कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०७

उपल्लो डोल्पाबाट डा. सन्दुकले देखाएको संसार

उपल्लो डोल्पाबाट डा. सन्दुकले देखाएको संसार

Highlights

  • समुद्री सतहबाट ४३२० मिटर उचाइको हिमालफेदीमा पालभित्र ६१ जनाको आँखाको शल्यक्रिया गर्न पाउँदा डा. सन्दुक रुइत जति रोमाञ्चित देखिन्थे, आँखा देख्न पाएपछि उति नै हर्षित बिरामीहरू कोही नाच्दै थिए त कोही डा. रुइतसँग टाउको ठोकाएर खुसी साट्दै थिए

काठमाडौँ — सेतो पालमाथि कालो प्लास्टिक ओढाइएको अस्थायी टहरो । बाँयापट्टि करिब ८०४ वर्ष पुरानो शे–गुम्बा । त्यसको तल शे–खोला र अगाडि क्रिस्टल हिमाल । समुद्र सतहबाट ४३२० मिटर उचाइमा सिमसिम बर्सिरहेको पानी र चिसो सिरेटोबाट छेकिएर पालभित्र वरिष्ठ नेत्र शल्यचिकित्सक डा. सन्दुक रुइत आँखामा हुने मोतियाबिन्दुको शल्यक्रिया गरिरहेका थिए ।

हजारौं आँखा शिविर गरिसकेका डा. रुइतको टोलीले यति धेरै उचाइमा पुगेर मोतियाबिन्दुको शल्यक्रिया गरेको यो पहिलो थियो ।

१२ वर्षे शे–डुग्ड्रा महोत्सवका अवसर पारेर तिलगंगा आँखा प्रतिष्ठानले शे–फोक्सुन्डो गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका र छार्कातोङसोङ गाउँपालिकासँगको सहकार्यमा भदौ १६ देखि १८ सम्म आँखा शिविर गरेको थियो । शिविरमा ६१ जनाको मोतियाबिन्दुको शल्यक्रिया भयो । शिविर सञ्चालन हुनु केही साता अघिदेखि नै डोल्पा जिल्लाका सबै पालिकामा आँखा अस्पतालको टोली पुगेर मोतियाबिन्दुको समस्या पत्ता लगाउन स्क्रिनिङ कार्यक्रम सञ्चालन गरेको थियो । १२ सय ९२ महिला र एक हजार ८३ पुरुष गरी कुल २३ सय ७५ जनाको स्क्रिनिङ गर्दा आँखा शिविरमा शल्यक्रिया गर्न मिल्ने ६१ जना मोतियाबिन्दुका बिरामी फेला परेका थिए ।


शे–डुग्ड्रा मेलामा आँखा शिविर सञ्चालन गर्नका लागि तिलगंगा आँखा प्रतिष्ठानको टोली दुनैबाट ६ दिन हिँडेर शे–गुम्बा पुगेको थियो । शिविर सञ्चालनका लागि आवश्यक अधिकांश सामग्री खच्चडलाई बोकाएर शे–फोक्सुन्डो माथिको भीर बाटो हुँदै ५४०० मिटर उचाइमा रहेको काङ्ला पास गरेर टोली गुम्बा झरेको थियो । डा. रुइतलाई भने दुनैबाट फोक्सुन्डो हुँदै हेलिकोप्टरमा गुम्बा पुर्‍याइएको थियो । मूल मेला आयोजना हुने दिन आसपास मौसम बिग्रिएका कारण आँखा अस्पतालको टोली गुम्बा पुगे पनि डा. रुइत आइपुग्ने/नपुग्नेमा दोधार नै थियो । केही घण्टाका लागि अचानक पानी रोकिएर आकाश उघ्रिएपछि उनी सवार हेलिकोप्टर शे–खोलाको किनारमा बनाइएको हेलिप्याडमा अवतरण गर्न सफल भएको थियो ।

अनेकौं कठिनाइका बीच पहिलो दिनको शिविर ढिलो गरी सुरु भयो । काठमाडौंबाट लगेको जेनेरेटरले त्यो उचाइमा पुगेर धोका दिएपछि एक दिन पैदल यात्रा टाढाको साल्दाङबाट अर्को जेनेरेटर मगाउनुपरेको थियो । त्योसँगै गुम्बामा जडान गरिएको सोलार प्लानललाई प्रयोग गरेर शल्यक्रिया कक्षलाई सञ्चालन योग्य बनाउन प्राविधिक टोलीलाई हम्मेहम्मे पर्‍यो ।


सबै तयारी सकिएपछि डा. रुइत र उनका सहयोगीले चिसो पानीका साथ साबुनपानीले स्क्रबिङ गरी शल्यक्रिया सुरु गर्दा पहिलो दिन दिउँसोको २ बजिसकेको थियो । बेलुका ५ बजेसम्म २७ जनाको शल्यक्रिया भयो । दोस्रो दिन भने बिहान ११ बजेबाटै शल्यक्रिया थालियो । त्यस दिन ३२ जनाको शल्यक्रिया भयो भने शिविरको अन्तिम दिन २ जनाको मात्रै शल्यक्रिया गरिएको थियो । शिविरमा शल्यक्रिया गरिएकामध्ये तीन जनाको दुवै आँखाको एकैपटक शल्यक्रिया गरिएको थियो । अन्यको एउटा मात्र आँखाको शल्यक्रिया भएको थियो ।

दुवै आँखा शल्यक्रिया गरिएकामध्ये गुम्बाबाट केही घण्टाको दूरीमा पर्ने नाम्दोका ७९ वर्षीय धारग्याल एक हुन् । उनले २ वर्षदेखि आँखा देख्न छोडेका थिए । मोतियाबिन्दुले पूरै आँखा ढाकेका उनी एक्लै घरभित्रबाहिर गर्न पनि नसक्ने अवस्थामा स्क्रिनिङ टोलीले फेला पारेको थियो । उनले बुढेसकालमा फेरि आँखा देख्ने आशा मारिसकेको बताउँदै थिए । उनलाई छोराले घोडामा चढाएर शल्यक्रिया गराउन मेलास्थलमा ल्याएका थिए । यस्तै, ७४ वर्षीया छिरिङ पाल्जोमको पनि दुवै आँखा ढाकेको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो । उनी पनि नाम्दोबाट नातिनीको हात समातेर आएकी थिइन् ।


डोल्पाको तिलिङकी ५६ वर्षीया जोम्पा ३ वर्षदेखि करिब करिब दृष्टिविहीन थिइन् । एक्कासि आँखा कम देख्न थालेपछि के कसो भन्ने उनलाई केही भेउ थिएन । आँखा परीक्षणका क्रममा उनको दुवै आँखामा मोतियाबिन्दु भएको पत्ता लागेको थियो । शे–गुम्बाबाट एक दिनको बाटोमा रहेको तिलिङबाट उनी छोराले डोर्‍याएको घोडा चढेर आएकी थिइन् । धारग्याल, छिरिङ र जोम्पाजस्तै अन्य बूढा–बूढी र वयस्कहरू आँखाको ज्योति फिर्ता पाउने आशमा आफ्नो गाउँबाट ५–६ दिन लगाएर हिँडेर र घोडा चढेर मेलास्थल शे–गुम्बामा आइपुगेका थिए ।


डा. रुइतले अघिल्लो दिन शल्यक्रिया गरेका बिरामीको भोलिपल्ट आँखाको पट्टी खोल्दा क्रिस्टल हिमालको फेदीमा सिमसिमे पानीसँगै खुसीको पनि वर्षात् भइरहेको थियो । डा. रुइत बिरामीको हर्षमा हाँसो थप्दै कहिले आफ्नो नाक समाउन भन्थे त कहिले कान । बिरामीहरू पनि नअल्मलिकन उनले भनेजस्तो गर्दा शान्त गुम्बा परिसर हाँसोले गुन्जिन्थ्यो ।


शल्यक्रिया पछि एउटा पनि बिरामीमा कुनै समस्या देखा नपर्दा डा रुइतको अनुहारमा छुट्टै चमक देखिन्यो । संसारको कुनै पनि ठुलो अस्पातलमा गरेको शल्यक्रिया भन्दा काम छैन भनेर सहकर्मी डाक्टरलाई उनी गर्वका साथ भन्दै थिए । हुन पनि किन नहोस्, बिरामी सबैका आँखामा छुट्टै चमक देखिन्थ्यो । कसैले गीत गाएर, कसैले नाचेर, त कसैले डा रुइतको टाउकोसँग टाउको ठोकाएर सम्मान ब्यक्त गरेका थिए ।









प्रकाशित : भाद्र २९, २०८१ ०५:३८
×