काठमाडौँ — कांग्रेसले उपनिर्वाचनमा पार्टीको प्रदर्शन सन्तोषजनक र उत्साहवर्द्धक रहेको जनाएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मंगलबार प्रारम्भिक समीक्षा सार्वजनिक गर्दै ‘एक्लै लडेर प्राप्त स्थान’ लाई सन्तोषजनक एवं उत्साहवर्द्धक संकेतका रूपमा लिएको जनाएका हुन् ।
दुई जिल्ला समन्वय समितिका प्रमुख र एउटा वडा अध्यक्ष पद यसअघि नै निर्विरोध भएको थियो भने आइतबार ४१ पदमा मतदान भएको हो । समग्रमा कुल ४४ पदमध्ये कांग्रेस १९, माओवादी ११, एमाले ८, जसपा २ तथा एस, रास्वपा, नेमकिपा र स्वतन्त्र १/१ पदमा विजयी भएका छन् ।
उपनिर्वाचन भएका पालिका प्रमुख र उपप्रमुखका ८ पदमध्ये २०७९ को निर्वाचनमा कांग्रेसले ६ र माओवादीले २ स्थानमा जितेका थिए । अन्तिम मतपरिणामअनुसार माओवादीले २ पदाधिकारी र एमालेले ३ पदाधिकारी थपेका छन् । कांग्रेसले यसअघि जितेका ६ मध्ये काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुखको पद मात्र सुरक्षित राख्न सकेको छ ।
कांग्रेस महामन्त्री शर्माले भनेका छन्, 'उपनिर्वाचनमा मतदाताको व्यापक सहभागिताले लोकतान्त्रिक प्रणालीप्रति नागरिकको समर्थन र एक्यवद्धता फेरि एकपटक बलियो रूपमा प्रदर्शित भएको छ । मुलतः मुख्य दलहरूप्रति मतदाताले प्रकट गरेको समर्थनलाई विद्यमान प्रणाली मार्फत प्रगतिको दिशामा प्राप्त ऐक्यबद्धताका रूपमा लिएर तिनै तहका सरकारले काममा गति बढाउँदै नागरिक विश्वास अझ बलियो बनाउन जरुरी छ ।'
कांग्रेस समग्रमा रिक्त ४४ मध्ये १९ स्थानमा विजयी भएको छ । शर्माले यसलाई राजनीतिक, सांगठनिक र गुणात्मक रूपले महत्त्वपूर्ण रहेको बताएका छन् । 'समग्रमा यो ४३.१८ प्रतिशत हो । ०७९ मा गठबन्धन गरेर चुनाव लड्दा प्राप्त स्थानभन्दा एक्लै लडेर प्राप्त स्थान संख्यात्मक कम तर राजनैतिक, सांगठनिक र गुणात्मक रूपले बढी महत्त्वपूर्ण छ । यो परिणाम हासिल गर्न मैदानमा जुटेका सबै तहका सबै आदरणीय साथीहरूमा बधाई र सम्मान छ,' शर्माले भनेका छन् ।
