कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

संसद्को अवरोध हट्यो, प्रधानमन्त्रीलाई माओवादीले सम्बोधन गर्न दिने 

भाद्र ३१, २०८१
संसद्को अवरोध हट्यो, प्रधानमन्त्रीलाई माओवादीले सम्बोधन गर्न दिने 

काठमाडौँ — नेकपा माओवादी केन्द्रले सोमबार प्रतिनिधिसभा बैठकमा अवरोध नगर्ने भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक अघि बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा मा‌ओवादीले अवरोध हटाउने बताएको हो । 

सभामुख घिमिरेको सचिवालयका अनुसार माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र संघ भ्रमणमा जाने विषयमा गर्ने सम्बोधनलाई अवरोध नगर्ने बताएका हुन् ।

यसअघि प्रतिनिधिसभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले माओवादी युद्धलाई 'हिंसा' भनेकोमा भने आफूहरूको आपत्ति कायमै रहेको प्रमुख सचेतक पाण्डेले बताएका छन् । पाण्डेको भनाइ उद्धृत गर्दै सभामुखको सचिवालयले भन्यो, 'हामी हिंसा शब्द हटाउनुपर्छ भन्ने पक्षमा छौँ तर प्रधानमन्त्री विदेश जाने विषयमा सदनमा बोल्न अवरोध गर्दैनौँ । सभामुखको विरोधमा छैनौँ । हामी आफ्ना कुरा राखेर अवरोध हटाउँछौँ ।'

प्रधानमन्त्री ओलीको सम्बोधन र सहकारी ठगीमा संसदीय विशेष छानबिन समितिको प्रतिवेदन पेस भएपछि संघीय संसद्‍को चालु अधिवेशन आजैदेखि अन्त्य हुँदैछ । संघीय संसद्को चालु अधिवेशन सोमबार मध्यरातदेखि अन्त्य गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ ।

आइतबारको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि दुवै संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रकाशित : भाद्र ३१, २०८१ १२:४७
x
×