कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

विधेयकको मस्यौदा विचौलियाले ड्राफ्ट गर्ने होइन : सांसद गौतम

भाद्र १२, २०८१
विधेयकको मस्यौदा विचौलियाले ड्राफ्ट गर्ने होइन : सांसद गौतम

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले विधेयकहरूको मस्यौदा विचौलियाहरूले ड्राफ्ट गर्ने गरेको भन्दै आपत्ति जनाएकी छन् ।सरकारले संसद्‌मा दर्ता गराएको 'धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१' सरकारको कार्यक्षेत्र बाहिर मस्यौदा भएको भन्दै रास्वपाकी सांसद गौतमले संसदीय समितिमा विषय उठाएकी हुन् ।

प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बुधबारको बैठकमा बोल्दै सांसद गौतमले विधेयक निर्माणबारे आपत्ति जनाएकी हुन् । समितिमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफलका क्रममा उनले मस्यौदा बनाउने जिम्मा कानुन आयोगको भएपनि साउन ३२ गते संसद्‌मा दर्ता भएको एउटा विधेयकको ड्राफ्ट गर्ने जिम्मा 'पायोनियर ल असोसिएट्स'ले गरेको पाइएको भन्दै आपत्ति जनाएकी हुन् ।

‘विधायन व्यवस्थालाई व्यवस्थित गर्नुपर्ने सवालमा हामीले अहिले बनाइरहेका छौँ । कानुन मन्त्रालयले अन्तिम जिम्मेवारी लिनुपर्ने हो, तर मस्यौदा गर्ने काम त कानुन आयोगकै हो । साउनको ३२ गते जुन विधेयक दर्ता भएको छ संसद्मा त्यो दर्ता भएको विधेयक भर्खरै थाहा भयो । त्यो बाहिर कतै ड्राफ्ट भएर आएको भन्नेकुरा छ,' सांसद गौतमले भनिन्, 'विधेयक मस्यौदा गर्नुपर्ने जिम्मेवारी त मन्त्रालयको हो । मन्त्रालयले कानुन आयोगसँग समन्वय गर्नुपर्ने हो, तर साउन ३२ गते संसद्मा दर्ता भएको विधेयक संसद्मा छलफलका लागि आयो । त्यसमा स्पष्टसँग 'पायोनियर ल असोसिएट्स'ले ड्राफ्ट गरेको भन्नेकुरा स्पष्ट छ ।'

सरकारले संसद्मा ल्याउने विधेयक कहाँ मस्यौदा गरिन्छन् भन्ने कुरा महत्त्वपूर्ण रहेको सांसद गौतमको भनाइ थियो । विधेयकको जिम्मेवारी मन्त्रालयले लिनुपर्ने उनले बताइन् । 'विधेयकको अन्तिम जिम्मेवारी मन्त्रालयले लिने हो । तर मस्यौदा कानुन आयोगले गर्नुपर्छ । बाहिर ड्राफ्ट गर्ने बिचौलिया, कन्सलटेन्सी कसैलाई भन्ने काम बन्द गर्नुपर्छ । विज्ञ चाहिन्छ, कानुन आयोगले लिएर आउने हो । तर कानुन आयोगले नै विधेयक मस्यौदा गर्नुपर्छ,’ उनले भनिन् ।

समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधायन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक मस्यौदामामा छलफल जारी रहेको र परिमार्जन गर्ने सवालमा धेरै महत्वपूर्ण कुराहरू उठेको बताए । उनले भने, 'विधायन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक मस्यौदामा हामी छलफलमा छौँ । यस सम्बन्धमा र यसलाई परिमार्जन गर्ने सवालमा धेरै महत्वपूर्ण कुरा उठेको छ । अहिले छलफल चलि नै रहेकाले थप कुरा छलफलबाट नै सुनिश्चित हुनेकुरामा म सहमत छु ।’

प्रकाशित : भाद्र १२, २०८१ १४:५५
x
×