कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

औषधि संक्रमणले मिर्गौला फेल भएकी ‍गेलाललाई क्षतिपूर्ति दिन सांसद गौतमको माग

भाद्र १८, २०८१
औषधि संक्रमणले मिर्गौला फेल भएकी ‍गेलाललाई क्षतिपूर्ति दिन सांसद गौतमको माग

काठमाडौँ — प्रसूतिको शल्यक्रियाका क्रममा प्रयोग गरिएका दुई औषधिका कारण मिर्गौला फेल भएकी काठमाडौं शंखरापुर नगरपालिकाकी गमला गेलाललाई क्षतिपूर्ति र न्याय दिन सांसद सोबिता गौतमले माग गरेकी छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा रास्वपा सांसद गौतमले जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेज (एनएमसी) शिक्षण अस्पतालले शल्यक्रियाका क्रममा प्रयोग गरेको औषधिका कारण गेलालको मिर्गौलामा संक्रमण भई फेल भएको र प्रत्यारोपण गर्नुपरेकाले क्षतिपूर्ति दिनुपर्ने बताइन् ।

अस्पतालले नै गेलालको स्वास्थ्यमा खेलबाड गरेको भन्दै सांसद गौतमले क्षतिपूर्ति माग गरेकी हुन् । 'के भएर गमलाको स्वास्थ्यमा खेलबाड भयो ? क्षतिपूर्ति कसले दिने ? सत्य जान्ने मौका गमलाले कहिले पाउने ?,' उनले भनिन् । गमलालाई स्वास्थ्य उपचारबारे सबै प्रतिवेदन माग गर्दा पनि अस्पतालले नदिएको सांसद गौतमको भनाइ थियो । पछिल्लो समय गेलालको निवेदन नै सरकारी निकायहरूले लिन नमानेको उनको भनाइ छ ।

२०७६ फागुनमा गमला गेलालमाथि उक्त घटना भएको तर लामो समय हुँदा पनि कुनै सरकारी निकायले ध्यान नदिएको र कसैलाई जवाफदेही नबनाएको सांसद गौतमको भनाइ थियो । '२०७६ सालदेखि उहाँको समस्यालाई समाधान गर्न किन कुनै पनि संस्था तयार भएनन् ? स्वास्थ्य मन्त्रालयले बोधार्थ पत्र पाएको थियो, गमलाको स्वास्थ्य के छ ? किन जानकारी लिएन ?

नेपाल मेडिकल काउन्सिलले औषधिमा समस्या नभए के भएर गमलाको किड्नी फेल भयो भनी किन अनुसन्धान गरेन ? न्याय दिने जिम्मा कसको हो ?,' उनले भनिन्, 'जिम्मेवार संस्थामा बस्नेहरूले के गरिबको मुद्दा भुसुनाबराबर ठानेको हो ? गरिबले यो देशमा बाँच्ने हक नै नपाउने हो ? यो देश धनी र पहुँचवालाको लागिमात्र हो ?'

गेलालको जस्तै समस्या अन्यत्र पनि भएको कुरा बुझ्न गौतमले आग्रह गरेकी थिइन् ।

प्रकाशित : भाद्र १८, २०८१ १६:५२
x
×