कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

स्थानीय तहको उपनिर्वाचन १६ मंसिरमा

भाद्र ३०, २०८१
स्थानीय तहको उपनिर्वाचन १६ मंसिरमा

काठमाडौँ — निर्वाचन आयोगले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ । आइतबार आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ गते उपनिर्वाचन गर्न प्रस्ताव गरेका हुन् ।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले आयोगको प्रस्तावबमोजिम उपनिर्वाचनका लागि सरकार तयार रहेको भन्दै तयारी अगाडि बढाउन आग्रह गरेका थिए । अब बस्ने मन्त्रिपरिषद् बैठकले उपनिर्वाचनको मिति तोक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले सरकारले यथासक्य छिटो मिति तोक्ने जनाउँदै निर्वाचनलाई मितव्ययीरुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गरेका थिए ।

छलफलपछि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने प्रस्ताव सरकारसमक्ष पेस गरिएको बताए । 'हामीले सरकारलाई मंसिर १६ मा उपनिर्वाचन गर्न प्रस्ताव गरेका छौँ । प्रधानमन्त्रीज्यूले तयारी अघि बढाउन भन्नुभएको छ,' उनले भने ।

छलफलमा सरकारकातर्फबाट उपप्रधान एवं अर्थमन्त्री विश्नुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए भने आयोगका प्रमुख आयुक्त थपलियासहित पदाधिकारीहरू थिए ।

आयोगका अनुसार हाल जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, वडाध्यक्ष १० तथा नगरपालिकाका मेयर १, उपमेयर १ र वडाध्यक्ष २१ गरी ४१ सिट रिक्त छन् ।

प्रकाशित : भाद्र ३०, २०८१ १७:०५
×