कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

एमाले सचिवालय बैठक : उपसभामुख रानामगरबारे निर्णय गर्ने जिम्मा संसदीय दललाई

भाद्र २८, २०८१
एमाले सचिवालय बैठक : उपसभामुख रानामगरबारे निर्णय गर्ने जिम्मा संसदीय दललाई

काठमाडौँ — सत्तारुढ एमालेले उपसभामुख इन्दिरा रानामगरले पदीय मर्यादाविपरीत काम गरेको सन्दर्भमा निर्णय गर्ने जिम्मा संसदीय दललाई दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय ललितपुर च्यासलमा शुक्रबार बसेको सचिवालय बैठकमा उपसभामुखमाथि उठेका प्रश्नबारे छलफल भए पनि निष्कर्षमा नपुगेको जनाएको छ । महासचिव शंकर पोखरेलले संसदको मामला भएकाले दलले गर्ने निर्णयमा समर्थन हुने बताए ।

‘उठेका प्रश्नमा उपसभामुख आफैले स्पष्ट गर्नुपर्छ । यदि सत्य हुन् भने उहाँ त्यो पदका लागि उपयुक्त होइन भन्ने स्पष्टै छ । के गर्ने भन्ने निष्कर्षमा पुगेका छैनौं,’ उनले बैठकपछि संवाददातासँग भने, ‘संसद्‌को मामिला कुरा हो । संसद्‌मा संसदीय दलले गर्ने काममा पार्टीको पूर्ण समर्थन रहन्छ ।’

उनले सरकारको समीक्षा गर्ने बेला नभएको भन्दै सत्तारुढ दलको साझा कार्यक्रम बनाउन केन्द्रित रहेको बताए । ‘सरकारको कामको समीक्षा सुरु गर्ने बेला भएको छैन । यद्यपि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि जनतामा आशा जागेको पार्टीको मूल्यांकन छ,’ उनले भने, 'सत्तापक्ष राजनीतिक दलबीच सम्बन्ध घनिष्ट बनाउने र साझा न्यूनतम कार्यक्रम बनाउने काम सुरु भएको छ ।'

प्रकाशित : भाद्र २८, २०८१ १८:१६
×