कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

शुक्लाफाँटा आरक्ष पीडितको समस्या समाधान गर्न सांसद साउदको माग

भाद्र १८, २०८१
शुक्लाफाँटा आरक्ष पीडितको समस्या समाधान गर्न सांसद साउदको माग

काठमाडौँ — सत्तारुढ कांग्रेसका सांसद नारायणप्रसाद (एनपी) साउदले कञ्चनपुरको शुक्लाफाटा आरक्ष पीडितको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद साउदले ४० वर्षअघि सरकारले शुक्लाफाँटा आरक्षका लागि सर्वसाधारणको जग्गा लिएको तर क्षतिपूर्ति नदिएको बताए ।

शुक्लाफाँटा आरक्ष पीडितलाई क्षतिपूर्ति दिनका लागि गैर राजनीतिक आयोग गठन हुनुपर्ने सांसद साउदको माग थियो ।

'कञ्चनपुर जिल्लाको शुक्लाफाँटा वन्यजन्तु आरक्षको विस्तारका लागि किसानहरूको जग्गा सरकारले लिएको ४० वर्ष भइसकेको छ । ४० वर्षमा ३२ वटा आयोग गठन गरेर करोडौं रकम खर्च भइसक्दा पनि समस्या समाधान हुन सकेको छैन । वन्यजन्तुको वर्षायाममा चुरेसम्म वितरणको लागि कोरिडोर विस्तार गर्न सरकारले जग्गा लिएकोले उक्त जग्गाको सट्टाभर्ना र राहतको व्यवस्था नगर्दा आज पनि धेरै किसानहरू रुखमुनी बास गरेर बसेका छन्,' सांसद साउदले भने, 'तत्कालीन वनमन्त्री महेश आचार्यको पालामा बनेको पूर्वन्यायाधीश ठाकुरप्रसाद शर्मा नेतृत्वको आयोगले आरक्ष पीडितहरूको संख्या यकीन गरी राहतको लागि सडकसँग दूरी हेरी एकदेखि पाँच कट्ठा जग्गा या ५ लाख रकम उपलब्ध गराउन सिफारिस गरेको थियो । तर उक्त जग्गा र राहत रकम कम भएकोले बढाउनुपर्ने माग राखेर आरक्षपीडितहरू आज पनि आन्दोलनमा छन् ।'

आरक्ष पीडितलाई तत्काल क्षतिपूर्ति दिनका लागि बाटो खोज्नुपर्ने साउदको भनाइ थियो । 'म नेपाल सरकारलाई पूर्वन्यायाधीशको अध्यक्षतामा गैर राजनीतिक आयोग गठन गरेर पीडितमैत्री किसिमले यो समस्या तत्काल समाधान लागि जोडदार माग गर्दछु,' उनले भने ।

प्रकाशित : भाद्र १८, २०८१ १७:४७
x
×