कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

माओवादीको अवरोधले बस्न सकेन प्रतिनिधिसभा बैठक

भाद्र ३०, २०८१
माओवादीको अवरोधले बस्न सकेन प्रतिनिधिसभा बैठक

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको अवरोधका कारण आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन । दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभामुख देवराज घिमिरेले दिउँसो ३:१५ का लागि सारेका थिए । तर, संसद् सञ्चालनको वातावरण नबनेपछि अपराह्न ४ बजेसम्म पनि बैठक बस्न सकेको छैन ।

संसद्‌मा एमाले सांसद योगेश भट्टराईले माओवादी सशस्त्र द्वन्द्वलाई ‘हिंसा’ भनेपछि उक्त शब्द असंसदीय रहेको भन्दै माओवादीले रेकर्डबाट हटाउनुपर्ने माग गर्दै आएको छ ।

भदौ १२ गतेको बैठकमा एमाले सचिव भट्टराईले यस्तो शब्द प्रयोग गरेका थिए । त्यही दिन माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाउँदै ‘हिंसा’ शब्द असंसदीय रहेको दाबी गर्दै रेकर्डबाट हटाउनुपर्ने माग गरेका थिए ।

भट्टराईले सो शब्द प्रयोग गरेका सम्बन्धमा सभामुख घिमिरेले छानबिनपछि भदौ २६ गतेको प्रतिनिधिसभा बैठकमा ‘माओवादी हिंसा’ भन्नु असंसदीय नरहेको ठहर भएको भन्दै रुलिङ गरेका थिए । त्यसयता माओवादीले संसद्‌मा निरन्तर अवरोध गर्दै आएको छ ।

आइतबार बोलाइएको संसद् बैठकअघि संसद् सञ्चालनको वातावरण बनाउन सभामुख घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका थिए । तर सहमति जुट्न सकेन । लगत्तै माओवादीको अनौपचारिक रुपमा बसेको संसदीय दलको बैठकले सभामुखले गरेको रुलिङ फिर्ता नभएसम्म संसद्‌मा अवरोध कायमै राख्ने निर्णय गरेको थियो । अहिले फेरि सभामुख र प्रमुख सचेतकहरूबीच छलफल भइरहेको छ ।

माओवादीको अवरोधपछि सभामुख घिमिरेले उक्त विषयमा छानबिन गर्न संसद् सचिवालयलाई निर्देशन दिएका थिए । आइतबारको छलफलमा सभामुख घिमिरेले आफूले संसद् सचिवालयको अध्ययनसहितको राय, संविधान, कानुन, अभ्यास समेतका आधारमा निर्णय लिएको बताएका थिए । सभामुखको रुलिङ मानेर संसद्‌मा अवरोध नगर्न आग्रह गरेका थिए ।

माओवादी केन्द्रले पार्टीको निर्णयबाट पछि हट्न नसकिने भन्दै अडान लिँदै आएको छ । दुवै पक्षको अडानका कारण संसद् बैठक प्रभावित भएको हो । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने सभामुखको रुलिङका विरुद्धमा जाने छुट सांसदहरुलाई नरहेको बताएका छन् । सभामुख घिमिरेसँगको प्रमुख सचेतकहरुको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले माओवादी केन्द्रका सांसदहरुले सभामुख घिमिरेले रुलिङ गरिसकेको विषयलाई लिएर संसद् अवरुद्ध गर्ने भनिरहेकामा सभामुखको रुलिङ नमान्ने अधिकार नरहेको बताए ।

माओवादी पार्टीले भने सभामुख घिमिरे एकपक्षीय बनेको भन्दै त्यस्तो नगर्न आग्रह गर्दै आएको छ ।

प्रकाशित : भाद्र ३०, २०८१ १५:५७
×