कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

एकै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव पास हुन्छ : महामन्त्री शर्मा

भाद्र १५, २०८१
एकै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव पास हुन्छ : महामन्त्री शर्मा

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटकमात्रै प्रधानमन्त्री बन्ने प्रस्ताव आइतबार बन्ने केन्द्रीय समितिको बैठकबाट पास हुने दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

महामन्त्री शर्माले कांग्रेस केन्द्रीय समितिको बैठकमा आफूले एक पटक राष्ट्रपति र दुई पटकमात्रै प्रधानमन्त्री बन्न पाउने नीति प्रस्ताव गरेको भन्दै उक्त प्रस्ताव आइतबारको बैठकबाट पारित हुने बताए ।

शर्माको उक्त प्रस्तावलाई लिएर पार्टीभित्र बहस भइरहेको छ । महामन्त्री शर्माले भने त्यसबारे बैठकले साझा दृष्टिकोण बनाउने र सहमतिबाट पारित गर्ने दाबी गर्छन् । प्रधानमन्त्री जतिसुकै लोकप्रिय बनेपनि उसले दुई पटक भन्दा बढी बन्न नपाउने व्यवस्था हुनुपर्ने भन्दै उनले अहिले केही समस्या रहेको भएपनि त्यसलाई छलफलबाट सहमतिले पास गरेर जाने बताए ।

महामन्त्री शर्माले एक पटक राष्ट्रपति बन्न पाउने र दुई पटक मात्रै प्रधानमन्त्री बन्न पाउने दृष्टिकोण बनाएर जानसके भविष्यमा सबै राजनीतिक दलहरुलाई प्रभाव पार्ने बताए । उनले उक्त दृष्टिकोण अहिले बन्न नसके संविधान संशोधनको समयमा उपयुक्त समयमा छलफल गर्ने गरी अघि बढाउने पनि बताए ।

उनले भने, ‘कांग्रेसमा अहिले १, २, ३, ४ भन्ने सुन्नुभएको होला । यो देशमा खाली प्रधानमन्त्री एकै अनुहारहरू पटक-पटक हुने अवस्था छ । नागरिकलाई ताजा नेतृत्व कहिले आउँछ ? भन्ने चासो छ । त्यसैले मैले एउटा पोलिसी प्रस्ताव गरेको छु । कुनैपनि राजनीतिक दलले कसैलाई पनि दुई पटक राष्ट्रपति बनाउन पाउँदैन, यो देशको राष्ट्रपति एक व्यक्ति एक पटकमात्रै राष्ट्रपति बनेर शितलनिवासबाट बिदा भएर जानुपर्छ । अनि प्रधानमन्त्री बन्दै गर्दा चार पटक, छ पटकसम्म प्रधानमन्त्री हुनुभयो रे भन्ने सुनिरहन अबको युवा पुस्ता तयार छैन । त्यसकारण अब प्रधानमन्त्री जतिसुकै लोकप्रिय भएपनि, जनताको जतिसुकै रुवावासी चलोस्, तर दुई पटक प्रधानमन्त्री भएपछि तीन पटक प्रधानमन्त्री बन्न कसैले पनि पाउनुहुँदैन ।'

उनले आफूले पार्टीमा गरेको त्यो प्रस्तावमाथि विवाद भइरहेको भएपनि आइतबारको बैठकले निष्कर्षमा पुर्‍याउने बताए ।

प्रकाशित : भाद्र १५, २०८१ १५:०३
x
×