कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

नियन्त्रित अस्थिरताको शृंखला 

आश्विन ४, २०८१

दुर्गा कँडेल छत्कुली

दुर्गा कँडेल छत्कुली राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत छिन् ।

नियन्त्रित अस्थिरताको शृंखला 

Highlights

  • सत्ता र शक्तिका लागि पटकपटक प्रधानमन्त्री/मन्त्री बन्ने र अकुत सम्पत्ति आर्जनका लागि इमानदारिता, नैतिकता, जिम्मेवारी र जवाफदेहितालाई तिलाञ्जली दिने छुट कसैलाई छैन ।

सार्वभौम मुलुकमा सार्वभौम अधिकार तथा राज्यसत्ताको अधिकार नागरिकमा हुन्छ । त्यो ठाउँमा विदेशी प्रतिनिधिको चलखेल र दौडधुप राष्ट्रपति निर्वाचनको अवस्थामा होस् वा सरकार फेरबदलमा या अन्य निर्वाचनका बेला, जुन कुनै समयमा यस्तो हुनु ज्यादै दुःखद् अवस्था हो । तर, राजनीतिक दल र तिनका नेताले आज जे अभ्यास गरिरहेका छन्, त्यस अर्थमा हामी जनता सार्वभौम नागरिक हो त ? 

प्रतिनिधिसभा निर्वाचनमा नेपाली नागरिकले आफ्नो मताधिकारको प्रयोग गरी केही नयाँ अनुहारलाई समेत चुनेर पठाए । जहाँ उनीहरूप्रतिको जनअपेक्षा अलि फरक थियो । नयाँ दल पनि आए, जहाँ बाह्र दलले प्रतिनिधिसभामा आफ्नो स्थान बनाए ।

संविधान निर्माणको प्रक्रिया र संविधान जारी भइसकेपछि पनि सानोभन्दा सानो विषयमा बाह्य हस्तक्षेप भइरहेको थियो । केही नयाँ पार्टी र तिनका सांसद आएपछि कम्तीमा त्योबाट छुटकारा मुलुकले पाउनेछ भन्ने आशा थियो । मुलुकले योग्य सांसद पाओस् र तिनै सांसदले राष्ट्रपति चुन्न सकून्, प्रधानमन्त्री चुन्न सकून् र कानुनबमोजिम नागरिकलाई शासन गर्न सकून् भन्ने अभिप्रायः थियो । त्यो सबै भताभुंग भएको अवस्था छ । गल्तीका शृंखलाको पुनरावृत्ति भइरहेको छ, यो मान्य विषय होइन ।

नेपालको इतिहास हेर्ने हो भने राज्य व्यवस्था यति अस्थिर अवस्थामा पुगेको थिएन । अहिले करिब ३५ वर्ष भयो केही वर्गको हातमा देश रहेको छ । लामो समय जेलनेल, विद्रोह, आन्दोलन, त्यागबाट यो अवस्थाको उपलब्धि भएको हो भन्दै गर्दा यो सकसपूर्ण उपलब्धि केका लागि ? जनताको अवस्था परिवर्तनको उपलब्धि आवश्यक थिएन ? सार्वभौम देशको नागरिकका लागि नभएको परिवर्तित व्यवस्था कसका लागि ? केही औंलामा गन्न सकिने सीमित नेतृत्वका लागि ? सत्ता र शक्तिका लागि जे गरे पनि हुने हो ?

मुलुक जर्जर हुन लागिसक्यो । युवा पिँढी दिनानुदिन बाहिरिँदै छन् । देशमा उत्पादन छैन । आयातले देश धानेको छ । रेमिटले अर्थतन्त्र टेको लागिरहेको छ । चालु आम्दानीले चालु खर्च धान्न सक्ने अवस्था छैन । बाह्य तथा आन्तरिक ऋणको साँवाब्याज करिब तीन अर्ब बुझाउनुपर्ने अवस्था छ । त्यसमा विकास खर्च गर्नुपर्ने हुन्छ, यी सबको व्यवस्था कहाँबाट हुन्छ ? कहिलेसम्म यसरी अर्थतन्त्र चल्छ ? आजको नेतृत्व वर्गले कस्तो राज्यसत्ता हस्तान्तरण गर्ने हो ? आउने पुस्तालाई ।

आजका राजनीतिज्ञहरूको बोली व्यवहार, चालचलन, संस्कार हेर्‍यो भने ती नेतृत्वबाट तिनका कार्यकर्ताले के सिक्ने ? इमानदारिता, नैतिकता, सुशासन, अनुशासन जस्ता शब्दावलीको सिला खोज्ने समय आएको जस्तो लाग्छ । माउ गतिलो भए पो चल्ला गतिलो जन्मन्छ । कुनै एउटा विषय आफू सत्ता र शक्तिमा हुँदा ठीक हुने, कुर्सी र शक्तिबाट टाढा हुँदा त्यो बेठीक हुने किन ? २०४७ सालपछि जति पनि सरकारको नेतृत्व जुन जुन पार्टीबाट भयो, नेतृत्व ज–जसले गरे, तिनले यी विसंगतिको जिम्मेवारी लिनुको सट्टा एकपछि अर्का घटना दोहोरिरहेका छन् । आज गठबन्धनका गाँठा कसिने र फुस्किने भइरहेका छन् । कसका लागि र कहिलेसम्म ?

देश र जनतालाई बलिको बोको बनाउने अवस्था योभन्दा अझ कति पर लाने ? देशमा अस्थिरताका तयारी यसरी मन्थन भइरहेका छन् कि कहिले वामपन्थी एकजुट हुने, कहिले वामपन्थीहरू बाहेकसँग पनि मिल्ने । एउटा पार्टीको नेतृत्वले एक ठाउँमा एकथोक बोलिरहेको छ, अर्को नेतृत्व अर्को ठाउँमा अर्कै बोलिरहेको छ । देशको यो दुरवस्था आउनुमा नेतृत्वले बाटो बिराउँदा त्यसको समर्थन गर्ने कार्यकर्ता पनि भागीदार हुनुपर्छ । भनिन्छ, अन्याय गर्ने मात्र होइन अन्याय सहने पनि उत्तिकै दोषी ठहरिन्छ ।

आजको यो विषम परिस्थितिको सिर्जना कसरी भयो ? यस विषयमा अध्ययन, विश्लेषण गर्ने क्षमता नेताहरूमा देखिन्न । त्यो भनेको दलका नेतृत्वमा अझै पनि चेतना खुलेको छैन, जसले देश नियन्त्रित अस्थिरतातर्फ धकेल्छ । यस्तो नियन्त्रित अस्थिरताले देशलाई झन्भन्दा झन् ठूलो खाडलतर्फ धकेल्ने निश्चितप्रायः छ ।

सत्ता र शक्तिका लागि कैयौं पटक प्रधानमन्त्री बन्ने र अकुत सम्पत्ति आर्जनका लागि इमानदारिता, नैतिकता, जिम्मेवारी र जवाफदेहितालाई तिलाञ्जली दिने छुट कसैलाई छैन । संविधान देशको मूल कानुन हो, नियम हो, विधि हो, पद्धति हो । यो स्वचालित हुँदैन । यसलाई कार्यपालिकाले कार्यान्वयन गर्छ अथवा संविधानबमोजिम सरकार चल्छ भन्ने मान्यता राखिन्छ । यहाँ त विधिको शासनको पालन आफूअनुकूल बनाउने प्रयास पटकपटक भइरहेको छ । गल्तीका शृंखला पटकपटक दोहोरिरहेका छन् । देशको अवस्था दिनप्रतिदिन अप्ठ्यारो अवस्थामा गुज्रिरहेको छ । देशको सार्वभौमसत्तामाथि संघीय राज्यको माध्यमबाट जहाँ तेरो राज्य र मेरो राज्य भनी हमला गर्ने जस्ता घटनाक्रमले नियन्त्रित अस्थिरता कायम रहेको छ भन्ने पुष्टि गर्छ । यस्ता विविध पक्षलाई हमला गरिसकेपछि एउटा राष्ट्र कमजोर बनाउन विभिन्न कालखण्डमा भएका घटनाक्रम योजनाबद्ध रूपमा चालिएका कदम हुन्, कहींकतैबाट नियन्त्रित अस्थिरताका लागि । यहाँ रिमोट चलिरहेछ, सरकारमा कसलाई ल्याउने र कसलाई हटाउने ।

देशमा पटकपटक राजनीतिक परिवर्तन भए । तर, नीतिभन्दा बाहिर र देशको अहितमा त्यस्ता परिवर्तन भएका छन् यस्ता पक्षको अन्त्य हुन जरुरी छ । राजनीतिक नेतृत्वमा अझै पनि चेत आएन । देश अझै जर्जर बन्ने अवस्थामा छ । लामो समय देशको बागडोर समातेर केवल सत्ता र शक्तिमा लिप्त भई आजको नेतृत्व सुशासनलाई छोडेर कुशासनको बाटोमा हिँडिरहेको छ । यो अवस्था अब बन्द गर्नुपर्छ । अझै यस्ता खेलको पुनरावृत्ति भइरहने हो भने भोलिको पुस्ताले सराप्नेछ । भोलिका पुस्तालाई कस्तो देश सुम्पने हो आजको नेतृत्वले सोच्न ढिला भइसकेको छ ।

चिनियाँ दार्शनिक कन्फ्युनियसले भनेका छन्– छोटो समय या एक वर्षका लागि प्रतिफल लिनुछ भने धान तथा बीउ रोप, जसबाट चार–छ महिनामा अन्न प्राप्त गर्न सकिन्छ । दस वर्षका लागि हो भने बिरुवा रोप, जहाँबाट फलफूल तथा काठ प्राप्त गर्न सकिन्छ । सय वर्षका लागि हो भने शिक्षामा लगानी गर, जहाँ दिगो विकास गर्न सकिन्छ । उनको यो विचारलाई अत्यन्त उपयोगी र दूरदर्शी मानिन्छ । यही आदर्शको अनुसरणले त आज चीन विश्वको शक्तिशाली राष्ट्रको सूचीमा अटाउन सकेको छ । हाम्रा नेतृत्वमा यस्ता सुविचारको ज्ञान र त्यसको कार्यान्वयनतर्फ लाग्न ढिला भइसकेको छ ।

– कँडेल राष्ट्रिय वाणिज्य बैंककी उपकार्यकारी अधिकृत हुन् ।

प्रकाशित : आश्विन ४, २०८१ ०७:०३
×