कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

आँखा अस्पतालहरूमा भारतीयको आकर्षण

भाद्र १५, २०८१
आँखा अस्पतालहरूमा भारतीयको आकर्षण

Highlights

  • भारतमा भन्दा सस्तो र स्तरीय सेवा रहेकाले नेपालसम्म धाएर उपचार गराउने बढ्दो 

काठमाडौँ — भारतको महाराजगन्ज जिल्लाकी ७० वर्षीया सावित्री पाण्डे रूपन्देहीको भैरहवास्थित लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरमा शल्यक्रियाका लागि पालो पर्खिरहेकी थिइन् । तीन महिनाअघि दुवै आँखाको शल्यक्रिया गरेकी उनको आँखाको झिल्लीमा समस्या देखिएपछि पुनः शल्यक्रियाका लागि गतसाता आएकी हुन् । ‘अघिल्लो पटक पनि राम्रो उपचार भयो, त्यसैले फेरि यहीँ आएँ,’ उनले भनिन् ।

भारतकै बलरामपुर पिपरी चन्दापुरका ५५ वर्षीय मुर्तजा साह कपिलवस्तुको बहादुरगन्जस्थित छन्द (काले बाबु) नारायणी आँखा अस्पतालमा भेटिए । उनको घरबाट आधा घण्टा दूरीमा रहेको बलरामपुर बजारमा पनि आँखा अस्पताल छ । तर पनि उनी सीमावारिको नेपाली अस्पताल आएका थिए । भारतमा भन्दा सस्तो र स्तरीय सेवा उपलब्ध रहेकाले यहाँ आएको उनले बताए । गाउँकै मदरसामा ऊर्दु र अरबी पढाउने उनले आँखाले अक्षर ठम्याउन नसकेपछि शल्यक्रिया गरेको बताए ।

भारतको श्रावस्ती जिल्लास्थित चिरैयारानीसिरका ६२ वर्षीय अमेरिकाप्रसाद यादव पनि आँखाको उपचार गर्न साताअघि नेपालगन्जको फुलटेक्रास्थित फत्तेवाल आँखा अस्पतालमा आएका थिए । मोतिबिन्दु भएर देख्न समस्या भएकाले केही महिनाअघि उनले दाहिने आँखाको शल्यक्रिया गराएका थिए । श्रावस्तीमा दुईवटा आँखा भए पनि राम्रो उपचारका लागि नेपाल आएको उनले बताए ।

स्थापनाको चार दशक नाघिसकेको रुपन्देहीको सिद्धार्थनगर–३ स्थित लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरमा उपचारका लागि आउने बिरामीमध्ये ७० प्रतिशत भारतीय रहेको अस्पतालका निर्देशक प्राध्यापक डा. ज्ञानेन्द्र पराजुलीले बताए । भारतको महाराजगन्ज, आजमगड, कुशीनगर, बनारस, जयनगर, गोरखपुरका बिरामी आइरहेको उनले बताए । उनका अनुसार कोलकत्ता, मुम्बईबाट रिफर गरिएका बिरामी पनि आउने गरेका छन् । यहाँको उपचार भरपर्दो भएकाले अधिकांश भारतीयको रोजाइमा परेको उनले बताए ।

अस्पतालमा आइतबार, सोमबार र मंगलबार बिहान ११ बजेदेखि १ बजेसम्म चाप हुन्छ । साताको पहिलो तीन दिन २५ सय हाराहारी बिरामी आउँछन् । तीमध्ये करिब ३ सय शल्यक्रिया गर्ने खालका बिरामी हुन्छन् । बुधबारदेखि शुक्रबारसम्म हजार जति बिरामी आउँछन्, तीमध्ये सय जति शल्यक्रियाका लागि आएका हुन्छन् । अस्पतालमा २ सय ५० कर्मचारी छन्, जसमा २ जना अप्थ्याल्मोलोजिस्ट, २ जना एनेस्थेसियालोजिस्ट, एक नाक–कान–घाँटीका चिकित्सक छन् ।

कपिलवस्तुको बहादुरगन्जस्थित छन्द (काले बाबु) नारायणी अस्पताल भारतीय बिरामीले धानिएको छ । गत आर्थिक वर्ष अस्पतालले आँखाको शल्यक्रिया गरेका ८ हजार मध्ये ५ हजार ६ सय ५० जना भारतीय थिए । गत वर्ष ७० हजारले बहिरंग सेवा लिएकोमा ७० प्रतिशत भारतीय रहेको नेत्र अधिकृत ओपेन्द्र चन्दले बताए ।

सीमादेखि १२ किलोमिटर उत्तरमा रहेको अस्पताल आउन बढनीसम्म ब्रोडगेज रेल र बस चल्छन् । कृष्णनगरबाट अस्पतालसम्म सहज यातायात सुविधा छ । सस्तोमा गुणस्तरीय सेवा पाउने भएकाले भारतीयको चाप हुने अस्पतालका प्रशासकीय अधिकृत जसराम विश्वकर्माले बताए । सर्जन डा. सुलक्ष्मी कटुवालको नेतृत्वमा २५ जना स्वास्थ्यकर्मीको टोली छ । आँखासँगै कानको प्राथमिक उपचार सेवा उपलब्ध रहेकाले चाप बढेको विश्वकर्माले बताए । भारतको बलरामपुर, सिद्धार्थनगर, गोन्डा र बस्ती जिल्लाका विरामी यहाँ उपचार गर्न आउँछन् ।

बाँकेको फुलटेक्रास्थित फत्तेबाल आँखा अस्पतालमा पनि आँखाका भारतीय बिरामी उत्तिकै आउँछन् । प्रबन्ध निर्देशक डा. कौशल बर्माका अनुसार २०४३ मा स्थापना भएको अस्पतालमा दैनिक सरदर ४ सय र वार्षिक १ लाख ४० हजारको आँखा परीक्षण गरिन्छ । वार्षिक १० हजारको शल्यक्रिया भइरहेको छ । १० शय्याबाट सुरुवात भएको अस्पतालमा अहिले २ सय ५० शय्या छ । अस्पतालअन्तर्गत विभिन्न जिल्लामा पाँचवटा उपचार केन्द्र सञ्चालन छन् ।

कैलालीको गेटा आँखा अस्पताल दशकौंदेखि भारतीयका लागि विश्वासिलो र सहज उपचार केन्द्रका रूपमा छ । अस्पतालका आउटरिच अफिसर रमेशचन्द्र भट्टका अनुसार गेटामा उपचार गराउने बिरामीमध्ये ४० प्रतिशत भारतीय हुन्छन् । ०८०/८१ मा सेवा लिएका ९५ हजार २ सय ४३ बिरामीमध्ये ३० हजार ८ सय ५० जना भारतीय रहेको अस्पतालले जनाएको छ । भारतको लखिमपुर खिरी, सहाजहापुर, बरेली, पीलिभित, उधमसिंहनगर, रामपुर, मुरदावाद, दिल्ली, कलकत्ता, पञ्जावलगायत ठाउँबाट बिरामी गेटा आउने गरेका छन् । ०३७ मा स्थापना भएको यो अस्पतालमा १५ जना विशेषज्ञसहित १ सय ६० जना स्वास्थ्यकर्मी उपचारमा खटिएका छन् ।

गत जेठमा भारतको बिहारस्थित पश्चिम चम्पारण हरिनगरका गुड्डु साह आफ्ना बाबु जोगेन्द्र र सानोबुबा रामचन्द्रलाई लिएर आँखा उपचार गराउन चितवन भरतपुरस्थित अस्पताल आए । भरतपुर आउनुपूर्व दुवै पर्साको ठोरीस्थित आँखा उपचार केन्द्रमा पुगेका थिए । ठोरी उपचार केन्द्र पनि भरतपुर आँखा अस्पतालले सञ्चालन गरेको हो । ठोरीबाट बिहारको हरिनगर टाढा छैन । ठोरीले दुवैलाई शल्यक्रियाका लागि भरतपुर पठायो । भरतपुर आँखा अस्पतालले २०७२ मा पर्साको ठोरीमा अस्पताल सञ्चालनमा ल्याएको थियो ।

ठोरीमा अधिकांश भारतीय बिरामी आउँछन् । अस्पताल प्रमुख चन्द्र श्रेष्ठका अनुसार गत आर्थिक वर्ष उपचारका लागि आएका ठोरीमा १५ हजार २ सय १४ जनामध्ये १३ हजार ४ सय २ भारतीय रहेको उनले बताए । ठोरीमा १ हजार ३१ जनाको आँखाको शल्यक्रिया गरिएकोमा ४४ जना मात्रै नेपाली रहेको श्रेष्ठले बताए ।

धनुषास्थित जानकी आँखा अस्पताल, सिरहा लहानको सगरमाथा चौधरी आँखा अस्पताल र वीरगन्जको केडिया आँखा अस्पतालमा उपचार गराउन आउने भारतीयको लर्को हुन्छ । आँखा उपचारमा भरपर्दो सेवा दिइरहेका सीमावर्ती यी सहरमा भारतीय निर्धक्क भएर उपचार गराउन आउँछन् । जनकपुरको जानकी आँखा अस्पतालमा दैनिक उपचार गराउन आउने ८ सय बिरामीमध्ये आधाजति भारतकै हुन्छन् । अस्पतालका मेडिकल डाइरेक्टर डा. आशिष बोहराका अनुसार वर्षमा १२ हजारको मोतिबिन्दूको शल्यक्रिया हुँदा ३० प्रतिशत भारतीय हुन्छन् । ओपीडी सेवा लिने १ लाख २५ हजार बिरामीमध्ये ३० प्रतिशत भारतकै हुने गरेको डा. बोहराले बताए ।

भारतको विहार राज्यका नवादा जिल्लास्थित मरुई ग्राम पञ्चायतका ७० वर्षीय श्यामकिशोर कुशवाहालाई आँखा कम देखिने, तिर्मिर हुने समस्या भयो । उनले गत अक्टोबरमा नवादास्थित एक क्लिनिकमा जचाए । चिकित्सकले दिएको औषधिले समस्या झन् बल्झियो । गत, डिसेम्बरमा विहारको राजधानी पटना गएर फेरि आँखा जचाउँदा चिकित्सकले मोतीबिन्दुको शल्यक्रिया गर्न २५ हजार भारु लाग्ने बताए । आफन्तसँग सरसल्लाह गर्दा उनलाई लहानको आँखा अस्पतालमा उपचार गराउन धेरैले सुझाए । नातीलाई साथ लिएर लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताल आइपुगे उनको दायाँ आँखाको मोतीबिन्दुको शल्यक्रिया जम्मा १३ हजार नेपाली रुपैयाँमा भयो । दुई दिनमै लहानबाट घर फर्किएका उनको आँखा पहिलेजस्तै ठीकसँग काम गर्न थालेपछि फेरि लहान आए । बायाँ आँखाको पनि शल्यक्रिया भयो । दुवै आँखा ठीक भएपछि उनले कान्तिपुरसँग खुसी साटे । ‘दुवै आँखा चंगा भएको छ, पैसा पनि थोरैमा पुग्यो,’ उनले भने, ‘नेपालको आँखा अस्पतालमा हाम्रो भरोसा छ ।’

श्यामकिशोरकै छेउमा भेटिएका विहारकै छपरा जिल्लास्थित भैरवपुर पञ्चायतका उमेश तिवारी पत्नीको आँखा उपचारका लागि आएका रहेछन् । भर्ना कक्षमा बेडमा सुतिरहेकी ५५ वर्षीया श्रीमती मिरादेवीको आँखामा समस्या आएपछि उनले छपरास्थित एक आँखा अस्पतालमा देखाएका रहेछन् । चिकित्सकले शल्यक्रिया गर्नुपर्ने सुनाए । त्यसपछि सबैको सल्लाहमा उनी आएका रहेछन् । आएको केही घण्टामै आँखाको मोतीबिन्दुको शल्यक्रिया भयो । त्यसको बिहानैपल्ट दिउँसो उनकी श्रीमती डिस्चार्ज भइन् । उनका अनुसार लहानमा उपचारका लागि १४ हजार रुपैयाँ खर्च भयो । जबकि, भारतमा २० हजार भारुभन्दा बढी लाग्छ ।

लहानको आँखा अस्पतालमा उपचार गराउन आउने बिरामीमध्ये ४० प्रतिशत भारतीय हुन्छन् । सीमावर्ती भारतीय विहार राज्यसहित, उत्तर प्रदेश, सिक्किम, दार्जिलिङ, असम, मेघालय, झारखण्डलगायत प्रदेशबाट बिरामी उपचार गराउन आउने गरेको अस्पतालका वरिष्ठ प्रबन्धक अभिषेक रोशनले बताए ।

विहार पश्चिम चम्पारण छपराका ६५ वर्षीय सराजुल मियाँ दाहिने आँखामा धमिलो देखिएकाले गत सोमबार वीरगन्जस्थित केडिया आँखा अस्पतालमा उपचार गराउन आइपुगे । ‘देब्रे आँखाको मोतीबिन्दुको शल्यक्रिया एक वर्षअघि यसै अस्पतालमा गराएको थिएँ,’ उनले भने, ‘अहिले दाहिने आँखामा समस्या देखिएको छ, हाम्रोतिर पनि आँखा अस्पताल नभएको होइन, तर मलाई यही ठीक लाग्छ ।’ विहार पश्चिम चम्पारण बेतियाकी ४० वर्षीया तजरुन नेसा पनि अस्पतालमै भेटिन् । देब्रे आँखा दुख्ने र फड्फडाउने समस्या देखिएपछि उनले आफू उपचारार्थ आएको बताइन् ।

नेपाल र भारतका मात्र होइन, तेस्रो मुलुक बंगलादेशदेखि आँखाका बिरामी लहान आइ पुगेका छन् । बंगलादेशका १७ वर्षीय मोहम्मद समिम बाँया आँखा देख्दैनथे । परिवारले उनलाई बंगलादेश र भारतका थुप्र्र्रै अस्पतालमा देखाए । तर, ठीक नभएपछि बंगलादेशकै नेपाल घुमेका एक आफन्तले सुझाएपछि गतवर्ष परिवारले समिमलाई लहानस्थित आँखा अस्पताल ल्याएर उपचार गराएको हो ।

वीरगन्जको ५० वर्ष पुरानो केडिया आँखा अस्पतालमा पनि भारतीय बिरामीको घुइँचो लाग्छ । अस्पतालका अनुसार यहाँ उपचार गराउन आउने बिरामीमध्ये झन्डै ६० प्रतिशत भारतीय हुन्छन् । अस्पतालका प्रबन्धक प्रकाशकुमार बर्माले गत वर्ष अस्पतालमा १ लाख २० हजार ३ सय १६ जनाले आँखाको उपचार गराएकोमा ती मध्ये ६० प्रतिशत भारतीय थिए ।

वीरगन्जकै अर्को दृष्टि आँखा अस्पतालमा गत बर्षमा ६८ हजार ६९ बिरामी आँखाको समस्या लिएर उपचारका लागि आएकोमा तीमध्ये २७ हजार ५ सय भारतीय थिए । अस्पतालका चिकित्सक वसन्त पौडेल तुलनात्मक रूपमा भारतीय अस्पतालभन्दा नेपाली अस्पतालमा उपचार शुल्क पनि कम लाग्ने र विश्वसनीय तथा भरपर्दो उपचारसमेत हुने भएकाले सीमावर्ती क्षेत्रका भारतीयको आकर्षण बढेको हुन सक्ने बताउँछन् ।

– सन्जु पौडेल (लुम्बिनी), मनोज पौडेल (कपिलवस्तु), रूपा गहतराज (नेपालगन्ज), अर्जुन शाह (धनगढी), रमेशकुमार पौडेल (चितवन), अजित तिवारी (जनकपुर), विनय आजाद (सिरहा) र शंकर आचार्य (पर्सा)

प्रकाशित : भाद्र १५, २०८१ ०५:४०
x
×