कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

दाहाललाई ओलीको चेतावनी - बंगलादेशबाट राम्ररी सिक !

भाद्र १५, २०८१
दाहाललाई ओलीको चेतावनी - बंगलादेशबाट राम्ररी सिक !

Highlights

  • ‘हिंजो प्रचण्डजीले बंगलादेशबाट सिक भन्नुभएछ, मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ? मैले लुटपाट गरेको छु र ?’

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सरकारले बंगलादेशबाट सिक्नु पर्ने’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको भनाइको कडा शब्दमा प्रतिवाद गरेका छन् ।

दाहालले कांग्रेस एमालेको सरकारले संसद्को‌ गणितका आधारमा शासन गर्न खोजेको भन्दै बंगालादेशकाे राजनीतिक उथलपुथलबाट शिक्षा लिनुपर्ने भन्दै आएका छन् । ओलीले सरकारले नभई ‘१० वर्षे हिंसात्मक द्वन्द्व’ को नेतृत्व गरेको माओवादी अध्यक्ष दाहालले ‘राम्ररी सिक्न’ चेतावनी दिएका छन् । उनले आफूले नभई दाहालको नेतृत्वमा १७ हजार मान्छे मारिएको उल्लेख गर्दै आफूले खुट्टा कमाउनु पर्ने कुनै कारण नभएको बताए ।

‘हिजो प्रचण्डजीले बंगलादेशबाट सिक भन्नुभएछ, मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ? मैले लुटपाट गरेको छु र ?’, ओलीको चेतावनी छ, ‘श्रीलंकाबाट सिक, बंगलादेशबाट सिक भनेर जो चर्को स्वरमा भन्दै हुनुहुन्छ । म भन्दैछु राम्ररी सिक ।’

उनले बंगालादेशमा भएको राजनीतिक उथलपुथल नेपालमा संभव नभएको दाबी गरे । ‘बंगलादेशमा केही भयो भने नेपालमा त्यही हुन्छ ? नेपाल कुनै देशको फोटोकपी होइन,’ उनले भने ।

उनले संविधानलाई देश र जनताको पक्षमा परिस्कृत गर्दै जाने उल्लेख गर्दै माओवादी प्रजातन्त्रको विरुद्ध लागेका हुनाले चर्को स्वर गर्न उचित नभएको बताए । ‘जो यो प्रणाली र डेमोक्रेसीविरुद्ध लड्यो उसैका ठूला कुरा ?’ ओलीको भनाइ थियो, ‘अब कहिल्यै पनि त्यस प्रकारको हिंसा संभव छैन । उल्टै हामीलाई तर्साउन खोज्ने ?’

उनले आफू पनि बारुदका बीचमा यात्रा गरेर आएको उल्लेख गर्दै माओवादी सशस्त्र युद्धको विरोध गर्दै आएको बताए । ‘माओवादीले जनयुद्धका नाममा हिंसा फैलाइरहेका बेला, अन्धाधुन्द लुटिरहेको बेला, मान्छे मारिरहेका बेला चर्को विरोध गरेँ’ उनले भने, ‘मैसँग सेना थिएन, प्रहरी थिएन चर्को विरोध गरेँ । विरोधमात्र गरिनँ, कसरी वार्ता संवादको प्रयास गरेँ ।’

ओलीले शनिबार क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टु द फायर’ पुस्तकको विमोचन गर्दै शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध भएको बताए । राजनीतिप्रति घृणा फैलाउने प्रयासले समाजलाई संस्कारहीनता, अराजकता र बेथितितर्फ लग्ने प्रयास भइरहेको उनले बताए । ‘अहिलेको सरकारले कसैमाथि अन्याय र अत्याचार गर्दैन,’ उनले भने, ‘आफ्नो हित र रक्षाका लागि केही गलत काम गर्दैन तर जनताको हित र रक्षाविरुद्ध कसैले काम गरेमा विधिको शासनबमोजिम शान्ति सुरक्षा र सम्मान कायम गर्छ ।’

प्रधानमन्त्री ओलीले राज्यका निकायले कानुनको पालना गर्नुपर्ने उल्लेख गर्दै न्यायोचित कानुनलाई सबैले मान्न पर्ने बताए । ‘कानुनको विवेकसम्मत कार्यान्वयन हुनुपर्छ । लोकतन्त्र सरकार र सबैको जीवनपद्धति हुनुपर्छ । हामी परिपूर्ण लोकतन्त्रको पक्षमा छौं,’ उनको भनाइ थियो ।

उनले आफूलाई एक वर्ष १० महिना सरकारको नेतृत्व गर्ने समय भए पनि त्यसअघि नै कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताए । उनले न्यायिक कमाईबाहेक अरु सम्पत्तिमा लोभ नगर्ने, अनैतिक काम नगर्ने, जानी जानी झुठ नबोल्ने, अरुको अहित नगर्ने, भ्रष्टाचार नगर्ने र गर्न नदिने उल्लेख गर्दै देशको अर्थतन्त्र शिथिल भएका बेला अर्थतन्त्रलाई सुधार्दै गरिबीको दुष्चक्रबाट मुलुकलाई माथि उठाउने दाबी गरे ।

प्रकाशित : भाद्र १५, २०८१ २१:२९
x
×