कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

जल पुनर्भरणमा महिला तथा आदिवासी जनजाति

भाद्र ३१, २०८१

सीता राना

राना संयुक्त राष्ट्रसंघअन्तर्गत खाद्य तथा कृषि संगठनकी पूर्वलैंगिक विज्ञ हुन् ।

जल पुनर्भरणमा महिला तथा आदिवासी जनजाति

Highlights

  • प्राकृतिक स्रोत व्यवस्थापन कार्यमा महिला र आदिवासी जनजाति विशेष सरोकारवाला हुन् । हिजोआज संसारभर प्रचलनमा रहेको जल पुनर्भरण, माटो व्यवस्थापन र वन संरक्षणमा उनीहरू संलग्न भइरहेका छन् ।

परापूर्वकालमा भिन्नभिन्न दिशाबाट आएका मानिसका झुन्ड कुनै निश्चित भूगोलमा रहँदै, बस्दै जाँदा उनीहरूले त्यहीं छुट्टै भाषा, संस्कृतिको विकास गरे । हिजोआजसम्म पनि त्यही भूगोलमा बसोबास गरिरहेका समुदाय आदिवासी जनजाति हुन् । अन्य समुदायचाहिँ आमरूपमा भाषा, धर्म, संस्कृतिसहित नेपालको भूभागमा भित्रिएका हुन् ।

पहिले राज्यले एक भाषा, एक धर्मको नीति लिएअनुसार समग्र जनसंख्याको अनुपातमा हिजोआज आदिवासी जनजातिको पहुँच खेतीपातीको निम्ति अब्बल भूमि, व्यवसायको लागि पुँजी तथा प्रविधि, सरकारी रोजगारी, ज्ञान उपार्जन क्षेत्र (शिक्षा) आदिमा कम छ । यसैले, आदिवासी जनजाति औसत आर्थिक रूपमा विपन्न छन् । परिवारका पुरुष जीविकाका निम्ति कतै श्रम गर्न जाँदा महिलाचाहिँ खाना पकाउन, दाउरा जुटाउन र पालेका चौपायाका निम्ति घाँस संकलन गर्न जंगल जान्छन् । जनसंख्या वृद्धिका कारण खासगरी चुरे क्षेत्रमा वनजंगल विनाश बढी हुने गरेको छ । परिणाम, पानीको स्रोत सुक्दै गएका छन् ।

विपन्न परिवार पिउनका निम्ति खर्च गरेर धारा जडान गर्न असमर्थ छन् । यसैले, खाना पकाउने पानी लिन घण्टौं समय खर्चिन्छन् । जनगणना २०७८ मा प्रकाशित जानकारीअनुसार २६ हजार ६ सय ४३ परिवार पिउन तथा खाना पकाउन नदी वा खोलाको पानी प्रयोग गर्छन् । इनार वा कुवा प्रयोग गर्ने परिवार संख्या २ लाख ४४ हजार ९२ छ । काठमाडौं उपत्यकाबाहेक चुरे तथा महाभारत पर्वत शृंखलामा इनार खासै प्रचलनमा छैन । त्यसैले ती क्षेत्रमा कुवामा भर पर्ने निकै छन् । अर्कोतिर, सुक्खाका कारण चुरे क्षेत्रमा कुवा वा सिमसार क्षेत्र सुक्दै गएपछि चुरेको पारिस्थितिक प्रणाली खस्किने क्रम जारी छ । यसको नकारात्मक असर मानिस तथा जैविक विविधतामा परिरहेको अवस्था छ ।

चुरेको पानी स्रोत

हामीले देखेका छौं, हिमालय क्षेत्र, महाभारत पर्वत शृंखला र तराई उद्भव भएका नदीहरूमा बाह्रै महिना पानी बगिरहन्छ । हिमालय र महाभारत पर्वत शृंखलामा उद्भव भएका नदीको पानी चुरे क्षेत्र भएर बग्दै तराईमा पुग्छ । तर, चुरे क्षेत्रमा उद्भव भएका ४८ वटा नदीमध्ये धेरैजसोमा बर्खामा मात्र पानी बग्छ र अन्य सिजनमा पानी उम्रँदैन । त्यहाँको पानी भित्रभित्रै सोसिएर तराईमा उम्रन्छ । यसो हुनुको कारण चुरे क्षेत्रको भौगोलिक बनावट हो । भूगर्भिक मान्यताअनुसार यो क्षेत्रको धेरैजसो भूभागमा एक–डेढ करोड वर्षअघिसम्म पानी थियो । हिमालय तथा महाभारत क्षेत्र सो अवधिमा तीव्र गतिमा उँचो हुँदै गयो । यस क्रममा उत्तरबाट तलतिर सोहोरिएर ढुंगा, गेग्रियान माटो पानी भरिएका ठाउँमा पुगे । यस्तै, नदीले बगाएर ल्याएका पदार्थ थपिएर अहिलेको चुरे क्षेत्र बन्न पुग्यो ।

चुरे क्षेत्रमा ४८ वटा नदीको उद्भव त भयो, तर तिनमा बर्खामा उम्रेको पानी बगेर ओरालो लाग्दा तराईतिर पुग्न नपाई जमिनमै सोसिन्छन् । यस्तै, नदीबाहेकका क्षेत्रमा पनि पानी अड्याइराख्ने रूख, बुट्यान तथा घाँसे चउर घट्दै गई जमिनको माथिल्लो सतहमा पानी सञ्चित कम हुँदा पहिलेको तुलनामा सुक्खा हुने क्रम बढ्दो छ । अर्कोतिर, वन क्षेत्र कम हुँदै गएपछि तापक्रम वृद्धि हुन्छ र भएका पानीको मूल पनि सुक्छ । अतः चुरे क्षेत्रमा पहिले भएको सिमसार विलय हुँदै गएका छन् ।

नेपाल सरकार तथा संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि संगठन नेपालको संयुक्त आयोजनामा मध्य तथा पूर्वी नेपालको ११ जिल्लामा चुरे क्षेत्रमा चुरे उत्थानशील आयोजना सञ्चालित छ । ०७७/०७८ देखि ०८४/०८५ सम्म चल्ने आयोजनाले भिन्नभिन्न १५ प्रकृतिका कार्यक्रम गरिरहेको छ । तीमध्ये एक जल पुनर्भरण कार्यक्रम हो । यसका निम्ति स्थान र आवश्यकता हेरी सुकेका पोखरी, ताल, मुहान वा जलभण्डार भए तिनीहरूलाई मर्मत सुधार वा पुनर्निर्माण गरिरहेको छ । नभएका ठाउँमा नयाँ संरक्षण पोखरी तथा पानी जमाउने पोखरी निर्माण भइरहेको छ । यसरी पानी संग्रह हुँदा आसपासका वनमा चिस्यान हुन्छ । सुकेका कुवामा पानी पुनः पलाउँछ । चिस्यानमा हुने रूख बिरुवा हुर्कन सहयोग पुग्छ । पोखरीभन्दा मुनिको कृषि भूमिमा पानी सिञ्चित हुन्छ । चुरे उत्थानशील आयोजनाले जल पुनर्भरण कार्यक्रमअन्तर्गत जम्मा १ सय २९ वटा चेक

ड्याम/जल पुनर्भरण पोखरी निर्माण गर्ने गरी काम थालनी गरेको छ । यसबाट चुरे क्षेत्रको जैविक विविधता जोगाउन सघाउ पुग्नेछ । स्थानीय बासिन्दा थोरै भए पनि जमिन चिस्यान भएर लाभान्वित हुनेछन् । अर्को कुरा, चुरे उत्थानशील आयोजनाले सञ्चालन गरेको कैयौं कार्यमा महिला, आदिवासी जनजाति, दलित, विपन्न समुदायलाई आर्थिक लाभ पुग्ने गरी संलग्न गरिरहेको छ ।

केही उदाहरण

मागुरमारी वन झापा जिल्लाको बुद्धशान्ति गाउँपालिकामा छ । यो वनको पूर्वमा टिमाई र पश्चिममा हँडिया खोला छ । उक्त वनमा झन्डै आधा दर्जन सामुदायिक वन क्रियाशील छन् । तीमध्ये दक्षिणपूर्वी भागमा रहेको नवज्योति सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्र २ सय ५१ हेक्टर छ । उक्त वन उपभोक्ता समितिमा सचिव विमला राईसहित ६९.२३ प्रतिशत महिला छन् । त्यहाँ पहिले कुम्भीखाल भनिने ठाउँ सिमसार जस्तो थियो, तर खासै पानी देखिने गरी थिएन । चुरे उत्थानशील आयोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा ३ सय मिटर लम्बाइ र ४० मिटर चौडाइको पोखरी निर्माण सम्पन्न भएको छ । पहिले नै त्यहाँ लिम्बू भाषाको लिपि आविष्कारक श्रीजंगाको मूर्ति प्रतिस्थापन गरिएको थियो । हिजोआज त्यहाँ आन्तरिक पर्यटन सुरु भएको छ । नजिकै पाथीभारा माताको पूजास्थल पनि निर्माण गरिएको छ ।

यसरी, पहिलेको कुम्भीखाल हिजोआज किरात तथा हिन्दु धर्मावलम्बीका लागि धार्मिक पर्यटकीय स्थलमा परिणत भएको छ । त्यो जंगली जनावरका निम्ति पानी पिउने तथा आहाल खेल्ने स्थल बनेको छ । जंगली जनावर सुक्खायाममा पानी पिउन जान्छन् । जलपक्षी त्यहाँ उल्लेख्य मात्रामा देखिन थालेको छ । गत चैतदेखि जेठसम्म त्यही पोखरीमा राति निकै पटक हात्ती आहाल खेलेको थियो । यो पोखरी बनाएपछि त्यसभन्दा दक्षिणतिर खेतीपाती गर्न सहज भएको छ । पानी अभावमा सास्ती भोगिरहेका कृषकले थोरै भए पनि कुलोमा पानीको मात्रा वृद्धि भएपछि राहत महसुस गरेका छन् ।

मोरङको उर्लाबारी नगरपालिका–२ स्थित प्रगतिशील सामुदायिक वन उपभोक्ता समूहले २०८१ सालमा चुरे उत्थानशील आयोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा जरुवा पानी भएको घाँसे मैदानमा एउटा पोखरी खन्यो । पोखरीमा माछा पाल्ने, पर्यापर्यटन सञ्चालन गर्ने लक्ष्य छ । पोखरीमा सुक्खायाममा राति हात्ती आहाल बस्न आउने गरेको छ । उक्त उपभोक्ता समूह समितिमा १५ जनामध्ये सचिव बिन्दिया दनुवारसहित ८ जना (५३.३३५) महिला छन् ।

उदयपुरको बेलखा नपा–३ जिल्लाको दक्षिणपूर्वी सिमाना पर्छ । यो वडाको दक्षिण र पूर्वतर्फ सुनसरी जिल्लाको सिमानासँग जोडिन्छ । ३ नम्बर वडाको उत्तरतर्फ सोही नगरपालिकाअन्तर्गत वडा ६ रहेको छ । यसको उत्तरी सिमाना दूधकोशीसम्म छ । वडा ६ को उक्त वनमा साल, साँझ, जमुना, फड्डी, करम, बोडधमेरो, टाँटरी प्रजातिका रूख घना रूपमा रहेका छन् । वडा ६ को ३ सय २५ हेक्टर वनक्षेत्र वडा ३ का बासिन्दाले जोगिनीपाखा सामुदायिक वन उपभोक्ता समूहबाट उपभोग तथा व्यवस्थापन गरिरहेका छन् । ११ सदस्यीय उक्त समूहको समितिमा सचिव र कोषाध्यक्ष महिला तथा एक जना दलित र अर्का एक जना बाहुन/क्षेत्री सदस्य गरी ४ जना (३६.३६५) महिला छन् ।

जोगिनीपाखा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तेजबहादुर मगरका अनुसार उक्त समूहले ५३ मिटर लम्बाइ, ४४ मिटर चौढाइ र ६ फिट गहराइ भएको पोखरी चुरे उत्थानशील आयोजनाको आर्थिक सहयोगबाट बनाएको छ । वरिपरि करिब ४ बिघा जमिनमा समावेशी पार्क छ । यसको मूल उद्देश्य पर्यापर्यटन हो । उत्तरीभेगमा जंगली जनावरलाई पानी पिउनका निमित्त घेराबेरा गरिएको छैन, त्यसबाहेक बाँसबाट घेराबार गरिँदै छ । पोखरीको दक्षिणतर्फ २–३ सय घरधुरीले खेतीपाती गर्छन् । त्यहाँ पहिले पानीका लागि कुलो थियो । पोखरी बनेपछि कुलोमा पानी वृद्धि भएको छ ।

महिला र जनजाति

करिब ६० हजार वर्षपहिले दाङ–देउखुरीमा ढुंगेयुगका मानिसले सञ्चालन गरेको ढुंगे हतियार कारखाना थियो । त्यो चुरे क्षेत्रमै पर्छ । यस्तै, ६ देखि ८ हजार वर्षपहिले महोत्तरीको बर्दिबास उत्तरतर्फ चुरे क्षेत्रमा रहेको रातुखोलामा ढुंगेयुगका मानिसबाट सञ्चालित अर्को ढुंगे हतियारको कारखाना रहेको जर्मनी पुरातत्त्वविद् गुड्रन कर्विनसले सन् १९९० ताका पत्ता लगाएकी थिइन् । नेपालको हिमालय, महाभारत पर्वत शृंखला तथा तराई–मधेशमा हतियारकै कारखाना स्थल सञ्चालन भएको अझैसम्म पाइएको छैन । अतः चुरे क्षेत्रमा मानिस परापूर्वकालदेखि बस्दै आएका हुन् । अहिले त्यस क्षेत्रमा बसोबास गर्ने केही समुदाय उसबेलै आएका हुन सक्छन् । जेहोस्, आदिवासी जनजाति ठाउँ विशेषको प्राकृतिक स्रोत साधन के कसरी उपयोग गर्ने भन्ने कुरामा जानकार त छँदै छन्, उनीहरू ती स्रोतमा निर्भर पनि छन् ।

अतः प्राकृतिक स्रोत व्यवस्थापन कार्यमा महिला र आदिवासी जनजाति विशेष सरोकारवाला हुन् । हिजोआज संसारभर प्रचलनमा रहेको जल पुनर्भरण, माटो व्यवस्थापन र वन संरक्षणमा उनीहरू संलग्न भइरहेका छन् । यस्ता कार्यमा उनीहरू अन्य समुदायभन्दा बढी लगनशील र उत्साहित भइरहेको माथिको उदाहरणबाट प्रस्ट हुन्छ । जल, जंगलबाट जीविका उपार्जनमा प्रभाव पर्ने भएका कारण त्यस्ता कार्यप्रति महिला तथा आदिवासी जनजातिको चासो बढी देखिन्छ ।

चुरे उत्थानशील आयोजनाले सञ्चालन गरेको जल पुनर्भरणको काममा महिला तथा आदिवासी जनजाति समुदायको संलग्नता माथि चर्चा गरिएको ३ मध्ये २ वटामा समावेशी छ । जल पुनर्भरणसहित जलजंगल संरक्षण तथा पुनरुत्थान कार्यमा महिला र आदिवासी जनजातिलाई नेतृत्वमा पुर्‍याउँदा उनीहरू खुसीसाथ संलग्न हुने रहेछन् । अन्य क्षेत्रमा पहुँच कम भएका कारण उनीहरू जल, जंगल संरक्षणमा दत्तचित्त भएर संलग्न भइरहेका हुन् । यसबाट विशेषतः आदिवासी जनजातिहरू जल, जंगलसँग अन्योन्याश्रित रूपमा रहन चाहन्छन् भन्ने पनि पुष्टि हुन्छ ।

– राना संयुक्त राष्ट्रसंघअन्तर्गत खाद्य तथा कृषि संगठनकी पूर्वलैंगिक विज्ञ हुन् ।

प्रकाशित : भाद्र ३१, २०८१ ०७:१९
×