२०७९ को चुनावमा चौथो स्थानमा रहेको माओवादी कांग्रेसलाई हराउँदै विजयी
काठमाडौँ — उदयपुरको बेलका नगरपालिका वडा नम्बर ९ को उपचुनावमा नेकपा माओवादी केन्द्रका भरत घिमिरे विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार घिमिरे ५ सय ५९ मतसहित विजयी भएका हुन् ।
एमालेका मोहन खड्का ५ सय २५ मतसहित दोस्रो स्थानमा रहँदा कांग्रेसका नवराज बस्नेतले ४ सय ४ मत प्राप्त गरे । त्यस्तै जनता समाजवादी पार्टीका राजकुमार राईले २ सय ७ मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान विश्वकर्माले १ सय २३ मत ल्याउँदा राप्रपाका टीकाप्रसाद फुयलले २७ मत ल्याए । मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवार सुरे तामाङले भने मात्र ५ मत ल्याए ।
यसअघि ०७९ को स्थानीय तह चुनावमा बेलका-९ मा कांग्रेसका पदमबहादुर खड्का विजयी भएका थिए । यसपटक विजयी भएको माओवादी केन्द्र भने त्यतिबेला १७६ मतसहित चौथो स्थानमा थियो । त्यतिबेला एमालेका रणजित राई ५ सय ४८ मतसहित दोस्रो र जनता समाजवादी पार्टी नेपालका राजकुमार राई २ सय ३१ मतसहित तेस्रो स्थानमा थिए ।
खड्काको गत असारमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएपछि रिक्त रहेको वडाध्यक्ष पदका लागि आइतबार उपनिर्वाचन भएको हो ।
