कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

नारायणगढ-मुग्लिन सडकमा दुई ठाउँमा पाँचवटा गाडी ठोक्किए

भाद्र १६, २०८१
नारायणगढ-मुग्लिन सडकमा दुई ठाउँमा पाँचवटा गाडी ठोक्किए

चितवन — नारायणगढ-मुग्लिन सडकमा आइतबार बिहान जुगेडीमा तीन वटा र सिमलतालमा दुईवटा गाडीहरू आपसमा ठक्कर खाएका छन् । चितवन जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणअनुसार सिमलतालमा गाडी ठोक्किँदा तीन जना घाइते भएका छन् । 

जुगेडीमा बिहानपख तीन बजेर २० मिनेट जाँदा मुग्लिनबाट नारायणगढ आउँदै गरेको बा ११ च ८२६२ नम्बरको टाटा सफारीले अगाडि रोकेको बा प्र ०३-००१ च १७७० नम्बरको जिप र त्योभन्दा अगाडि रहेको ग २ च ४३३६ नम्बरको अर्को जिपलाई ठक्कर दिएको थियो । यो घटनामा कुनै मानवीय क्षति नभएको चितवन प्रशासनले जनाएको छ । भरतपुर महानगरपालिका-२९ जुगेडी प्रहरी चेकपोस्ट अगाडि उक्त घटना भएको हो ।

त्यस्तै आइतबार बिहान ६ बजेर ३५ मिनेट जाँदा सिमलतालमा भारतीय बससँग मिनी ट्रक ठोक्किएका छन् । बसका यात्रुलाई केही भएको छैन । ट्रकमा रहेका तीनजना घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । भरतपुर-२९ मा पर्ने उक्त ठाउँमा मुग्लिनबाट नारायणगढ आउँदै गरेको ग २ ख ११०८ नम्बरको मिनी ट्रक र मुग्लिनतर्फ जाँदै गरेको एआर ०१ टी ६३७२ नम्बरको भारतीय बस ठक्कर खाएका थिए । ठक्करपछि बसका चालक फरार छन् ।

ट्रकका चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका-३ का २८ वर्षीय राजन क्षेत्रीको दाहिने हातमा चोट लागेको छ । ट्रकमा रहेका बारा देवल गाउँपालिका-५ का ३० वर्षका मञ्ज रावल बरईको घाँटीमा चोट छ । उनका ६ वर्षीय छोरा आशिष रावल बरईको पेटमा भित्री चोट रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित : भाद्र १६, २०८१ ०८:३८
x
×