कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

राजनीतिक क्षेत्रमा दलितहरूलाई १४ प्रतिशत सिटमा आरक्षण दिनुपर्छ : भट्टराई

भाद्र १५, २०८१
राजनीतिक क्षेत्रमा दलितहरूलाई १४ प्रतिशत सिटमा आरक्षण दिनुपर्छ : भट्टराई

काठमाडौँ — नेपाल समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले राजनीतिक क्षेत्रमा दलितहरूलाई १४ प्रतिशत सिटमा आरक्षण दिनुपर्ने बताएका छन् । उनले समाजमा जाति प्रथाको सिर्जना गैरदलितहरूले गरेको भन्दै अब त्यसको निराकरण पनि गैरदलितहरूले नै गर्नुपर्ने बताए । 

शनिबार काठमाडौंको माइतीघरमा जारी दलितका लागि दलित अभियानको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै अध्यक्ष भट्टराईले दलित समुदायमाथिको जातीय विभेदमात्रै नभई राजनीतिक, आर्थिक र सामाजिकरुपमा भएका सबै विभेदको निराकरण गर्नेगरी राज्यले कानुन बनाएर पहल लिनुपर्ने बताए ।

'हामीले महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेका छौँ । मैले त पहिले पनि दलितलाई १४ प्रतिशत आरक्षण दिएर जाऔँ भनेको हुँ । अब पनि दलितलाई राजनीतिक क्षेत्रमा पनि प्रष्टरुपमा १४ प्रतिशत आरक्षण दिएर जानुपर्छ,' उनले भने ।

गएको २५ दिनदेखि उक्त अभियानका संयोजक खगेन्द्र सुनार नेतृत्वमा युवाहरूले माइतीघरमा धर्ना बसेर दलित समुदायको संविधानप्रदत्त अधिकार सुनिश्चित गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले शनिबार सोही आन्दोलनमा ऐक्यबद्धता जनाउँदै अधिकारका लागि पहिलो पाइला दलित समुदायले नै चाल्नुपर्ने बताए । 'जो पीडित छ । उसले उठेर मलाई अधिकार चाहियो भन्नैपर्छ । त्यसपछि उत्पीडित समुदायको अधिकारका लागि हामीजस्ता समाजका अगुवाहरूले पनि साथ दिनुपर्छ । यो जातीय विभेद भनेको दलितले बनाएको होइन, त्यसकारणले दलितले मात्रै समाधान गर्न सक्ने कुरा पनि होइन,' उनले भने, 'यसमा गैरदलितको पनि साथ हुनुपर्छ । धार्मिक सांस्कृतिकरूपमा बनेका मान्यताहरूलाई तोडेर समाजलाई अगाडि बढाउन सक्नुपर्छ ।'

अध्यक्ष भट्टराईले संविधानको धारा ४० ले दलित समुदायलाई शिक्षा, स्वास्थ्य, भूमि जस्ता विषयहरुमा शशक्तिकरण गर्नुपर्ने उल्लेख रहेको भन्दै त्यसको कार्यान्वयनका लागि सरकारले ध्यान दिनुपर्ने बताए । 'दलितलाई नि:शुल्क शिक्षाको व्यवस्था गर्नुपर्छ,' उनले भने, 'आर्थिक अभावकै कारण दलितले अहिले पढ्न पाएको छैन । अब एकैपटक हजारौँ दलितहरूले मास्टर पीएचडी गर्छन् । उनीहरूको आर्थिक सबलीकरण हुन्छ । त्यसले समाजलाई समतामूलक बनाउन मद्दत पुग्छ । यो जातीय विभेदजस्तो अमानवीय व्यवहारको अन्त्य गर्न सहयोग नै पुग्छ ।'

उनले जाति प्रथाको समस्या समाधानका लागि दक्षिण एसियामा अम्बेडकरको दर्शन चर्चित रहेको भन्दै सय वर्षअगाडि अम्बेडकरले थालेको अभियानलाई निरन्तरता दिनुपर्ने बताए । दलितका लागि दलित अभियानले गएको २५ दिनदेखि संविधानबमोजिम दलितलाई अधिकार दिनुपर्ने भन्दै निरन्तर विरोध प्रदर्शन गर्दै आएको छ । संयोजक सुनारले शरीरमा नेल लगाएर प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित : भाद्र १५, २०८१ १७:५२
x
×