कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

बेवारिस बम विस्फोटमा दुवै हात गुमाए, द्वन्द्वपीडितको साथ जुटाए

भाद्र १५, २०८१
बेवारिस बम विस्फोटमा दुवै हात गुमाए, द्वन्द्वपीडितको साथ जुटाए

Highlights

  • जंगलमा बाख्रा पछ्याउँदा विस्फोटमा परेर दुवै हात गुमाएका म्याग्दीका सुरेन्द्र खत्रीले अपांगता भएका द्वन्द्वपीडितको सञ्जाल बनाए, शान्ति सम्झौतापछि पनि बेवारिस बम विस्फोटमा घाइते भएकाहरूलाई परिपूरण तथा न्याय दिलाउने प्रावधान उनीहरूकै खबरदारीले कानुनमा भर्खरै थपिएको छ
  • म विस्फोटमा पर्दा सशस्त्र द्वन्द्व चलिरहेको थियो, तर शान्ति सम्झौतापछि पनि बारुदी सुरुङ र बेवारिस बम पड्केर अरू धेरै घाइते तथा अपांगता भएका छन्, यी घटनालाई राज्यले बेवास्ता गर्न मिल्दैन

काठमाडौँ — सुरेन्द्रबहादुर खत्रीलाई सुरुमा देख्ने जो पनि एकै पटक हर्ष र विस्मात्ले घेरिन पुग्छ । हँसिलो अनुहार र फुर्तिलो जीउमा देखिने ऊर्जा देख्दा जोसुकैको हृदय रमाउँछ । तर कुइनाभन्दा अलिक तलबाट बिलाएका उनका दुवै हातमा आँखा पर्दा हृदय खलबलिन्छ । 

असंख्य अपरिचितले उनलाई पहिलो भेटमै सोधेका छन्, ‘के भयो यस्तो, कसरी भयो यस्तो ?’

यही प्रश्नलाई झेल्न नपरोस् भनेर सुरेन्द्रले झन्डै एक दशकसम्म ज्याकेटको लामो बाहुलाको सहारा लिए ।

‘मलाई सहानुभूति मन पर्दैन,’ भन्छन्, ‘कुन जुनीको पापले यस्तो भयो होला भन्छन्, यस्तो दया त झन् मन पर्दैन । त्यसैले आठ वर्षसम्म हात कसैलाई देखाइनँ ।’म्याग्दीको मंगला गाउँपालिका–२ सल्यानमा जन्मेहुर्केका सुरेन्द्रका हात २०६३ असार १२ को बेलुका ४ बजेसम्म ठीकठाक थिए । भारतीय गोर्खा सैनिकका लाहुरे बाबु लालबहादुर खत्रीको सपना थियो– छोरालाई पनि फौजी बनाउने । आठ पास गरे भर्ती हुन योग्यता पुग्थ्यो । २०४२ असोज १२ मा जन्मेका सुरेन्द्र १० कक्षा पुगेपछि एसएलसी नदिई लाहुरे बन्ने धुनमा लागे । शारीरिक व्यायाममा पारंगत भएपछि भर्ती हुन उनी २०६२ मा बनारस गए । दौडमा छानिए र शारीरिक जाँचमा पनि पास भए ।

अब केही कागजपत्र बनाउनुपर्ने थियो । त्यसैका लागि उनी बनारसबाट घर फिरे । भलिबलमा उनको रुचि थियो । जिल्लामा हुने अनेकन् प्रतियोगितामा खेल्न भनेर उनी धेरै ठाउँमा पुगेका पनि थिए । त्यो दिन पनि उनी नजिकको वनमा बाख्रा छाडेर सुटुक्क भलिबल खेल्न जाने सुरमा घरबाट निस्किए । तर वन पुगेपछि बाख्रा भाग्यो । पछिपछि कुद्दै जाँदा प्लास्टिकको एउटा थैलोमा उनको खुट्टा अल्झिन पुग्यो ।

के रहेछ भनेर उनले टिपे । अनि एउटा डिलजस्तोमा बसेर त्यसलाई खोल्न थाले । ‘भयंकर आवाजसहित विस्फोट भयो, म ढलें,’ सुरेन्द्रले सुनाए, ‘आँखा पुछ्न भनेर मैले हात माथि लग्न खोजें, हातै गएन, जबर्जस्ती उठाएर अनुहारमा लग्दा तातो सिर्काले हिर्कायो, हात त भुइँमा झरिसकेको रहेछ ।’

उठेर चिच्याउँदै घरतिर जान खोज्दा सुरेन्द्र दुई पाइला पनि सार्न नपाई ढले । कम्मरमुनि तिघ्रा, दाहिने खुट्टाको बुढीऔंलाको टुप्पा, पिडौंलालगायतमा गम्भीर चोट लागेको रहेछ, त्यो त उनले धेरैपछि अरूले भनेपछि मात्रै थाहा पाए । त्यो दिन परिवारका सबै सदस्य पर्म गर्न टाढाको खेतमा गएका थिए । बम पड्केको सुनेर के भयो भनी हेर्न आउँदा छिमेकीले सुरेन्द्रलाई घाइते अवस्थामा देखे ।

‘उनैले मेरा बाआमालाई बोलाइदिए, गाउँका अरू पनि जम्मा भएछन्,’ सुरेन्द्र भन्छन्, ‘जीउभरि घाउ लागेको थियो, नाक, मुख र आँखाबाट पनि रगत आइरहेको थियो रे, कसैले छुने आँटै गर्न सकेनछन् ।’ बीभत्स दृश्यले स्तब्ध परिवारजन र गाउँलेलाई सुरेन्द्रकी ठूलीआमाका छोरा मणिराज जीसीले आएर हप्काएछन्, ‘के हेरेर बसेको ? अस्पताल लैजानुपर्छ जतिसक्दो छिटो ।’ भारतीय सेनाका लाहुरे मणिराजलाई घाइते अवस्थाका सिपाहीको कसरी उद्धार गरिन्छ भन्ने थाहा थियो । स्ट्रेचर पनि नभएको त्यस आपत्पूर्ण क्षणमा गाउँले मिलेर काठको डोला बनाएछन् । ‘मलाई त्यसैमा हालेर चार किलोमिटरसम्म बोकेर लगेछन्, तलको गाउँमा भर्खरै बस चल्न थालेको थियो, त्यही बसमा हालेर १५ किलोमिटर टाढा सदरमुकाम बेनी पुर्‍याएछन्’ सुरेन्द्र भन्छन् ।

अत्यधिक रक्तस्रावले बाटैमा सुरेन्द्र घरी बेहोस हुने, घरी थाहा पाएजस्तो हुने अवस्थामा थिए । जिल्ला अस्पताल पुर्‍याउँदा ‘बम पड्केको भनेपछि माओवादी हो कि क्या हो’ भनेर सेनाले केरकार गर्दा प्राथमिक उपचारमा ढिलाइ भयो । तिनताक म्याग्दी र पर्वतका बीचमा बग्ने कालीगण्डकीमा पुल बनिसकेको थिएन । खोलापारि रोकिराखेको एम्बुलेन्समा हालेर उनलाई पोखरा लैजान भने सेनाले नै सघायो । ‘मलाई एकैपटक अस्पतालमा पुगेपछिको सम्झना छ,’ भन्छन् । डाक्टरले इन्जेक्सन दिएको पनि रमरम सम्झन्छन् उनी ।

‘त्यसपछि म पाँच दिनसम्म बेहोस भएछु, ब्युँझँदा आईसीयूमा थिएँ, होसमा आउँदा आँखा नखुलुन्जेल पनि मलाई हात गएको फिलिङ थिएन’ उनी भन्छन् । तर जब उनले आँखा खोले, आफूले कल्पनै नगरेको अवस्थामा पाए । भलिबललाई एक लयका साथ विपक्षीहरूको कोर्टमा बजार्न सक्ने उनका बलिष्ठ हात दुवै थिएनन् । दुवै हात काटिए पनि त्यसलाई ब्यान्डेज नगरी छाडेका थिए डाक्टरले । ‘काटिएको हातको त्यो दृश्य देखेपछि मलाई संसार एकैपटक ठप्प भएजस्तो भयो’ उनी भन्छन् ।

अस्पतालबाट घर फर्केपछि पनि कैयौं महिना उनी निराशाको कालो सुरुङमा हराए । ‘मैले कसै गरे पनि आफ्नो अवस्थालाई स्विकार्नै सकेको थिइनँ,’ सुरेन्द्र भन्छन्, ‘मान्छेहरूले बिचरा भनेको त झन् सहनै सकिनँ, त्यसैले वर्षौंसम्म ज्याकेटको बाहुला खुलै छाडेर राखें ।’

एक दिन उनले ‘अपांग संघ म्याग्दी’ को कार्यालयमा अपांगता भएका थुप्रै मानिसलाई भेटे । ‘उहाँहरू सबको अवस्था मेरोभन्दा पनि अप्ठेरो थियो, कसैको खुट्टा थिएन, कसैको पूरै जीउ चल्दैनथ्यो, कसैको आँखाले काम गर्दैनथ्यो,’ सुरेन्द्रले भने, ‘त्यसबेला मलाई लाग्यो, मभन्दा पनि अप्ठेरामा परेका अरू धेरै मानिस रहेछन् तर पनि बाँच्न र अघि बढ्न संघर्ष गरिरहेका छन् ।’

सुरेन्द्रलाई ‘यी साथीहरूका लागि पनि केही गर्नुपर्छ मैले’ भन्ने लागेछ । अनि आफ्ना काटिएका हात लुकाउन छाडिदिए । कसैले देखाउने बिचराको भावले पिरोलिन बन्द गरे । काटिएका दुवै हातमा कलम च्यापेर लेख्न सिके । रोकिएको पढाइ अघि बढाएर एसएलसी पास गरे । सामान्य काम गर्न अरूको भर नपर्ने गरी हातलाई तालिम दिए । र, ठूलो कुरा, उनी अपांगता भएका व्यक्तिहरूको अधिकारका लागि लड्न थाले । ‘द्वन्द्वले मेरोजस्तो अवस्थामा पुगेका साथी धेरै रहेछन्, मैले तिनलाई गोलबद्ध गरें,’ उनी भन्छन्, ‘कुनै पक्षको पनि साथमा नलागेका र युद्धमा संलग्न नभएका मजस्ता धेरै साथीको हक अधिकारका बारेमा बोल्ने कुनै संस्था र मानिस थिएनन्, हामी आफैंले आवाज उठाउन थाल्यौं ।’

अन्ततः २०७६ मा ‘अपांगता भएका द्वन्द्वपीडितहरूको राष्ट्रिय सञ्जाल’ को जन्म भयो । सञ्जाल अर्को वर्ष दर्ता हुँदा त्यसको अध्यक्ष भए सुरेन्द्र । द्वन्द्वका क्रममा घाइते र अपांगता हुन पुगेका ३ सय ५० जना सञ्जालका सक्रिय सदस्य छन् । बेवारिस बम विस्फोट हुँदा दुवै खुट्टा गुमाएका पोखराका रामचन्द्र विक, शान्ति सम्झौतापछि बारीमा काम गर्दा बम पड्केर दुवै आँखा गुमाएका कालीकोट तिलागुफाका आनन्द पाण्डे र लमजुङमा सेनाले राखेको धरापमा परी एउटा खुट्टा गुमाएकी सुनीता घलेसम्म त्यसमा सामेल छन् ।

२०७१ मा जारी भएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन’ मा शान्ति सम्झौतापछि घाइते, अपांगता हुन पुगेकाहरूसँग जोडिएका घटनालाई कसरी सम्बोधन गर्ने भन्ने कुनै व्यवस्था थिएन । सुरेन्द्रले सञ्जालका सदस्यहरूलाई एकै ठाउँ ल्याएर आफूहरूले भोगेको पीडालाई संक्रमणकालीन न्यायले अनदेखा गर्न मिल्दैन भनेर खबरदारी गरे । परिणामतः भर्खरै संशोधित ऐनमा शान्ति सम्झौतापछि बेवारिस बम र बारुदी सुरुङ पड्केर घाइते, अपांगता भएका मानिसको उजुरी लिने र तिनलाई परिपूरण तथा न्याय दिलाउने प्रावधान राखिएको छ ।

‘म विस्फोटमा पर्दा सशस्त्र द्वन्द्व चलिरहेको थियो र त्यसको ५ महिनापछि शान्ति सम्झौता पनि भयो,’ सुरेन्द्र भन्छन्, ‘शान्ति सम्झौतापछि पनि बारुदी सुरुङ र बेवारिस बम पड्केर अरू धेरैको अंगभंग भएको छ । यी घटनालाई राज्यले बेवास्ता गर्न मिल्दैन, हामीले कानुनमा त्यो राख्न लगाएका छौं । तर अधिकारको संघर्ष अझै जारी छ ।’

प्रकाशित : भाद्र १५, २०८१ ०५:२८
x
×