कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

जिप दुर्घटना : गाउँपालिका उपाध्यक्षसहित ३ जनाकै सनाखत

भाद्र २८, २०८१
जिप दुर्घटना : गाउँपालिका उपाध्यक्षसहित ३ जनाकै सनाखत

बागलङ — काठमाडौंदेखि पूर्वी रुकुम तर्फ गइरहेको सरकारी जिप मध्यपहाडी लोकमार्गमा दुर्घटना हुँदा पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीनजनाको मृत्यु भएको छ । 

शुक्रबार बिहान भएको दुर्घटनामा बुढाकी आमा ६१ वर्षीया गोपीमाया बुढा र वडा नं २ का अध्यक्ष जसबीर सिर्पालीको निधन भएको हो । घटनामा गलकोट नगरपालिका वडा नं २ को भुंखानीमा रा १ झ २०० नम्बरको पिकअप सडकदेखि ३ सय मिटर तल खसेको थियो । स्थानीयले १० बजेमात्रै देखेपछि प्रहरीमा खबर गरेका थिए ।

जनप्रतिनिधिसहित पुगेको प्रहरीले तत्काल उद्धार गरेर घाइतेलाई उपचारमा पठाएको प्रहरी निरीक्षक प्रताप पौडेलले बताए । घटनामा गम्भीर घाइते भएका चालक २९ वर्षीय प्रेमबहादुर पुनको धौलागिरि अस्पतालमा सिटिस्क्यान गरेपछि थप उपचारका लागि पोखरा पठाइएको छ ।

गलकोट नगरपालिका वडा नं २ का वडा अध्यक्ष हेमन्त भण्डारी नेतृत्वमा घटनास्थलको उद्धारमा पुगेको टोलीले परिचयपत्रको आधारमा भुपेन्द्राको पहिचान गरेको थियो । भने नागरिकताबाट गोपीमायाको पहिचान खुलेको हो । परिचय खुल्ने कागजात नभएकोले मृतक वडा अध्यक्ष सिर्पालीलाई भने चिनेजानेकाबाट पहिचान खुलेको हो । प्रहरी निरीक्षक प्रताप पौडेलले पनि परिचयपत्रकै आधारमा पहिचान खुलेको जानकारी दिए । मृतकको शव गलकोट नगर अस्पतालमा लगिएको छ ।

साताअघि उपाध्यक्ष बुढा आफ्नो दाँतको उपचार र आमाको पनि स्वास्थ्य परीक्षणका लागि काठमाडौं गएकी थिइन् । बिहीबार बिहान वडा अध्यक्ष सिर्पाली पनि भेटेर सँगै फर्किँदा घटनामा परेका हुन् । लामो यात्रा र रातभर गाडी चलाउँदा चालक थकित भएको प्रारम्भिक अनुसन्धानले देखिएको प्रहरीको भनाइ छ । कार्यपालिकाको बैठकको तयारी गर्नु परेकोले उपाध्यक्ष हतारमा रहेकोले रातभर यात्रा गरेको समेत रुकुम पूर्वका स्थानीयको समेत अनुमान छ । पछिल्लो समय बागलुङ हुँदै काठमाडौं जान थालेपछि एकैदिनमा यात्रा गर्ने गरी रुकुम र जाजरकोटसम्मका सवारीसाधनहरु मध्यपहाडीमा गुड्ने गरेका छन् । जनप्रतिनिधिले पनि बागलुङ हुँदै यात्रा गर्छन् ।

प्रकाशित : भाद्र २८, २०८१ १६:५०
×