कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९१

संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छः सभापति देउवा

आश्विन ३, २०८१
संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छः सभापति देउवा

काठमाडौँ — कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हकअधिकार सुनिश्चित गरेको उल्लेख गरेका छन् । 

संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै सभापति देउवाले कांग्रेसको नेतृत्वमा जननिर्वाचित प्रतिनिधिद्वारा विसं २०७२ असोज ३ गते संविधानसभाबाट पारित भई घोषणा भएको नेपालको संविधान लामो र सङ्घर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।

'यो संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हकअधिकार सुनिश्चित गरेको छ । संविधान जारी भएको यो ऐतिहासिक दिनलाई हामी सबैले गौरवका साथ स्मरण गर्दै हरेक वर्ष संविधान दिवसका रूपमा मनाउँदै आएका छौँ,' सभापति देउवाले शुभकामना सन्देशमा भनेका छन् ।

संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने उनको विश्वास छ । आजको यस घडीमा संविधानको सफलतासँगै देशको समुन्नतिलाई सुनिश्चित गर्ने सङ्कल्प जरूरी रहेको सभापति देउवाको भनाइ छ ।

प्रकाशित : आश्विन ३, २०८१ ०७:२३
x
×