कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

कांग्रेस बैठक : महासमिति बैठकमा पेस भएका दस्तावेज संशोधनसहित पारित

भाद्र १६, २०८१
कांग्रेस बैठक : महासमिति बैठकमा पेस भएका दस्तावेज संशोधनसहित पारित

Highlights

  • आगामी चुनावमा गठबन्धन नगरी पार्टी एक्लैले जित्न सक्ने गरी संगठन विस्तार गर्ने निर्णय 

काठमाडौँ — नेपाली कांग्रेसले आगामी चुनावमा अन्य दलहरूसँग गठबन्धन नगरी एक्लैले जित्न सक्ने गरी पार्टीको संगठन विस्तार गर्ने निर्णय गरेको छ ।

महामन्त्री गगन थापाले गत फागुनकाे महासमिति बैठकमा प्रस्तुत गरेको संगठनसम्बन्धी दस्तावेजमा रहेको 'प्रि-इलेक्सन गठबन्धन' सम्बन्धी प्रस्तावबारेकाे छलफलपछि बैठकले आगामी चुनावमा अन्य दलहरूसँग गठबन्धन नगरी एक्लैले जित्न सक्ने गरी पार्टीको संगठन विस्तार गर्ने निर्णय लिएको हो ।

बैठकपछि प्रवक्ता प्रकाशसरण महतले गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालको रणनीतिक विषय भएकाले अहिले त्यस विषयमा कुनै निर्णय नलिई पार्टीको संगठनलाई मजबुद बनाउने र एक्लै चुनाव जित्ने अवस्था सिर्जना गर्नेमा केन्द्रीत हुने निर्णय गरेको बताए ।

उनका अनुसार बैठकले महासमितिमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका प्रतिवेदनहरू संशोधनसहित पारित गरेको छ ।

'बैठक लामो समयसम्म चल्यो । हामीले पटक-पटक बैठक बसेर छलफल गर्‍यौँ,' उनले भने, 'आजको बैठकबाट गत फागुनमा भएको महासमिति बैठकमा पेस भएका दस्तावेजहरू केही संशोधनसहित पारित गरिएको छ । कतिपय विषय आगामी दिनमा छलफल गरेर अघि बढ्ने निष्कर्षसहित पारित गरेका छौँ ।'

प्रवक्ता महतले महामन्त्री थापाको प्रस्तावका सन्दर्भमा पार्टी संगठनलाई चुस्तरुपमा अघि बढाउने, गाउँ-गाउँमा संगठन मजबुद बनाउने, सक्रिय सदस्यता नवीकरण र वितरण गर्ने निर्णय भएको छ ।

महामन्त्री थापाको प्रतिवेदनबमोजिम समयमै महाधिवेशन गर्ने विषयमासमेत सबै क्रियाशील भएर लाग्ने निर्णय भएको उनले बताए ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माको 'एक्जिट पोलेसी'सम्बन्धी प्रस्तावमा भने बैठकले कुनै निर्णय नलिएको प्रवक्ता महतले बताए । उनका अनुसार कांग्रेसमा त्यसबारे छलफल भएपनि अहिले नै निर्णय गर्नुपर्ने आवश्यकता देखिएन ।

'महामन्त्री शर्माको एक्जिट पोलेसीका सन्दर्भमा बैठकमा छलफल भयो । तर अहिले नै निर्णय गर्नुपर्ने आवश्यकता पार्टीले ठानेको छैन । पार्टीको विधान मात्रैले यो विषयमा टुंगोमा नपुग्ने भएकाले संविधान संशोधनका क्रममा कसरी जान सकिन्छ भनेर छलफल गर्ने भन्ने निर्णय भएको छ,' उनले भने ।

प्रकाशित : भाद्र १६, २०८१ २०:१५
x
×