कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

माओवादी केन्द्रलाई कांग्रेसले भन्यो - 'संसद् अवरुद्ध गर्नुपर्ने कुनै कारण छैन'

भाद्र ३०, २०८१
माओवादी केन्द्रलाई कांग्रेसले भन्यो - 'संसद् अवरुद्ध गर्नुपर्ने कुनै कारण छैन'

काठमाडौँ — सत्तारुढ नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले संसद् बैठक अवरुद्ध गर्नपर्ने कुनै कारण नभएको बताएका छन् ।   

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले संसद्‌मा प्रयोग हुँदै आएको हिंसा शब्दलाई लिएर संसद् बैठक अवरुद्ध पार्ने कामलाई निरन्तरता नदिन माओवादी केन्द्रलाई आग्रह गरेका हुन् । एउटा सांसदले संसद्‌मा प्रयोग गरेको शब्दलाई कोट्याइरहनुपर्ने आवश्यकता नभएको उनको जिकिर थियो ।

उनले भने,‘संसद्‌मा सदस्यहरुले आ-आफ्नो कुरा प्रकट गर्दछन् । त्यो सबैमा सहमति भएर बोलेको कुरा हुँदैन । कुनै शब्द प्रयोग गर्दछन् । त्यसैलाई लिएर यत्रो अवरोध गरिरहनुपर्ने कुनै खण्ड थिएन । अब यी विषयमा विभिन्न चरणमा संसद्‌मा पनि, संसद् बाहिर पनि विभिन्न विशेषणहरुको प्रयोग हुन्छ । उहाँहरुले एउटा विशेषण दिनुहुन्छ । अर्को पक्षले अर्को विशेषण दिन्छ । तर, त्यसैलाई लिएर मूलभूत कुरा त जे हामी एग्री भएका छौँ, जसरी यो प्रक्रिया अगाडि बढेको छ । यो शान्ति प्रक्रिया टुंगिएर यो ठाउँमा आइपुगेका छौं । एकैठाउँमा हामी संसद्‌मा छौं । त्यसो हुनाले अब हामीले ती विषयहरुलाई कोट्याइरहनुपर्ने आवश्यक छैन ।'

प्रवक्ता महतले सहकारी काण्डमा विवादमा तानिएका सबैलाई सरकारको सम्बन्धित निकायले छानबिन गर्नुपर्ने धारणासमेत राखे । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्‌मा बोल्ने क्रममा माओवादीको सशस्त्र संघर्षलाई अपमानित गर्ने किसिमले 'माओवादी हिंसा' शब्द प्रयोग गरेपछि माओवादी केन्द्रले आपत्ति जनाउँदै आएको छ । उक्त शब्द संसद्‌का रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेसँग माओवादीको माग गरेको थियो । तर सभामुख घिमिरेले उक्त शब्दलाई असंसदीय भन्न नमिल्ने ठहर गरेपछि त्यसको विरोधमा माओवादी केन्द्रले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रवक्ता महतले भने सोही शब्दलाई अतिशयोक्तिपूर्ण ढंगले लिने र संसद् बैठक अवरुद्ध पार्न नहुने बताए । उनले शान्ति प्रक्रियालाई टुंगो लगाउने काममा सबै दलहरु एक ठाउँमा उभिएको बेला केही शब्दमाथि आपत्ति जनाउने काम आवश्यक नभएको टिप्पणी गरे ।

प्रवक्ता महतले विपक्षमा रहेको बेलामा धेरै प्रतिक्रियात्मक नबन्न र कानुन निर्माण गर्ने काममा केन्द्रित हुनुपर्ने भएकाले संसद् सञ्चालन गराउने काममा ढिलाई नगर्न पनि सचेत गराए ।

प्रकाशित : भाद्र ३०, २०८१ १८:०४
×