कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

संवैधानिक परिषद्‌ बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल

भाद्र २८, २०८१
संवैधानिक परिषद्‌ बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल

काठमाडौँ — संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल भएपनि कुनै निर्णय भने भएन ।

थप छलफलका लागि भदौ ३१ गते अर्को बैठक बस्ने भएको छ । शुक्रबारको बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएपनि कुनै निर्णय नभएको उपसभामुख इन्दिरा रानामगरले जानकारी कान्तिपुरलाई जानकारी दिइन् ।

'आजको बैठकमा प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल भयो । तर कुनै निर्णय भएको छैन । फेरि छलफल गरेर अर्को बैठकमा कुराकानी गर्ने कुरा भएको छ,' उनले भनिन् ।

हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ गतेबाट अवकाशमा जाँदैछन् । प्रधानन्यायाधीश नियुक्तिका लागि न्यायपरिषद्ले ८ जना वरिष्ठतम न्यायाधीशहरूको नाम सिफारिस गरेको छ ।

वरीयताअनुसार न्यायाधीशहरू प्रकाशमान सिंह राउत, नहकुल सुवेदी, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, मनोज शर्मा र कुमार चुँडालको नाम परिषद्‌मा पुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा बसेको बैठकमा प्रधानन्यायाधीश श्रेष्ठ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल र प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर सहभागी थिए ।

प्रकाशित : भाद्र २८, २०८१ १९:२६
×