कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

स्वास्थ्य कर्मचारी व्यवस्थापनसम्बन्धी आठबुँदे प्रस्ताव स्वीकृत

भाद्र ३१, २०८१
स्वास्थ्य कर्मचारी व्यवस्थापनसम्बन्धी आठबुँदे प्रस्ताव स्वीकृत

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेस गरेको कर्मचारी व्यवस्थापनसम्बन्धी आठबुँदे प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । प्रस्ताव स्वीकृतिसँगै संघ, प्रदेश र स्थानीय तहमा देखिएको स्वास्थ्य क्षेत्रका कर्मचारीको व्यवस्थापनसम्बन्धी समस्या समाधान हुने भएको छ । 

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले कर्मचारी समायोजन ऐन २०७५ को दफा २८ अनुसार स्वास्थ्यकर्मी व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आठबुँदे प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । उक्त प्रस्ताव पारित गर्दै मन्त्रिपरिषद्ले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीको समायोजनसम्बन्धी प्रक्रिया अघि बढाउन अनुमति प्रदान गरेको छ ।

फाजिलमा रहेका, दरबन्दी नभएका तहमा समायोजन भएका तथा दरबन्दीभन्दा बढी समायोजन भएका स्वास्थ्यकर्मीलाई यसै आर्थिक वर्षभित्र सम्बन्धित प्रदेश वा स्थानीय तहको रिक्त दरबन्दीमा समायोजन गरिने भएको छ । प्रदेश र स्थानीय तहमा समायोजन भएका तर सो समयमा पत्र जारी हुन बाँकी स्वास्थ्यकर्मीका हकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन पत्र जारी गर्ने भएको छ ।

संघमा समायोजन भएका चिकित्सक र मेडिकल बोर्डको सिफारिसमा संघको पुलमा समायोजन भएका स्वास्थ्यकर्मीलाई पनि प्राथमिकता दिँदै रिक्त दरबन्दीमा व्यवस्थापन गरिने भएको छ ।

प्रकाशित : भाद्र ३१, २०८१ ०५:४८
x
×