कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

संविधानविरोधी 'अवाञ्छित गतिविधि' गर्नेहरूको निगरानीका लागि गोप्रो क्यामेरासहित प्रहरी परिचालन

आश्विन ३, २०८१
संविधानविरोधी 'अवाञ्छित गतिविधि' गर्नेहरूको निगरानीका लागि गोप्रो क्यामेरासहित प्रहरी परिचालन

काठमाडौँ — संविधानविरोधी भड्काउ अभिव्यक्ति दिएर उक्साउने व्यक्ति तथा समूहहरूको प्रहरीले कडा निगरानी गरिरहेको छ । सामाजिक सञ्जाल, युट्युबलगायतका विभिन्न माध्यम प्रयोग गरी शान्ति सुरक्षालाई खलल पुर्‍याउने  गतिविधिमा संलग्नमाथि निगरानी गर्न काठमाडौं उपत्यकामा ३ हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ । 

संविधान दिवस तथा राष्ट्रिय दिवसका दिन 'अवाञ्छित गतिविधि' रोक्नकै लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कमान्ड सेन्टर स्थापना गरिएको छ ।

संविधानको विरोध गर्ने नाममा जनतालाई भड्काउनेको निगरानी गर्न सादा सादा पोसाकका प्रहरीलाई गोप्रो क्यामेरासहित खटाइएको छ । काठमाडौंमा कम्तीमा ६०, ललितपुरमा १३ र भक्तपुरमा १० जना प्रहरीलाई गोप्रो क्यामेरासहित सादा पोसाकमा खटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख आईजी किरण बज्राचार्यले बताइन् ।

'शान्ति सुरक्षालाई खलल पार्ने सामाजिक सञ्जाल र युट्युबलगायतका माध्यम प्रयोग गरेर कानुन कार्यान्वयनमा अवरोध पुर्‍याउने व्यक्ति तथा समूहको निगरानीमा आवश्यक सुरक्षाकर्मीलाई फिल्डमा तैनाथ गरिएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसलाई मनाउन अवरोध गर्नेहरू निगरानीमा छन्,' उनले भनिन् । काठमाडौं उपत्यका छिर्ने सबै नाकामा कडा निगरानी गरिएको समेत प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ३, २०८१ ०९:२३
x
×