कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

प्रतिनिधिसभा बैठक सोमबार १ बजेसम्मका लागि स्थगित

भाद्र ३०, २०८१
प्रतिनिधिसभा बैठक सोमबार १ बजेसम्मका लागि स्थगित

काठमाडौँ — प्रतिनिधिसभाको आजका लागि तोकिएको बैठक स्थगन भएको छ । अपराह्न १ बजेका लागि निर्धारित बैठक विशेष कारणले बस्न नसक्ने भएकाले अर्को बैठक भोलि अपराह्न १ बजे बस्ने गरी तय भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

आजै अपराह्न १ बजे तोकिएको बैठक बस्न नसक्ने भएपछि सचिवालयले आजै अपराह्न ३:१५ बजे बस्ने गरी निर्धारण गरेको थियो । यसबीचमा दलहरुबीच सहमति जुट्न नसकेपछि बैठक भोलिका लागि तोकिएको हो ।

प्रतिनिधिसभाको यसअघिको बैठकमा ‘तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा सञ्चालित सशस्त्र संघर्षलाई सत्तारुढ नेकपा (एमाले)का सांसदले ‘हिंसा’का रुपमा टिप्पणी गरी असंवैधानिक शब्द प्रयोग गरेको’ भन्दै माओवादीले यसअघिको संसद् बैठक अवरुद्ध गरेको थियो ।

माओवादी केन्द्रले संसद् बैठकमा प्रस्तुत भएको ‘माओवादी हिंसा’ भन्ने शब्द संसद्को रेडर्कबाट नहटाएसम्म बैठक चल्न नदिने बताउँदै आएको छ । आइतबारका लागि निर्धारित बैठक सञ्चालन गर्ने विषयमा सभामुख देवराज घिमिरेले सिंहदरबारमा राष्ट्रिय पार्टीका प्रमुख सचेतकसँग गरेको छलफल बिनानिष्कर्ष टुंगिएको थियो ।

प्रकाशित : भाद्र ३०, २०८१ १६:४४
×