कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

उपसभामुखबारे प्रधानमन्त्रीको टिप्पणी : 'संसद्‌मा प्रस्ताव नै नआएको विषयलाई अनावश्यक उचालियो'

भाद्र ३१, २०८१
उपसभामुखबारे प्रधानमन्त्रीको टिप्पणी : 'संसद्‌मा प्रस्ताव नै नआएको विषयलाई अनावश्यक उचालियो'

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउन लागेको भनेर अनावश्यक रुपमा उचालिएको बताएका छन् । संसद्‌मा प्रस्ताव नै नआएको र छलफल पनि नभएको विषयलाई उचालेर ठूलो हल्लाखल्ला गरिएको भन्दै उनले आश्चर्य प्रकट गरे । 

उपसभामुख रानामगरलाई हटाउने विषयमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुबीच चर्काचर्की नै भएको थियो । प्रधानमन्त्री ओलीले सोही विषय सोमबारको प्रतिनिधिसभा बैठकमा उल्लेख गर्दै प्रस्ताव नै नआएको विषयमा कसरी छलफल भयो भनेर प्रश्न गरे ।

उनले भने, ‘म सम्मानीय सभामुखमार्फत सबैलाई भन्न चाहन्छु–उठ्दै नउठेका कुराहरुमा, प्रस्तावै नआएका कुराहरुमा छलफल कसरी चलेको हो ? त्यो मैले बुझेको छैन । प्रस्ताव पनि आएको छैन, त्यस्तो तयारी पनि भएको छैन । कसैले विषय उठान नै गरेको छैन । उठाननै नगरेका विषयमा उत्पातै भयो यहाँ त । म त हेरिराखेको थिएँ– के भएको होला ? उठाएकै छैन ।'

प्रधानमन्त्री ओलीले स‌ंसद्‌मा प्रश्न गर्न र बोल्न पाइने भएपनि गालीगलौजको तहमा उत्रिएर प्रस्तुत हुनु गलत भएको बताए । 'हामी एउटा बोलौँ ठिक छ । आलोचना गरौँ । तर भाषाको सीमा हुन्छ । हामी सभ्य नेपाली समाजका छानिएका सभ्य प्रतिनिधिहरु हौँ । हाम्रा क्रियाकलापमा, बोली व्यवहारमा, समाजले एउटा नमूनाको रुपमा खोज्ला नि ? आफ्नो शिष्टताको, सभ्यताको, मर्यादाको प्रतिविम्व सांसदहरुबाट आयो भन्ने ठान्नुपर्ला जनताले,' ओलीले भने ।

प्रधानमन्त्री ओलीले सांसदहरुका सामाजिक क्रियाकलापको प्रभाव समाजमा पर्ने भएकाले ख्याल गरेर अघि बढ्नुपर्ने बताए।

प्रकाशित : भाद्र ३१, २०८१ १७:०७
x
×