कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

नर्सिङमा जनशक्तिको सवाल

भाद्र १२, २०८१
नर्सिङमा जनशक्तिको सवाल

Highlights

  • लोक सेवाको पछिल्लो आँकडाअनुसार रिक्त पदमा आवेदन दिनेको संख्या कम छ भने अर्कोतर्फ अन्तर्वार्तामा उपस्थित संख्या झनै न्यून छ । यसले सरकारी जागिरमा नर्सिङ जनशक्तिको आकर्षण घटेको देखाउँछ ।

केही महिनाअघि पोखरा नर्सिङ क्याम्पस पूर्वविद्यार्थी मञ्चले नवआगन्तुक विद्यार्थीका लागि मोटिभेसनल कार्यक्रम गर्‍यो । ‘खुसी कसरी हुन सकिएला ?’ भन्ने प्रशिक्षकको जिज्ञासा खस्न नपाउँदै बीएनएस र बीएस्सी प्रथम वर्षका करिब ९६ प्रतिशत विद्यार्थीले ‘विदेश जान पाए खुसी हुने’ आशय व्यक्त गरे ।

एकातिर स्वदेशमै जागिरको कम सम्भावना, अर्कोतर्फ विदेश जान इच्छुकका लागि नर्सिङ शिक्षा सहयोगी हुने भएकाले यसप्रति विद्यार्थीको आकर्षण बढ्नु स्वाभाविक हो । देशभित्र पर्याप्त रोजगारीको अवसर उपलब्ध नहुनु, कठोर श्रम, न्यून ज्याला र कडा मिहिनेतका कारण पछिल्लो समय प्रायः विद्यार्थीको रोजाइ स्वदेशभन्दा विदेश देखिन्छ ।

नर्सिङ विषयमा मात्र होइन उच्च शिक्षा अध्ययन तथा रोजगारीका लागि प्रायः विद्यार्थीको रोजाइ विदेश नै देखिन्छ । गुणस्तरीय नर्सिङ जनशक्ति उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको पोखरा नर्सिङ क्याम्पसको शैक्षिक प्रशासन शाखाका एक कर्मचारी विदेशी फारामको सिफारिस लिन आउने विद्यार्थीको संख्या विगतको तुलनामा दोब्बर बढेको बताउँछिन् । विदेश जान सहज हुन्छ भनेरै नर्सिङ पढेको बताउने त धेरै छन् ।

स्नातक तह नर्सिङ अध्ययन, अध्यापन गराउने कतिपय निजी क्याम्पसलगायतका संघसंस्था विद्यार्थी अभावमा बन्द भएकाले पहिलाको तुलनामा उत्पादन कम छ । हाल त्रिभुवन विश्वविद्यालयका प्राविधिक, व्यावसायिक विषय पठनपाठन हुने कतिपय क्याम्पसमा समेत हरेक वर्ष स्नातक तहमा विद्यार्थी घट्दै गएका छन् । कतिपय सरकारी, निजी कलेजमा समेत एमएन, बीएनएस तथा बीएस्सी तहमा सिट संख्याको अनुपातमा विद्यार्थी भर्नादर न्यून देखिएको छ ।

चिकित्सा शिक्षा आयोगले तोकेको प्रक्रियाअनुरूप म्याचिङको सिलसिला पार गरी पोको पन्तुरो बोकेर पढ्न जाँदा क्याम्पसहरूमा छात्रावासको सुविधा पाइँदैन । पाइहाले पनि विद्यार्थी संख्याका आधारमा पर्याप्त छात्रावास उपलब्ध हुँदैन । प्रयोगात्मक अभ्यास गर्न कतिपय नर्सिङ कलेजका आफ्नै अस्पताल छैनन् । एउटै अस्पतालमा धेरै कलेजका विद्यार्थीको भीड हुनु, बिरामीभन्दा सिक्ने विद्यार्थीको संख्या बढी हुनुले प्रयोगात्मक अभ्यासमा बाधा पुग्छ ।

अध्ययन पूरा गरेपछि काउन्सिलको परीक्षा पास गर्नु र विदेश जाने प्रक्रिया थाल्नु विद्यार्थीको एक मात्र उद्देश्य प्रस्ट झल्किन्छ । ‘कडा मिहिनेत, धैर्य र सेवामुखी भावनाबिना यो विषय अध्ययन गर्न सहज छैन, नर्सिङ जनशक्ति यही दरले विदेशिँदै जाने हो भने निकट भविष्यमै देशमा गुणस्तरीय नर्सिङ जनशक्तिको अभाव हुन बेर लाग्दैन ।’ पोखरा नर्सिङ क्याम्पस प्रमुख नीता ताम्राकारको भनाइजस्तै सरकारी छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाएकामध्ये कतिपय विद्यार्थी नै बीचैमा पढाइ छाडेर विदेशिन्छन् । यसरी विदेशिने विद्यार्थीका कारण सरकारी लगानी बालुवामा पानी सावित भएको छ ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई पर्याप्त स्वास्थ्य जनशक्ति अभाव भएको देशका रूपमा राखेको छ । स्वास्थ्य संस्था सञ्चालन मापदण्डको अनुपातअनुसार हाल नेपालमा एक जना नर्सले ४० जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता देखाएको छ । नेपालको श्रमसम्बन्धी कानुनले श्रमिकका निम्ति निर्धारण गरेको न्यूनतम ज्यालाभन्दा कममा निजी अस्पतालमा काम गर्नुपर्ने र यसरी श्रमशोषण हुने नर्सिङ संघका पदाधिकारी बताउँछन् । सरकारी अस्पताल निजीको तुलनामा राम्रो देखिए तापनि न्यून ज्याला, असुरक्षित वातावरण र कामको चाप बढी भएको त्यहाँ कार्यरत नर्सहरू नै बताउँछन् ।

लोक सेवाको पछिल्लो आँकडाअनुसार रिक्त पदमा आवेदन दिनेको संख्या कम छ भने अर्कोतर्फ अन्तर्वार्तामा उपस्थित संख्या झनै न्यून छ । यसले सरकारी जागिरमा नर्सिङ जनशक्तिको आकर्षण घटेको देखाउँछ । नेपाल नर्सिङ परिषद्का अनुसार नेपालबाट हालसम्म विभिन्न माध्यमबाट २५ हजारभन्दा बढी नर्स विदेश गइसकेका छन् । हरेक वर्ष नेपालमा ६ हजार ५ सय हाराहारीमा नर्स र अनमी उत्पादन हुन्छन् । यसरी विदेशिने नर्सको संख्या हेर्दा निकट भविष्यमा विदेशबाट नर्स ल्याउनुपर्ने अवस्था आउने त होइन ?

देशको स्वास्थ्य नीतिमा आधारभूत तहबाट नै बालबालिकालाई सामान्य प्राथमिक उपचारलगायत नर्सिङ शिक्षा दिन जरुरी बताइन्छ । तापनि नर्सिङ सेवालाई मजबुत बनाउन राज्यले यस क्षेत्रमा लगानी बढाई स्वास्थ्य सेवालाई आम नागरिकका सामु सर्वसुलभ बनाउनेतर्फ किन सोच्दैन ? हजारौं नर्सले विदेशमा काम गरेर देशको इज्जत धानेका छन् । सीपयुक्त उच्च जनशक्तिका रूपमा काम गर्नु, आफ्नो भविष्य सुरक्षित गर्न खोज्नु अस्वाभाविक होइन । हरेक व्यक्तिको चासो, सरोकार, आवश्यकता प्राथमिकता फरकफरक हुन सक्छन् । स्वदेशमा गुणस्तरीय नर्सिङ सेवा दिनेतर्फ सरकारले ध्यान दिनुपर्छ । यसका लागि बिरामीको अनुपातमा आवश्यक नर्स आपूर्तिका लागि नयाँ दरबन्दी सिर्जना गरी उचित सुविधाका साथ काममा लगाई स्वदेशमै टिकाइराख्ने रणनीति लिनुपर्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०३० सम्म नेपालमा ८१ हजार ३ सय ६० नर्स आवश्यक पर्ने जनशक्तिसम्बन्धी राष्ट्रिय रणनीतिक मार्गचित्रमा उल्लेख गरेको छ । यसअनुसार भविष्यमा बढीभन्दा बढी नर्सिङ जनशक्ति उत्पादनमा जोड दिई उचित सुविधाका साथ देशमै खपत गर्नु अबको आवश्यकता हो । अन्यथा संविधानमा उल्लिखित प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्यसम्बन्धी सेवा निःशुल्क प्राप्त हुने हक हनन हुन बेर लाग्ने छैन ।

– बस्नेत पोखरा नर्सिङ क्याम्पसकी कर्मचारी हुन् ।

प्रकाशित : भाद्र १२, २०८१ ०६:५६
x
×