कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

यचुरीको नेपाल साइनो : नाकाबन्दीविरुद्ध भारतीय संसद्‌मा संगठित प्रतिवाद

भाद्र २७, २०८१
यचुरीको नेपाल साइनो : नाकाबन्दीविरुद्ध भारतीय संसद्‌मा संगठित प्रतिवाद

Highlights

  • यचुरी ‘नाकाबन्दीले भारतको इमेज बिग्रिएको र भारतको सबैभन्दा ठूलो ‘कूटनीतिक गल्ती’ भएको बताउँथे ।

काठमाडौँ — नेपालका राजनीतिक घटनाक्रमहरूमा भारतीय नेताहरूको चासो, प्रभाव र कतिपय अवस्थामा साथ सहयोग इतिहासदेखि चल्दै आएको छ । विभिन्न कालखण्डमा यस्ता नेताहरूको नेपालमा चर्चा र सम्झना हुने गर्छ । यस्तै मध्येका एक चर्चित भारतीय नेता थिए- भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरी ।

तीनै नेता यचुरीको बिहीबार ७२ वर्षको उमेरमा नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचारका क्रममा निधन भएको छ ।

२०६२/०६३ को जनआन्दोलनपछिको राजनीतिक संक्रमणकाल र संविधान जारीपछिको भारतीय नाकाबन्दी यी दुई कालखण्डको इतिहासमा नेपालमा सबैभन्दा बढ्ता सम्झिने पात्रमा पर्छन्, यचुरी ।

उनले नेपालका राजनीतिक घटनाक्रम र नेपाल भारतका सम्बन्धका सवालमा पटक- पटक नेपाल आवत-जावत र नेपाली नेताहरूसँगको परामर्श गर्थे । उनले भारतमा रहेर तत्कालीन संस्थापन पक्षले लगाएको नाकाबन्दीको त्यहिँ बसेर कडा प्रतिवाद गरे ।

नेपालमा समेत कतिपय नेताहरूले नाकाबन्दी भन्न अप्ठेरो मानिरहेको बेलामा उनले भारतको संसद् र सांसदहरूसमक्ष नाकाबन्दीको मुद्दालाई बहसमा ल्याएका थिए ।

उनले लोकसभामा विषेश बैठक राख्न भूमिका खेलेका थिए । लोकसभाको विशेष परामर्श बैठकमा तत्कालीन विदेशमन्त्री सुष्मा स्वराज, विदेश सचिव एस जयशंकरसहितका साउथ ब्लकका पदाधिकारीसामु येचुरीलगायत दर्जन भारतीय सांसदले नेपालसँगको चिसिँदो कूटनीतिक सम्बन्धबारे प्रश्न गरेका थिए ।

भारतले नाकाबन्दी गरेको होइन भने किन नेपालमा दैनिक जीवन अस्तव्यस्त र अभावग्रस्त छ भन्दै तत्कालीन संस्थापनलाई प्रश्न गरेका थिए ।

भारतले नाकाबन्दी हटाएपछि २०७२ मंसिर दोस्रो साता उनले कान्तिपुरलाई दिएको अन्तर्वार्तामा ‘नाकाबन्दीले भारतको इमेज बिग्रिएको र भारतको सबैभन्दा ठूलो ‘कूटनीतिक गल्ती’ भएको बताएका थिए ।

‘नेपालमाथि लगाइएको यो नाकाबन्दी भारतीय सरकारको सबैभन्दा ठूलो कूटनीतिक गल्ती हो । एकातर्फ सम्बन्ध र सहयोगको सरोकारमा ‘छिमेकी प्रथम’को नीति अघि सार्दै अर्कातिर निकटस्थ छिमेकमा नाकाबन्दीसम्मको रणनीति तय गर्नु आफैंमा विरोधले भरिएको कुरा हो । यतिखेर नेपालमाथि लगाइएको नाकाबन्दीका कारण भारतको अन्तर्राष्ट्रिय ‘इमेज’ समेत बिग्रिएको अवस्था छ’ यचुरीले भनेका थिए ।

लोकसभाभित्रको विशेष परामर्श बैठकमा तत्कालीन विदेशमन्त्री स्वराजले ‘नेपालमाथि भारतले ब्लकेड गराएको छैन, यो मधेसी समुदायले सीमानाकामा गरेको अवरोधका कारण उब्जिएको कठिनाइ हो’ भनेकी थिइन् । उक्त बैठकमा यचुरी लगायतका नेताहरूले प्रतिवाद गरेका थिए ।

‘त्यही बैठकमा हामीले ‘जुन सीमानाकामा बाधा/अवरोध छैन, त्यहाँबाट सहज सामान आपूर्ति किन नगरिएको हो ?’ भनी राखिएको जिज्ञासामा विदेशमन्त्रीले स्पष्ट जवाफ दिन सक्नुभएन’ यचुरीले कान्तिपुरसँग भनेका थिए ।

उनले भारतले नेपालमा हिन्दु राष्ट्र हटेको लगायतका विषयमा राखेको असन्तुष्टिहरूबारे पनि स्पष्ट बोलेका थिए । उनले नेपालको सार्वभौम अस्त्तित्वमाथि प्रश्न गर्ने अधिकार भारतलाई नरहेको बताएका थिए ।

‘नेपाल देशभित्रको आन्तरिक मामिला जस्तै कहिले हिन्दु राष्ट्रको कुरा, कहिले संविधान संशोधनको मुद्दामा यहाँ (दिल्ली) धेरै बहस अल्झिएको मैले देखेको छु । एउटा प्रश्न म सधैं गरिरहेको हुन्छु, एउटा सार्वभौम छिमेकीको संविधानसहितको आन्तरिक प्रक्रियामा प्रश्न गर्ने हामी को हो ? कुनै स्वतन्त्र मुलुकका बारेमा प्रश्न गरिरहने तरिका हाम्रा लागि सुहाउने कुरा हो ? नेपालबारे निर्णय नेपाल आफैंले लिन्छ । न हामीले हस्तक्षेप गर्न मिल्छ, न नचाहिँदो प्रभाव देखाउनै मिल्छ ।‘

त्यसबेला नेपालसँगको सम्बन्धकाबारेमा यचुरीले भारतीय प्रधानमन्त्रीले आफ्नो खुलापनको उदाहरण दिँदा प्रयोग गर्ने ५६ इन्च छातीको कुरा पनि गरेका थिए । नाकाबन्दीबाट चिसिएको सम्बन्ध सुधारका लागि यचुरीले भनेका थिए- ‘हाम्रा प्रधानमन्त्री मोदी सधैं ५६ इन्चको छातीको कुरा गर्नुहुन्छ । यो छाती हाम्रो सबै अर्थको सम्बन्ध सहजीकरण गर्नमा पनि सर्वस्वीकार्य बनोस् भन्ने हाम्रो कामना छ ।‘

भाकपा मार्क्सवादीका महासचिव यचुरी जनआन्दोलन सफल भएर संविधान सभाको निर्वाचन र त्यसपछिको संक्रमणकालमा पनि सहमति विकल्प लिएर नेपाल आएका थिए । पहिलो संविधानसभा निर्वाचनपछि उत्पन्न राजनीतिक अप्ठ्यारो फुकाउने सुत्र लिएर यचुरी नेपाल आएको विकिलिक्सले समेत खुलासा गरेको थियो । निर्वाचनबाट माओवादी ठूलो राजनीतिक शक्तिका रूपमा उदय भएपनि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सहज रूपमा सत्ता हस्तान्तरण गर्न अस्वीकार गरेपछि राजनीतिक संकट उत्पन्न भएको थियो । यचुरीले त्यतिखेर कोइरालालाई आलंकारिक भूमिकाको अन्तरिम राष्ट्रपतिका रूपमा स्वीकार्न माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सुझाव दिएका थिए । तर कोइरालाले राष्ट्रपति र कमान्डर इनचिफ बन्ने इच्छा यचुरीसँग प्रकट गरेका थिए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले भने कोइराला राष्ट्रपति भए उनले सेना प्रयोग गरी शक्ति बलियो बनाउन सक्ने र त्यसले द्वैध शक्ति केन्द्रको अवस्था सिर्जना गर्ने तर्क गरेको येचुरीले नेपास्थित अमेरिकी अधिकारीहरूसँग बताएको केबलमा उल्लेख थियो । यचुरीले त्यतिबेला नै कंग्रेसलाई राष्ट्रपति, माओवादीलाई प्रधानमन्त्री र एमालेलाई संविधानसभाको अध्यक्ष पद दिए राजनीतिक समीकरण सन्तुलित हुने सुझाव दाहाललाई दिएका थिए । उनले प्रधानमन्त्री पदमा दाहाल जानुभन्दा बाबुराम भट्टराईलाई पठाउन उपयुक्त हुने सुझाव दिएको पनि खुलासा भएको थियो ।

नेपालमा विशेषगरी कम्युनिस्ट खेमाका दलहरूसँग सम्बन्ध राम्रो रहेका यचुरी सन् २०१५ देखि कम्युनिस्ट पार्टीका महासचिव थिए । विद्यार्थीकालदेखि नै राजनीतिमा प्रवेश गरेका यचुरी जवाहरलाल नेहरु विश्वविद्यालयमा भारतीय विद्यार्थी महासंघ (एसएफआई)का प्रभावशाली नेता थिए । उनी इन्दिरा गान्धी शासनकालमा १९७५ देखि १९७७ सम्म लगाइएको संकटकालको समयमा नागरिक अधिकार र वामपन्थी विचारधाराको पक्षमा क्रियाशील थिए । यचुरी २००५ अगस्ट १९ देखि २०१७ अगस्ट १८ सम्म भारतको माथिल्लो सदन राज्यसभाका सदस्य थिए । भारतमा हिन्दुत्वको मुद्दा बोकेर मोदीको उदयपछि कांग्रेससमेत रक्षात्मक बनेको बेलामा हाल भारतीय लोकसभामा उनको दलका चार जना सांसद छन् ।

प्रकाशित : भाद्र २७, २०८१ १८:४०
×