविधान दिवस मनाउनचाहिँ सक्छन् । यो साल यसरी नै सकियो । अब अर्को साल पनि यस्तै त होला !
– अनिमेष पाठक,
सिद्धिचरण मार्ग, ओखलढुंगा

प्रकाशित : आश्विन ४, २०८१ ०६:५९
×