कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

२३ वर्षदेखि श्रीमान्‌को खोजी

भाद्र १६, २०८१
२३ वर्षदेखि श्रीमान्‌को खोजी

Highlights

  • द्वन्द्वकालमा माओवादी कार्यकर्ता भएको आरोपमा सेनाले जसोदाका श्रीमान् सूर्यलाई पक्राउ गरेको थियो, हालसम्म उनको अवस्था अज्ञात छ 

बागलुङ — २०५८ सालको माघे संक्रान्तिको दिन मिठोमसिनो पकाएर छोराछोरीलाई खुवाउने पतिपत्नीको योजना थियो । बिहान ५ बजे नै ढोका ढकढक्याएको आवाज आयो । पाहुना आए कि भनेर जसोदा शर्माले ढोका खोलिन् । तर पाहुना नभई हतियारधारी सैनिक आएका थिए । उनीहरूले बागलुङ नगरपालिका–२ की जसोदाका श्रीमान् सूर्यप्रसाद शर्मालाई पक्राउ गरेर लगे । के कारणले पक्राउ गरियो भन्ने पुर्जी पनि दिएनन् । 

सेनाकै पछि लागेर गएकी जसोदालाई ब्यारेकको गेटमै रोकियो । श्रीमान्लाई भित्र लगेपछि उनी रुँदै फर्किइन् । त्यसपछि हरेक दिन बिहान–बेलुकी श्रीमान्को खबर बुझ्न गइरहिन् । सोधपुछका लागि लगेको भन्दै सेनाले एक दुई दिन गेटबाट फर्कायो । त्यसपछि गाली गरेर पठाउन थालियो । महिना दिन बितेपछि त जसोदाको चासोलाई सेनाले बेवास्ता गर्न थाल्यो ।

माओवादीको कार्यकर्ता भएकाले सूर्यलाई पक्राउ गरेको सेनाको जिकिर थियो । तर आफ्नो श्रीमान् माओवादीमा आबद्ध नभएको जसोदा बताउँछिन् । श्रीमान्को खोजी गरिदिन र बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च अदालतमा निवेदन गरिन् । सर्वोच्चले सूर्यको जानकारी दिन सरकारलाई निर्देशन गर्‍यो ।

उनले अन्तर्राष्ट्रिय मानव अधिकार समितिमा पनि उजुरी दिइन् । समितिले २०६६ कात्तिकमा सरकारलाई १ सय २० दिनभित्र सूर्यको अवस्था सार्वजनिक गर्न निर्देशनात्मक आदेश जारी गर्‍यो । तर सूर्य अझै फेला परेका छैनन् । २३ वर्षदेखि जसोदा पतिको खोजीमा छिन् । क्षतिपूर्ति स्वरूप २ लाख रुपैयाँ दिन समितिले सरकारलाई दिएको निर्देशन पनि पालना भएको छैन ।

सूर्य पक्राउ पर्दा जसोदाकी ठूली छोरी ज्योति ११ वर्षकी थिइन् । कान्छी छोरी आरती ९ वर्ष र छोरा विप्लव ७ वर्षका थिए । छोराछोरी हुर्काउने, पढाउने काममा पनि उनले धेरै दुःख व्यहोर्नुपर्‍यो । कमाइ नभएकाले खेत बेचेर छोराछोरी पढाइन् । राज्यले दिने छात्रवृत्ति कोटा पनि उनका छोराछोरीले पाएनन् । ‘चाडपर्व आउँदा कोही मेरो घरमा आएनन्, आए पनि सेना र प्रहरीले दुःख दिन्छ भनेको सुनें,’ ५७ वर्षीया शर्माले भनिन् ।

‘पतिको खोजीमा घर छाडेर हिँड्दा छोराछोरीलाई खान दिने पनि साथी पाइएन,’ उनले भनिन् । श्रीमान् नभएपछि आफन्तले पनि बेवास्ता गरेको उनले गुनासो गरिन् । शान्ति प्रक्रियापछि पनि उनलाई छिमेकी र आफन्तले खासै वास्ता गरेनन् । अब त उनलाई पति जीवित छन् भन्ने आस छैन । तर पनि राज्यले वास्तविकता बताइदिओस् भन्ने उनको अपेक्षा छ । ‘म सत्य जान्न चाहन्छु,’ उनले भनिन्, ‘मेरा पतिको के दोष थियो, के गरियो ? वास्तविकता मलाई बताइदिनुहोला ।’

श्रीमान्को अवस्था थाहा पाउनका लागि उनले अड्डाअदालत धाउन अधिवक्तासमेत रहेका सहोदर भाइ थिरनाथ शर्माको सहायता लिएकी थिइन् । तर आफ्नो भाइ भएकै कारण देखाएर सेनाले ७८ दिन हिरासतमा राखेर उनलाई यातना दिएको जसोदाको भनाइ छ । अशक्त भएपछि रिहा भएका थिरनाथको लामो समय ओच्छ्यान परेर २०६७ सालमा निधन भयो । उनीकी पत्नी यमुना र छोराछोरीले कुनै राहत पाएनन् भने द्वन्द्वपीडितको सूचीमा पनि नपरेको जसोदाले बताइन् ।

शान्ति सम्झौतापछि जसोदा माओवादीमै लागिन् । अहिले उनी माओवादीको प्रदेश समितिकी सदस्य छिन् । बागलुङ नगरपालिकाको वडा सदस्यबाट उनी जिल्ला समन्वय समितिको सदस्य निर्वाचित भइन् । द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल बागलुङकी संयोजक पनि हुन् । तर उनको पीडा उस्तै छ । उनले आफ्नो समस्या दलका नेतृत्वलाई पनि सुनाएकी छन् । तर गम्भीर नबनेको उनको गुनासो छ । ‘अहिले त प्रधानमन्त्रीसमेतलाई भेटेर आफ्नो समस्या बताइसकेकी छु,’ उनले भनिन्, ‘पीडितको कुरा सुनुवाइ नहुने रहेछ ।’ मरे–बाँचेको घोषणा गर्नलाई सरकारलाई अझै के कुराले रोकेको छ ? भन्ने उनी प्रश्न गर्छिन् ।

संसद्बाट टीआरसी विधेयक बहुमतले पारित भएको छ । जसोदा भने न्याय पाउने आस मारिसकेको बताउँछिन् । ‘जुनसुकै कानुन आए पनि अब न्याय पाउने आस छैन,’ उनले भनिन्, ‘यदि सही रूपमा आएको हो भने टीआरसी विधेयकले न्याय दिनुपर्छ ।’ राज्यले बेपत्ताको स्थिति सार्वजनिक गर्नुपर्ने, मृत्यु भएकाको कारण देखाउनुपर्ने उनको भनाइ छ ।

सशस्त्र द्वन्द्वका बेला बागलुङबाट १७ जना बेपत्ता भएका थिए । उनीहरूका परिवार अहिले पनि खोजीमै छन् । ‘जे भएको थियो, त्यो बताएर पीडितलाई न्याय दिनुपर्छ,’ मानवअधिकार संगठन बागलुङकी अध्यक्ष लक्ष्मीदेवी जीसीले भनिन्, ‘घटना पनि जानकारी नदिएर पीडामा राख्नु गम्भीर मानवअधिकार उल्लंघन हो ।’

प्रकाशित : भाद्र १६, २०८१ ०५:५०
x
×