कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सर्वोत्कृष्ट विद्यार्थीले पाउने विद्याभूषण बजेट अभावले ५ वर्षदेखि अवरुद्ध

भाद्र ३०, २०८१
सर्वोत्कृष्ट विद्यार्थीले पाउने विद्याभूषण बजेट अभावले ५ वर्षदेखि अवरुद्ध

Highlights

  • सुनचाँदी किन्न पर्याप्त बजेट नहुँदा शिक्षा मन्त्रालयले २०७६ देखिकै पदक वितरण गर्न सकेको छैन
  • २०७६ यताका करिब साढे १२ सय विद्यार्थीलाई पदक, पुरस्कार, प्रमाणपत्र वितरण गर्न ६ करोड खर्च लाग्ने अनुमान तर बजेट ६० लाख मात्रै

काठमाडौँ — सुनचाँदी किन्न पर्याप्त बजेट नहुँदा सरकारले पाँच वर्षदेखि विद्याभूषण पदक वितरण गर्न सकेको छैन । विभिन्न तहका सर्वोत्कृष्ट विद्यार्थीलाई सरकारले हरेक वर्ष राष्ट्रिय शिक्षा दिवसमा सुनचाँदी जडित विद्याभूषण पदकबाट विभूषित गर्ने अभ्यास छ । तर २०७६ देखि २०८० सम्मका सर्वोत्कृष्ट विद्यार्थीले पदक पाएका छैनन् । 

सरकारले यसपालि पनि नेपाल विद्याभूषण ‘क’, ‘ख’ र ‘ग’, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक ‘क’ र ‘ख’ एवं छात्रा पुरस्कार पदक पाउने विद्यार्थीको सूची शिक्षा दिवसका अवसरमा असोज २ मा सार्वजनिक गर्ने कार्यतालिका छ । तर बजेट अभावको कारण देखाउँदै शिक्षा मन्त्रालयले पदक नै बनाएको छैन । शिक्षा मन्त्रालयले गत बुधबार सूचना जारी गरेर पदक र प्रमाणपत्र वितरण कार्यक्रमको मिति पछि प्रकाशन गरिने जनाएको छ । गत वर्ष ९ सय ६२ छात्रछात्रालाई विद्याभूषण पदकबाट विभूषित गर्ने निर्णय भएको थियो । तर सुनचाँदी जडित पदक बनाउने रकम नभएको भन्दै वितरण गरिएन ।

शिक्षा मन्त्रालयका प्रवक्ता सहसचिव कमलप्रसाद पोखरेलले बजेट अभावका कारण पदक वितरण गर्ने अवस्था नरहेको बताए । ‘बजेट नभएकाले पदक र प्रमाणपत्र वितरण कार्यक्रम अहिलेलाई थाती राखियो । नाम भने सार्वजनिक गर्छौं,’ उनले भने, ‘खर्च जुटाउने प्रयास भइरहेको छ, जुटाउन नसकिए प्रमाणपत्र मात्र दिने कुरा पनि भएको छ ।’ यो वर्ष करिब ३ सय विद्यार्थीले पदक पाउने सम्भावना छ ।

२०७६ यताका करिब साढे १२ सय विद्यार्थीलाई पदक, पुरस्कार, प्रमाणपत्र वितरण गर्न ६ करोड खर्च लाग्ने अनुमान गरिएको छ तर यसका लागि ६० लाख मात्र बजेट विनियोजन भएको छ । मन्त्रालयका एक उपसचिवका अनुसार एउटा पदक बनाउन लगभग ३० हजार खर्च लाग्छ । गत वर्ष शिक्षा दिवसमा पदक र पुरस्कार पाउनेको सूची सार्वजनिक गरेर प्रजातन्त्र दिवसका अवसरमा फागुन ७ मा वितरण गरिने मन्त्रालयले जनाएको थियो ।

बजेट जोहो नहुँदा त्यतिबेला पनि वितरण गरिएन । शिक्षा मन्त्रालयका एक अधिकारीअनुसार गत वर्ष अर्थ मन्त्रालयसँग बजेट माग गरे पनि विनियोजित बजेटबाटै व्यवस्था गर्न भनिएको थियो । यो वर्ष पनि पदकका लागि पर्याप्त बजेट व्यवस्था गरिएको छैन ।

२०७६ को विद्याभूषण पदक पाउने सूचीमा जुम्लाकी राधिका बुढथापाको नाम छ । बौद्धदर्शन शास्त्रमा विद्यावारिधि गरेकी उनले पदक भने पाएकी छैनन् । ‘गत वर्ष शिक्षा मन्त्रालयले पदक बनाउन भ्याएन रे । यसपालि बजेट छैन रे । सम्मान पनि दिन्छौं भनेर दिँदैनन् । कुरा गर्न पनि लाज लाग्छ,’ उनले भनिन्, ‘सरकारले आश्वासन मात्र बाँड्छ, दुःख, मिहिनेत गरेर लेखपढ गरेकालाई पुरस्कार दिन बजेट हुँदैन ।’

गत वर्ष आवेदन दिएर विद्याभूषण पदक पाउने सूचीमा परेका त्रिभुवन विश्वविद्यालयका विद्यार्थी आइत विश्वकर्माले राज्यले घोषणा गरे पनि पदक नदिएर मनोमानी गरेको बताए । ‘जे काम गर्न भनेर शिक्षा मन्त्रालयमा बसेका छन् । उनीहरू त्यही काम गर्दैनन्,’ उनले भने, ‘पदक पाए अध्ययन, अध्यापन र अनुसन्धान गर्नेलाई प्रोत्साहन हुन्थ्यो, घोषणा गरेको पदक र पुरस्कार नदिएर सरकारले लापरबाही गरेको छ ।’ सरकारले पदक र पुरस्कारको आश्वासन मात्रै देखाएको विद्यार्थीहरूको गुनासो छ ।

मन्त्रालयभित्रै शिक्षा पदक वितरणका विषयमा दुई धार देखिँदा पनि बजेट व्यवस्था हुन नसकेको एक उपसचिवले बताए । ‘पदक वितरणको विपक्षका केही अधिकारीहरू हुनुहुन्छ । बजेट निर्माणका बेला शिक्षामन्त्री सुमना श्रेष्ठ हुनुहुन्थ्यो । उहाँको टिमले पनि पदकलाई प्राथमिकता दिएन,’ उनले भने, ‘पदकमा सुनचाँदी प्रयोग हुने र त्यसको खरिद प्रक्रियामा संलग्न हुन नचाहने कर्मचारीका कारण पनि अलमल भएको छ ।’ निर्देशिकामा तोकिएअनुसार सुन र चाँदी पदकमा राखे/नराखेको यकिन गर्न नसकिने हुँदा कर्मचारीहरू उक्त प्रक्रियामा सहभागी हुन नचाहेको समेत उनले बताए ।

नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका २०७७ ले पदकको मापदण्ड तोकेको छ । निर्देशिकामा मुलुकको समग्र विकास तथा समुन्नतिका लागि शिक्षालाई राष्ट्रिय महत्त्व दिई शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने व्यक्ति र शैक्षिक क्षेत्रमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थी तथा शिक्षण संस्थालाई विभिन्न पदक, प्रमाणपत्र, सिल्ड, ध्वजा वा नगद तथा राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिने उल्लेख छ । निर्देशिकाअनुसार विद्यावारिधि वा सोभन्दा माथिल्लो उपाधि हासिल गरेकाले नेपाल विद्याभूषण ‘क’ श्रेणीको पदक पाउँछन् । ४२ ग्राम शुद्ध चाँदी र एक ग्राम सुनको लेपन लगाएको पदक बनाउनुपर्छ । स्नातकोत्तर तहमा सर्वप्रथमले ‘ख’ श्रेणीको विद्याभूषण प्राप्त गर्ने व्यवस्था छ । ३२ ग्राम शुद्ध चाँदी र एक ग्राम सुनको लेपनबाट पदक बनाउने निर्देशिकामा उल्लेख छ ।

स्नातक तहमा सर्वोत्कृष्टले ‘ग’ श्रेणीको २२ ग्राम शुद्ध चाँदी र एक ग्राम सुनको लेपन भएको पदक प्राप्त गर्ने व्यवस्था छ । स्नातक तहमा सबैभन्दा बढी अंक वा ग्रेड प्राप्त गर्ने छात्राले ‘क’ श्रेणीको नेपाल छात्रा विद्यापदक पाउछन्, जुन ३० ग्राम चाँदी एक ग्राम सुनको लेपनबाट तयार पारिन्छ । कक्षा १२ वा प्राविधिक शिक्षामा सीटीईभीटीबाट सबैभन्दा धेरै अंक वा ग्रेड प्राप्त गर्ने छात्रालाई ३० ग्राम चाँदीबाट बनेको ‘ख’ श्रेणीको पदक प्रदान गरिन्छ ।

विज्ञान तथा प्रविधि इन्जिनियरिङ, कृषि, पशु विज्ञान, वन विज्ञान, चिकित्साशास्त्र विधाको स्नातकोत्तर तह वा सोभन्दा माथि अध्ययनलाई निरन्तरता दिन वा प्रयोग गर्न सकिने गरी तयार शोधपत्रका आधारमा विश्वविद्यालयका प्रत्येक संकायका २/२ विद्यार्थीलाई नेपाल प्रविधि विद्याभूषण पदक उपलब्ध गराउने व्यवस्था छ । विश्वविद्यालय अनुदान आयोगको सिफारिसका आधारमा ३१ ग्राम शुद्ध चाँदी र एक ग्राम सुनको लेपन लगाएको पदक प्रदान गर्ने प्रावधान छ । विद्यार्थीबाट आवेदन माग गरी, त्यसको छानबिन गरेर पदकका लागि सिफारिस गर्ने मापदण्ड छ ।

नेपालमा २०३१ सालदेखि फागुन १२ मा राष्ट्रिय शिक्षा दिवस मनाउने गरिएको थियो । गणतन्त्र स्थापनापश्चात् अन्तर्राष्ट्रिय साक्षरता दिवसको दिन शिक्षा दिवस पनि मनाउन थालियो  । शिक्षा दिवस र साक्षरता दिवस एकै दिन मनाउनु उपयुक्त नहुने भन्दै २०७६ देखि स्थगन गरिएको थियो । २०८० जेठ ९ को मन्त्रिपरिषद् बैठकले मुलुकभर असोज २ मा शिक्षा दिवस मनाउने निर्णय गरेको थियो ।

संविधानमा व्यवस्था भएअनुसार अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ जारी भएको दिनका अवसरमा असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । शिक्षा दिवसको नयाँ मिति घोषणा सँगै पदक र पुरस्कार पनि वितरण गर्ने निर्णय भएको थियो । यो वर्ष शिक्षा दिवस मनाउन शिक्षामन्त्री विद्या भट्टराईको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । २०८१ देखि २०८५ सम्मका लागि दिवसको नारा ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता’ तय गरिएको छ ।

प्रकाशित : भाद्र ३०, २०८१ ०५:३३
×