कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

कांग्रेस उपसभापति धनराज गुरुङमाथि पनि छानबिन गर्न पत्राचार गर्ने संसदीय छानबिन समितिको तयारी 

भाद्र ३१, २०८१
कांग्रेस उपसभापति धनराज गुरुङमाथि पनि छानबिन गर्न पत्राचार गर्ने संसदीय छानबिन समितिको तयारी 

काठमाडौँ — सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित मुछिएका सहकारी ठगीबारे प्रतिवेदन तयार पारिरहेका बेला कांग्रेस उपसभापति धनराज गुरुङ पनि ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १४ करोड रुपैयाँ अपचलनमा उनकी तत्कालीन श्रीमतीसहित मुछिएका छन् ।

सहकारी संस्थाका सञ्चालकबाटै उजुरी परेपछि संसदीय छानबिन विशेष समितिले सहकारीको स्थलगत अध्ययन गरेको थियो । उनीमाथि पनि अनुसन्धान गर्न समितिले राज्यका निकायलाई लेखी पठाउने भएको छ ।

‘यो विषय पनि गम्भीर छ, खासमा धनराज र श्रीमतीबीच भएको सम्बन्धविच्छेदको उद्देश्यमाथि पनि प्रश्न उठेको छ । तर, संसदीय छानबिन समिति गठन हुँदा मितेरी सहकारीको विषय नउठेकाले कार्यादेश (टीओआर) र अनुसूचीमा यो सहकारीको नाम छैन । यद्यपि, राज्यका निकायलाई अनुसन्धानका लागि लेखी पठाउने कुरा भएको छ,’ एक सदस्यले भने ।

धनराजकी श्रीमती ज्योति सहकारीको महाप्रबन्धक रहेकै बेलामा सहकारीको बचत अपचलन भएको सञ्चालकहरूको भनाइ छ । छानबिन समितिका सभापति थापा र सदस्यहरू बिहीबार स्थलगत अध्ययनमा जाँदा सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको कानुनी दायित्वबाट बच्नका लागि मात्रै धनराजले कागजी सम्बन्धविच्छेद गरेको दाबी गरेका थिए । त्यसलाई पुष्टि गर्ने कागजपत्रसमेत उनले समितिलाई बुझाएका छन् ।

धनराज दम्पतीले २०७६ फागुन २९ मा अदालतबाट सम्बन्धविच्छेद गरेका थिए । तर, २०७७ फागुन ३ मा मितेरी सहकारीबाटै १२ लाख रुपैयाँ ऋण लिँदा धनराजले हकवालाका नाममा ज्योतिकै नाम लेखेका थिए ।

प्रकाशित : भाद्र ३१, २०८१ ०५:३९
x
×