कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

दाङ र काठमाडौंका सामुदायिक विद्यालय उत्कृष्ट

आश्विन २, २०८१
दाङ र काठमाडौंका सामुदायिक विद्यालय उत्कृष्ट

काठमाडौँ — राष्ट्रिय शिक्षा दिवसका अवसरमा दाङको तुलसीपुर उपमहानगरपालिकास्थित श्री मावि तुलसीपुर सेन्टरले ३ लाख नगदसहित प्रथम पुरस्कार पाएको छ । २०८० सालको माध्यमिक शिक्षा परीक्षामा प्राप्त गरेको नतिजाको आधारमा उक्त विद्यालय देशभरमा प्रथम भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

काठमाडौं महानगरपालिका त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविले दुई लाखसहित दोस्रो पुरस्कार प्राप्त गरेको छ । दाङकै जनकल्याण मावि शान्तिनगर तृतीय भएको छ । उक्त विद्यालयलाई १ लाख नगद पुरस्कार प्रदान गरिएको छ ।

निजी विद्यालयतर्फ काठमाडौं टोखाको फलोसेन्ट मावि प्रथम, विजेश्वरी ज्ञान मन्दिर सैनिक विद्यालय काठमाडौं १५ दोस्रो र बुढानीलकण्ठ स्कुल तेस्रो भएको शिक्षा मन्त्रालयले जनाएको छ । उनीहरूले पनि क्रमःश ३, २ र १ लाख नगद पुरस्कार पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बुधबार काठमाडौंमा शिक्षा दिवस मनाइँदैछ ।

उत्कृष्ट विद्यालयलाई प्रधानमन्त्री ओलीले पुरस्कार प्रदान गर्ने मन्त्रालयका प्रवक्ता कमल पोखरलेलले जनाए । विश्वविद्यालय अनुदान आयोगले गरेको मूल्याङ्कनको आधारमा पोखरा विश्वविद्यालयअन्तर्गतको श्री स्कुल अफ बिजनेस कास्की आंगिक क्याम्पस मध्ये उत्कृष्ट ठहरिएको छ । क्याम्पसले साढे दुई लाख नगद पुरस्कार प्राप्त गरेको शिक्षा मन्त्रालयले जनाएको छ । सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस मध्ये ललितपुरस्थित चापागाँउको जनभावना क्याम्पस उत्कृष्ट भएको छ ।

त्रिभुवन विश्वविद्यालय अर्न्तगतको उक्त क्याम्पसले पनि साढे २ लाख नै पुरस्कार पाएको छ । निजीतर्फ त्रिविकै मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्स सोल्टीबोट राष्ट्रिय स्तरमा उत्कृष्ट भई पुरस्कार पाएको छ ।

प्राविधिक शिक्षालयतर्फ नेपाल बनेपा बहुप्राविधिक शिक्षालय काभ्रे, तुलसीपुर पोलिटेक्निक इन्स्टिच्युट दाङ, जनता माध्यमिक विद्यालय कपिलवस्तु र नेपाल आर्मी कलेज अफ हेल्थ साइन्स काठमाडौं उत्कृष्ट भएका छन् । उनीहरूले जनही १/१ लाख पुरस्कार पाएका छन् । दुई लाखको समाज कल्याण पुरस्कार श्री युवा क्रियाकलाप उत्थान केन्द्र कागेश्वरी मनोहरा काठमाडौं र श्री सि. आशा फाउन्डेसन ललितपुरलाई प्रदान गरिएको मन्त्रालयले जनाएको छ । सडक बालबालिका, एचआईभी एड्सका संक्रमित, विपन्न, अनाथ, अशक्त असहाय बालबालिकालाई पालनपोषणसहित शिक्षा प्रदान गर्दै आएकोमा ती संस्थालाई नगद २/२ लाखसहित पुरस्कृत गरिएको हो ।

शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पूर्‍याएका त्रिभुवन विश्वविद्यालय, संस्कृत, काठमाडौं, पोखरा, पूर्वाञ्चल, सुदूरपश्चिम, मध्यपश्चिम विश्वविद्यालयका २५ जना अध्यापक तथा कर्मचारीलाई पुरस्कृत गरिएको छ । प्राविधिक शिक्षालयका ५ जना प्रशिक्षक कर्मचारी पनि पुरस्कृत भएको शिक्षा मन्त्रालयले जनाएको छ । सामुदायिक र निजी विद्यालयका शिक्षकहरु पनि पुरस्कृत भएका छन् । विद्यालय कर्मचारी व्यवस्थापन समितिका पदाधिकारी, बालबिकासका सहजकर्ता शिक्षकलाई पनि पुरस्कृत गरिएको छ ।

यस वर्ष दिवसका अवसरमा नेपाल विद्याभूषण पदक क बाट २६४ जना, विद्याभूषण पदक ख बाट ३५ र ग बाट २१ ज्ना विभूषित भएका मन्त्रालयले जनाएको छ । उनीहरूलाई पदक र प्रमाणपत्र भने पछि वितरण गरिने बताइएको छ । नेपाल छात्रापदकबाट १५ जना विभूति भएको शिक्षा मन्त्रालयका उपसचिव रामप्रसाद शर्माले जनाए । विभिन्न तह र विषयका परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्राहरुलाई छात्रा पदक वितरण हुँदै आएको छ ।

प्रकाशित : आश्विन २, २०८१ १२:०४
x
×