क्यानडा पठाउने भन्दै २५ जना युवाबाट ठगी

भाद्र २८, २०८१

कान्तिपुर संवाददाता

Fraud by 25 youths to send to Canada

काठमाडौँ — वर्किङ भिसामा क्यानडा पठाउने प्रलोभनमा पारी बसुन्धरास्थित जोजो हृयुमन रिसोर्स म्यानपावरले २५ जना युबाबाट मोटो रकम ठगी गरेको छ । प्रतिव्यक्ति १६ देखि २२ लाख रुपैयाँसम्म असुलेर उक्त म्यानपारका सञ्चालक सन्दीप न्यौपाने सम्पर्कविहीन भएका हुन् ।

सेप्टेम्बर १५ (भदौ ३०) मा १५ जना र सेप्टेम्बर २२ (असोज ६) मा १० जना युवालाई क्यानडा लैजाने भन्दै न्यौपानेले युवाहरुबाट रकम असुलेर सम्पर्कविहीन भएका हुन् ।

क्यानडा जाने सूचीमा १५ जना युवालाई शुक्रबारका लागि ‘ओरिएन्टेसन’का लागि बोलाइएको थियो । तर, युवाहरु शुक्रबार म्यानपावर कार्यालयमा पुग्दा कार्यालय बन्द गरेर न्यौपाने सम्पर्कविहीन भएको थाहा पाएपछि उनीहरु महाराजगन्जस्थित प्रहरी वृत्त पुगेका थिए । क्यानडा जान ५ महिनाअघि नै म्यानपावर सञ्चालक न्यौपानेलाई रकम बुझाएका दोलखाको मेलुङ गाउँपालिका–५ आरु खोड्काका विष्णु खड्काले आफू ठगिएको थाहा पाएपछि प्रहरीमा खबर गरेको बताए । ‘हामीलाई वर्किङ भिसामा क्यानडा पठाउन भनेर म्यानपावरले प्रतिव्यक्ति १६ देखि २२ लाख रुपैयाँसम्म असुल गरेको थियो, त्यसका लागि जहाजको टिकट पनि टुंगो लागेको भनेर ओरिएन्टेसनका लागि बोलाइएको थियो,’ पीडित खड्काले कान्तिपुरसँग भने, ‘तर, हामीलाई क्यानडा पठाउने भनेर ठगी गरिएको रहेछ, यो विषय बल्ल थाहा पायौं ।’

उक्त म्यानपावरले क्यानडासहित दुबई, बुल्गिेरियालगायत देश पठाउने प्रलोभनमा अरु व्यक्तिबाट पनि रकम उठाएको अर्का एक युवाले बताए । ती युवाले बिहीबारमात्रै म्यानपावरका सञ्चालक न्यौपानेलाई १६ लाख रुपैयाँ बुझाएका थिए । पछिल्लो पटक उक्त म्यानपारले विभिन्न देश पठाउने भन्दै ६ देखि ८ करोड जति रकम उठाएर भागेको आशंका छ । 

क्यानडा जानेबाट मात्रै कम्तीमा साढे ४ करोड उठाएको आशंका छ । तर, उनी पक्राउ परिनसकेका कारण थप तथ्य खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । महाराजगन्ज वृत्तका डीएसपी रवीन्द्रनाथ पौडेलले क्यानडा जान भनेर म्यानपावरलाई रकम बुझाएका युवाहरु शुक्रबारसाँझ आफूहरु ठगिएको भनेर सम्पर्कमा आएको बताए ।

उनले ठगीसम्बन्धी जाहेरी वैदेशिक रोजगार विभागमा दिन सुझाव दिएको तर रकम लिएर फरार भएका व्यक्तिको खोजीमा प्रहरी खटिएको जानकारी दिए । ‘फरार व्यक्तिको खोजीमा प्रहरी खटिएको छ, तपाईंहरुसँग पनि सूचना भए दिनुहोस्, ठगीसम्बन्धी बिस्तृत डकुमेन्टेसन भने वैदेशिक रोजगार विभागमा पेस गर्न भनेका छौं,’ डीएसपी पौडेलले भने ।

कान्तिपुर

Link copied successfully