कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

सफलताको शिखर चुम्दै बमकाजी

भाद्र १६, २०८१
सफलताको शिखर चुम्दै बमकाजी

Highlights

  • सर्वोच्च शिखर सगरमाथाको पहिलो आरोहण असफल भएपछि सरकारी जागिरे बमकाजी सात महादेशका सात अग्ला हिमशिखर चढ्ने अभियानमा

रुकुम पश्चिम — काभ्रेको खानीखोला गाउँपालिकामा कार्यरत २९ वर्षीय बमबहादुर विक उर्फ बमकाजी लेखापाल हुन् । १० वर्षअघि लोकसेवा भिडेर सहलेखापालमा नाम निकालेका उनी यतिबेला रहरैरहरले हिमाल आरोही बनेका छन् । 

‘हिमालबारे लेखिएका किताब पढ्दै जाँदा ममा आरोहणको रहर बढ्दै गयो । हिमाल के हो, कहाँ छ र कसरी त्यहाँसम्म पुग्न सकिन्छ भन्ने कुराको ज्ञान लिन थाले,’ रुकुम पश्चिमको सानीभेरी–१० अर्माडाँडाका बमकाजी भन्छन्, ‘त्यसपछि म पनि हिमाल चढ्छु, केही नयाँ गरेर देखाउँछु भन्ने लाग्यो ।’ अनि लागे हिमाल आरोहणसम्बन्धी तालिम लिन २०७६ मा । ‘त्यसपछि भने हिमाल बुझ्न मात्रै होइन स्पर्श गर्ने हौसला मिल्यो,’ उनले थपे ।

अनि उनले पाइला अघि बढाए मनास्लु हिमालतर्फ । ‘आधार शिविर पुगेर करिब एक महिनाको तयारी र अभ्यासपश्चात् २०७६ असोज ६ मा मनास्लुको सफल आरोहण गरें,’ बमकाजीले सगर्व सुनाए । मनास्लु आरोहणपछि उनको हिमाल आरोहणको रहर झन् बढ्दै गयो । ताके, संसारकै अग्लो शिखर सगरमाथा । तर कोरोनाको महामारीका कारण उनको यात्रामा केही समय ब्रेक लाग्यो । कोरोनाको कहर कम भएपछि २०७८ चैतमा पुनः सगरमाथा समिटको योजना बुन्न थाले । २०७८ वैशाख २५ मा उनको आधारशिविरबाट सगरमाथातर्फको उकालो यात्रा सुरु भयो ।

‘सगरमाथा आरोहणको सपना साँचेर मैले यात्रा थालें । तर यो यात्रा मैले सोचेजस्तो भएन,’ उनी सुनाउँछन्, ‘बाल्कोनी (८ हजार ४ सय मिटर) पुगेपछि मैले गाइडको साथ पाइनँ, एक्लै भए पनि शिखरमा टेकेरै छोड्छु भन्ने आँटले हिलारी स्टेप (८ हजार ७ सय ९० मिटर) सम्म त पुगें तर प्राविधिक कठिनाइले गर्दा त्यहींबाट फर्कन बाध्य भएँ ।’ बाल्कोनीसम्म साथ दिएका शेर्पा गाइडले त्यसपछि भने खुट्टामा समस्या आएको भन्दै त्यसभन्दा माथि जान नसक्ने बताए ।

‘अब गाइड नै नजाने भएपछि के गर्ने भन्ने अलमल भयो,’ बमकाजीले भने, ‘यति माथि आइसकेपछि फर्किनु भनेको मेरो सपना र लगानी सबै खेर जाने कुरा थियो । यसकारण मैले शेर्पाबिनै बाँकी यात्रा तय गर्ने निधो गरेको थिएँ ।’ तर नयाँ ठाउँ, नयाँ यात्रामा निस्केका बमकाजीका लागि सबै कुरा आफ्नै लहडले मात्रै सम्भव हुने थिएन । ‘मसँग अक्सिजन पनि थिएन । जसोतसो वैशाख २९ को बिहान हिलारी स्टपसम्म त पुगें, त्यसपछि माथि जान सक्ने स्थिति नभएपछि त्यहींबाट फर्किएँ ।’

उनी क्याम्प ४ (७ हजार ९ सय ५० मिटर) मा नफर्कंदासम्म यता उनलाई समिट गराउने कम्पनीका मान्छेबीच खैलाबैला मच्चिसकेको रहेछ । ‘क्याम्प ४ मा पुगेपछि समिट गर्न नसकेकामा एकखाले खिन्नता त थियो नै, तर ज्यान बाँचेकोमा खुसी पनि लाग्यो । अनि मनमनै सोचें, आफ्नै मूर्खताले झन्डै ज्यान गएन,’ उनले भने । किनकि त्यो बेला समिट गर्दासम्मका लागि उनीसँग न पर्याप्त अक्सिजन सिलिन्डर थियो न त मौसम नै अनुकूल । त्यसमाथि गाइड पनि नभएका उनले रेडियो सेट पनि बोकेका थिएनन् । ‘सम्पर्कविहीन भएकाले सबैजना हतास भएछन्,’ उनले भने, ‘जसोतसो क्याम्प ४ मा पुग्दा त मलाई देखेर सबै चकित परे ।’

सगरमाथाको आरोहणको पहिलो प्रयास सफल नभए पनि बमकाजी निराश भने भएनन् । ‘सगरमाथा त म फेरि फेरि पनि चढ्छु नै भन्ने थियो, सँगसँगै अब संसारका सातै महादेशका अग्ला शिखर चढ्छु भन्ने आँट आयो,’ उनले भने, ‘अनि सेभेन समिटबारे अध्ययन गर्न थालें ।’ नियमित सरकारी जागिरको व्यस्तताका बीचबाट आफू कार्यरत कार्यालय र सरोकारवाला निकायलाई आफ्नो लक्ष्य र उद्देश्यबारे बताउँदै हिमालको अन्वेषण र अध्ययनमा जुटेको बमकाजीको भनाइ छ । ‘मलाई सबैभन्दा मुस्किल भनेकै समय कसरी मिलाउने भन्ने हो । तर सबैले मेरो लक्ष्य बुझिदिनु भएर सम्भव भइरहेको छ,’ उनले भने ।

सगरमाथाको पहिलो प्रयास सफल नभएपछि बमकाजीले २०८० असोज १० मा अफ्रिका महादेशको अग्लो शिखर किलिमन्जरो हिमालको सफल आरोहण गरे । ‘तान्जानियामा पर्ने ५ हजार ८ सय ९५ मिटर अग्लो किलिमन्जरोको चुलीमा पुगें,’ उनले भने, ‘त्यसपछि म रसियामा पर्ने युरोप महादेशको अग्लो शिखर एलब्रस हिमाल चढ्न त्यसतर्फ गएँ ।’ तर रसिया र युक्रेनको युद्धका कारण शंका गरेर त्यहाँको इमिग्रेसनले उनलाई विमानस्थलमा २ दिन राखेर नेपाल डिपोर्ट गरिदियो । तत्काल लक्ष्य पूरा नभएकोमा खिन्न हुँदै फर्किए । तर सेभेन समिटको लक्ष्यबाट भने उनी विचलित भएनन् । ‘त्यसपछि दक्षिण अमेरिकाको सर्वोच्च शिखर आकान्कागुवा हिमाल चढ्न अर्जेन्टिना पुगें । गत फागुन १ मा ६ हजार ९ सय ६२ मिटर अग्लो आकान्कागुवाको आरोहण गरें,’ उनले भने ।

केही समय नियमित काम गरेपछि बमकाजीको अबको लक्ष्य थियो, सगरमाथा आरोहण । एकपल्ट असफल भइसकेका उनले गत जेठ ६ को बिहान सगरमाथाको पनि सफल आरोहण गरे । ‘वैशाख ५ मा काठमाडौंबाट यात्रा सुरु गरेर करिब १ महिना लामो तयारीपश्चात् यो पटक मैले सगरमाथाको शिखर चुमें,’ उनले भने, ‘जब सगरमाथाको शिखरमा पुगे नि, ओहो त्यो बेलाको खुसी म शब्दमा बयान गर्न सक्दिनँ ।’

स्वदेशको मनास्लु र लोबुचे पिक तथा विदेशका २ वटा हिमाल चढेको अनुभवले सगरमाथा आरोहण गरेपछि बमकाजीले आफ्नो लक्ष्यको एउटा चरण पूरा भएको ठाने । त्यसपछि एकपल्ट गएर पनि फर्किएको देश रसिया पुगे । ‘गत साउन २३ मा युरोप महादेशको अग्लो शिखर एल्ब्रस पनि चढें । ५ हजार ६ सय ४२ मिटर अग्लो यो हिमाल आरोहण गरेर भर्खरै म स्वदेश फर्किएँ,’ उनले भने ।

‘यात्रीको यात्रा’ नामक अभियान बनाएर उनी सात महादेशका शिखर चुम्ने यात्रामा छन् । अब बाँकी रहेका ३ वटा महादेशका सर्वोच्च शिखर चढ्नका लागि आवश्यक तयारी गरिरहेको बमकाजीको भनाइ छ । ‘उत्तर अमेरिका, अस्ट्रेलिया र अन्टार्टिकाका लागि आवश्यक तयारीमा छु,’ उनले भने । आफू कार्यरत कार्यालय र तालुक निकायबाट आवश्यक अनुमति लिएर हिमाल आरोहणको यात्रामा कस्सिएका बमकाजीले सात महादेशमध्ये चार महादेशका सर्वोच्च शिखरको सफल आरोहण गर्ने आफू एकमात्र निजामती कर्मचारी भएको पनि दाबी गर्छन् । र, आगामी दिनमा यो रेकर्ड थप बलियो हुने उनको विश्वास छ ।

बाबा तिल्बिर र आमा भूमिकाका सात सन्तानमध्ये तेस्रो सन्तान बमकाजीकी पत्नी र एक छोरी छन् । हिमाल आरोहणका लागि अहिलेसम्म करिब ३० देखि ३५ लाख रुपैयाँसम्म खर्च भएको उनको भनाइ छ । ‘मेरो गाउँपालिका सानीभेरी, काभ्रेको खानीखोला र रामेछापको सुनापति गाउँपालिका तथा देश–विदेशमा रहनुभएका साथीभाइ, शुभचिन्तक र आफन्तहरूको साथ–सहयोगले यो सम्भव भएको हो,’ उनले भने । जातीय र भौगोलिक रूपमा थिचोमिचोमा परेको आफ्नो तीतो अनुभवलाई शक्तिमा बदल्दै सकारात्मक सन्देश दिन आफू हिमाल आरोहणको महायात्रामा निस्किएको बमकाजीको भनाइ छ ।

प्रकाशित : भाद्र १६, २०८१ ०६:१५
x
×